परम्परागत बैकिङ शैलीलाई चुनौती दिने एप्पलको तयारी, के हो त्यस्तो?

बिजमाण्डू
२०८० असार १० गते १९:४५ | Jun 25, 2023
परम्परागत बैकिङ शैलीलाई चुनौती दिने एप्पलको तयारी, के हो त्यस्तो?

केही साता अघिको कुरा हो, विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले बैंकिङ उद्योगको परम्परागत शैलीलाई नै चुनौती दिने घोषणा गर्‍यो। अमेरिकाका अधिकतम बैंकले निक्षेपमा ०.५ प्रतिशत मात्रै ब्याज दिँदै गर्दा एप्पलले भन्यो – हामी ४.१५ प्रतिशत वार्षिक प्रतिफल दिन्छौं।

Tata
GBIME
Nepal Life

अमेरिकामा एकपछि अर्को गर्दै धमाधम बैंकहरु टाट पल्टिरहँदा २.६ ट्रिलियन डलरको टेक्नोलोजिकल कम्पनीले यस्तो आकर्षक योजना सार्वजनिक गरे‍को हो। कम्पनीले निक्षेपको बीमा पनि गरिदिने बताएको छ। फेडेरेल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनको ऐन बमोजिम प्रति निक्षेपकर्ता २ लाख ५० हजार डलर बराबरको बीमा गरिदिने कम्पनीको दाबी हो। 

तर कसरी? यो जिज्ञासाको कुरो नै हो। प्राविधिकरूपमा हेर्दा एप्पलसँग बैंकिङ लाइसेन्स पनि त छैन। खासमा एप्पलले अमेरिकाको पाँचौ ठूलो बैंक गोल्डम्यान साक्ससँग सहकार्य गर्दैछ। वित्तीय प्रविधि(फिनटेक)को भाषामा एप्पल नियो बैंक बन्दैछ। 

समान्यतया यस्तो प्रकारको बैंकले मोबाइल र अनलाइन बैंकिङलाई व्यवस्थित गर्न एप्स, सफ्टवेयर र अन्य प्रविधिमा आधारित वित्तीय उपकरण उपलब्ध गराउँछन्। नियो बैंक एक किसिमको फिनटेक फर्म नै भन्दा पनि फरक पर्दैन। चाइम, रिभोलुट र मोन्जो विश्वव्यापी लोकप्रिय नियो बैंक हुन्।

लोकप्रिय बन्दै गएका यी नियो बैंक र सुरुवाती चरणमा रहेको एप्पलमा भने अतुलनीय भिन्नता छ। किनभने एप्पल आफैंमा शक्तिशाली ‘ब्राण्ड नेम’ हो। हाल विश्वभर २ अर्ब आइफोन छन्। जुन अब गोल्डम्यान स्याक्सको बैंकिङ नेटवर्क अन्तर्गतका शाखा हुनेछन्।

सर्वेक्षण कम्पनी ग्यालपले वार्षिक रुपमा गर्ने ‘कन्फिडेन्स इन इन्सचिचिउसन’(संस्थाहरुप्रतिको विश्वास) सर्वेक्षण अनुसार, गत वर्ष केबल २७ प्रतिशत अमेरिकीहरुले आफ्नो सेवाप्रदायक संस्था विश्वासिलो रहेको अथवा संस्थाले आफूलाई आकर्षक डिल दिएको बताए। सन् १९७९ ताका यस्तो दर ६० प्रतिशत थियो।

यस विपरीत एप्पलप्रतिको विश्वसनीयता भने उच्च छ। इन्टरब्रान्डको वार्षिक ग्लोबल बेस्ट ब्रान्ड्स र्‍याकिङ अनुसार सन् २०२२ मा एप्पल लगातार दशौं पटक शीर्ष स्थानमा छ। शीर्ष २५ कम्पनीहरुमध्ये एकमात्र बैंक भने जेपी मोर्गन रह्यो। २४ औं स्थानमा छ। यो लोकप्रिय सामाजिक संजाल युट्युबभन्दा एक स्थान अगाडि हो।

यस्तो उच्च प्रतिफल दिने बचत खाता एप्पलको क्रेडिट कार्डमार्फत् मात्रै उपलब्ध हुने कम्पनीले जनाएको छ। एप्पल कार्ड भएका ग्राहकहरूले मात्र यो दरको उपज पाउने हुन्। कम्पनीका अनुसार प्रयोगकर्ताहरूले एक मिनेटमै खाता सेट-अप गर्न सक्छन्। 

