एमालेसँगको सहमतिपछि प्रतिनिधि सभाको बैठक आज बस्दै, के-के छन् कार्यसूचीमा?

बिजमाण्डू
२०८० असार २५ गते ०९:३० | Jul 10, 2023
एमालेसँगको सहमतिपछि प्रतिनिधि सभाको बैठक आज बस्दै, के-के छन् कार्यसूचीमा?


काठमाडौं। प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक सोमबार अपराह्न ३ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

Tata
GBIME

बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको छ।

त्यस्तै, ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि ज्ञान बहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ पेश गर्ने तथा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन्।

बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथि प्राप्त संशोधनहरुलाई पनि निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयको सम्भावित कार्यसूचीमा उल्लेख छ।

मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०५० लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको आइतवार दिउँसो ३ बजेको लागि बोलाइएको बैठक स्थगित भएको थियो। सूचना टाँसेर बैठक सोमबार दिउँसो ३ बजे बोलाइएको थियो।

प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भन्दै प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिलाई लिएर नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको थियो।

आइतवार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी बैठकले अवरोध हटाउने सहमति गरेको थियो। बैठकमा प्रचण्डले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिने सहमति भएको थियो। यद्यपि, आइतबारको प्रतिनिधिसभा बैठक भने बस्न सकेन।