व्यवसायी ‘सफोकेसन’ मा परेको भन्दै युवराज खतिवडाले भने- कसिलो मौद्रिक नीति आवश्यक छैन

बिजमाण्डू
२०८० असार १९ गते १२:५८ | Jul 4, 2023
व्यवसायी ‘सफोकेसन’ मा परेको भन्दै युवराज खतिवडाले भने- कसिलो मौद्रिक नीति आवश्यक छैन

काठमाडौं। हरेक पटक वित्तीय क्षेत्र सबल बनाउन भन्दै निर्देशन जारी गरिरहेको राष्ट्र बैंकलाई पूर्वगभर्नरसमेत रहेका डा. युवराज खतिवडाले उसको नियमन र सुपरिवेक्षण क्षमतामाथि प्रश्‍न उठाएका छन्।

Tata
GBIME
Nepal Life

उनले राष्ट्र बैंकले ‘प्रुडेन्ट पोलिसी’ लिइरहेको भनिरहँदासमेत किन ऋणहरु डुबे त भनेर प्रश्‍न गरेका हुन्।

अमेरिकी सहयोग नियोग युएसएआइडीले मंगलबार आगामी मौद्रिक नीतिका बारेमा सुझाव संकलन गर्न आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै खतिवडाले बैंक र निजी क्षेत्र दुवैलाई एकै पटक कस्ने नीतिले पनि समस्या भएको औंल्याए।

सुस्त अर्थतन्त्र र बढ्दो खराब ऋणका बीच मौद्रिक नीति लेखनको काम गरिरहेको राष्ट्र बैंकका पदाधिकारीहरुतर्फ फर्किँदै पूर्व अर्थमन्त्रीसमेत रहेका खतिवडाले राष्ट्र बैंकले आफ्ना केही नीतिहरुलाई व्यवहारिक बनाउन सुझाव दिए।

‘हामीले ऋण नोक्सानी व्यवस्थापन गर्न लगाएका छौं भन्छौं। स्थलगत र तथ्यांकमा बसेर अनुगमन गरिरहेका छौं भन्छौं तर पनि बैंकहरुको ऋण किन उठेन ? कहाँनेर समस्या भयो त ?,’ उनले भने।

आगामी मौद्रिक नीति चालु वर्षजस्तो कसिलो हुनु नहुने भन्दै एकदमै खुकुलो नीति पनि आवश्यक नभएको उनले बताए। ‘बीचमा बसेर मौद्रिक नीति ल्याउनु पर्छ,’ उनले भने, ‘अहिले के-के विषयमा समस्या आएको छ त्यो हेरौं।’

चालु पुँजीको विषय, ऋण नोक्सानी व्यवस्थापन, जोखिम भारित सम्पत्ति, मार्जिनजस्ता विषयमा समस्या भइरहेकाले त्यहाँ सम्बोधन गरेर १५ प्रतिशतको ऋण बिस्तार नीति लिँदा अर्थतन्त्रलाई चलायमान बनाउन सकिने उनले बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई पनि उनले व्यवहारिक कर्जा नीति अपनाउन सुझाव दिएका छन्। बैंकहरुले ४ प्रतिशत स्प्रेड वा आधार दरमा २ वा ३ प्रतिशत प्रिमियम भने पनि सबैमा त्यो लागू नगरेको उनले बताए।

‘औसतमा तपाइँहरु गर्नुहुन्छ। हेर्नुस् १० र १५ को औसत साढे १२ होला। १८ र ३ को औसत साढे १० प्रतिशत होला,’ उनले भने, ‘कहिले आधार दरमा पाइने कहिले ७ प्रतिशत आधार दर लिने गर्दा अनुमान गर्न नसकिने भयो। त्यो काम तपाइँहरुले गर्नु भएन।’

खतिवडाले धेरैजस्तो प्रश्‍न राष्ट्र बैंकमाथि नै उठाए। उनले ऋण नोक्सानी व्यवस्थापन, जोखिम भारित सम्पत्ति वृद्धिले बैंकको लागत बढेको भन्दै त्यसले पनि केही हदसम्म समस्या आएको उल्लेख गरे। ‘केही सोझो बैंकले मानेर खुरुखुरु गर्छन्। केहीले दायाँबायाँ गरेका छन्,’ उनले भने, ‘दायाँबायाँ गर्नेलाई कारवाही छैन। अनि त समस्या भइहाल्छ।’

राष्ट्र बैंकले प्रोभिजनिङ, जोखिम भारित सम्पत्ति मात्र नभनेर पैसा कतातिर गएको छ भनेर हेरिदिएको भए यो र त्यो बहानामा पैसा घरजग्गामा जाँदैनथ्यो भन्दै उनले चुरोटको उदाहरण प्रस्तुत गरे। ‘चुरोट खाने अम्मलीलाई चुरोट च्वाट्टै छोड भन्न सकिँदैन। उसले स्टिक घटाउँदै लैजाने हो,’ उनले भने, ‘घरजग्गामा भएको पैसा पनि त्यही हो। त्यहाँ अड्किएर बसेको छ। अनि लेर आइज भनिएको छ। त्यहाँनेर व्यवसायी सफोकेसन (सास फेर्न अप्ठेरो) मा परेका छन्। श्वास फेर्ने ठाउँ दिउँ।’

खतिवडाले अहिले सेयर बजार र  घरजग्गामा केही खुकुलो नीति आवश्यक रहेको बताए। उनले ३२ सयमा सूचक पुग्दासम्म केही नभन्ने तर घट्न थालेपछि यो र त्यो कडाइ गर्दा झन् समस्या भएको बताए।

‘मार्जिन लगायतका विषयमा अलिकति नरम पनि हुनुपर्छ। सास फेर्ने ठाउँ पनि दिनु पर्छ,’ उनले भने। खतिवडाले अहिले बजारमा बढी भएको तरलता तान्न राष्ट्र बैंकले हतार गर्न आवश्यक नरहेको बताए।

उनले बजारलाई तरल बनाउन र आर्थिक गतिविधि बढाउन बैंकमा थुप्रिएको पुँजी बाहिर ल्याउनु पर्ने बताए। यसका लागि संस्थापक सेयरधनीसँग भएको १० प्रतिशत सेयर बिक्री गर्ने बाटो खोलिनु पर्ने उनको सुझाव छ।

‘हिजो पुँजी वृद्धि गर्ने बेलामा ऋण लिएर सेयरमा हालियो। त्यो त्यहीँ अड्किएर बसेको छ। मुख्य ऋणीहरु कसैले बिक्री गर्न चाहन्छन् भने सर्वसाधारणले पाउने गरी बेच्ने बाटो खोलिदिनु पर्छ,’ उनले भने, ‘जमेको पुँजी बाहिर आएपछि बजार चलायमान हुन्छ।’

लघुवित्त संस्थाहरुको संख्या घटाउने रणनीति लिन उनले राष्ट्र बैंकलाई सुझाव दिए। यसका लागि अलिकति पुँजीमा विकास बैंक हुने बाटो खोलिदिन आग्रह गरे। ‘लघुवित्त अब धेरै चल्दैन। त्यसैले उनीहरुलाई विकास बैंक बन्ने बाटो दिउँ,’ उनले भने, ‘विकास बैंकहरुको राम्रोसँग सुपरिवेक्षण गर्नुस्। त्यो सक्नु हुन्न भने प्रदेश कार्यालयहरुलाई बलियो बनाएर जिम्मा दिनुस्।’