कार्डमार्फत कारोबार गर्दा या खर्च गर्दा रिवार्ड समेत पाइन्छ। एप्पलको जुनसुकै प्रडक्ट किन्दा कार्डमार्फत् गरिने भुक्तानीको ३ प्रतिशत रकम क्यासब्याक पाइन्छ। एप्पल स्टोर बाहेक एप्पल पे उपलब्ध हुने जुनै दोकानमा कार्डले भुक्तानी गर्दा समेत क्यासब्याक हुन्छ। सो रकम स्वचालित रूपमा त्यही उच्च प्रतिफल दिने खातामा च्यानल हुन्छ। खाता एप्पलको डिजिटल वालेटको ड्यासबोर्डमा देखिन्छ। जहाँ प्रयोगकर्ताहरूले आफ्नो ब्यालेन्स र कमाएको ब्याज ट्रयाक गर्न सक्छन्। 

बैंकका उपभोक्ता र बैंकिङ लेनदेनमा प्रमुख स्रोत नै निक्षेपको हुन्छ। एप्पलको ४.१५ प्रतिशत लिने बचत खाताले निक्षेप संकलन दरलाई ह्‍वात्तै टर्बो चार्ज गर्ने समीक्षकहरुको टिप्पणी हो।

पोहोर जुलाईमा, एप्पलले ‘ट्याप-टु-पे’ भुक्तानी सेवा सुरु गर्‍यो। यसले व्यवसायीहरुलाई उनीहरूको आईफोनबाट सिधै कार्ड भुक्तानीहरू स्वीकार गर्न अनुमति दिन्छ। उपभोक्ताहरू र व्यापारीहरूलाई यस्ता वित्तीय उत्पादनहरू दिएर, एकालिर एप्पलले स्वाइप शुल्कहरू संकलन गरिरहेको छ। र अर्कोपट्टि आफ्नै उत्पादनहरू क्रस-सेल गर्दा आफ्ना ग्राहकहरूको जीवनको हरेक पक्षमा आफूलाई संलग्न गराउँदैछ।

एप्पलका सबै वित्तीय उत्पादनहरूमा, गोल्डम्यान साक्स ब्याकग्राउन्डमा काम गर्ने वित्तीय संस्था हो। १ सय ५४ वर्ष पुरानो गोल्डम्यान साक्स बैंकिङ मात्रै नभएर बैंकिङ पूर्वाधारको खेलाडी समेत हो। बैंकले ब्याकग्राउन्डमा रहेर ब्रान्डलेस बैंकिङ सेवा प्रदान गर्छ। वित्तीय प्रविधिलाई असल बैंकिङ सेवासँग जोड्ले अदृश्य भूमिका निर्वाह गर्छ। एप्पल र गोल्डम्यान साक्स जस्ता साझेदारीले भौतिक रुपमा अनुभव गरिने बैंकिङ सेवालाई अदृश्य बनाउन सक्ने समीक्षकहरुको टिप्पणी हो।

गोल्डम्यान स्याक्ससँगको पछिल्लो साझेदारीभन्दा अघि पनि एप्पलले यस्ता वित्तीय सेवा भने दिँदै आएको थियो। एप्पलको क्रेडिट कार्डबाट खर्च गर्दा पाइने नगद पुरस्कारहरू स्वतः एप्पल क्यासमा जम्मा हुन्थ्यो। जुन आईफोनको डिजिटल वालेटमा रहेको प्रिपेड डिजिटल कार्ड हो। त्यतीबेला ग्रीन डट बैंकसँगको समझदारीमा सेवा सञ्चालन गरेको थियो। आइफोन प्रयोगकर्ताले एप्पल क्यास सिधै आई म्यासेजमार्फत सम्बन्धितलाई उक्त रकम ट्रान्सफर गर्न सकिन्थ्यो। जुन पैसा पठाउने माध्यम नै बन्नेवाला थियो।

एप्पलले आफ्नो डिजिटल वालेटलाई उपभोक्ताहरूको वित्तीय जीवनशैलीको अभिन्न अंग जस्तो बनाउँदैछ। एप्पलसँग संलग्न हरेक कारोबार बचतदेखि भुक्तानीसम्म जोड्ने सुपर एप जसरी निर्माण गरेको हो।

चीनको अलि पेसँग मिल्दो जुल्दो पनि छ। सन् २००४ मा डिजिटल वालेटको रूपमा सुरु भएको अलि पेसँग आज १ अर्ब ३० करोड प्रयोगकर्ताहरू छन्। अहिले एपमार्फत् बिल भुक्तानदेखि फुड डेलिभरी र टिकट खरिदसम्मका विस्तृत सुविधा छन्। २०२१ को दोस्रो त्रैमाससम्म, एपको खुद्रा व्यवसायले मात्रै ४१ अर्ब डलरको कारोबार गर्‍यो। 

यस दौरान एप्पलले पनि आफ्नै इकोसिस्टक बनाउँन दौडधुप गरिरहेको हो। एप्पल जस्ता कम्पनीले ग्राहकहरूको जीवनशैलीलाई नै समेटेर वित्तीय इकोसिस्टक निर्माण गरिरहेको बेला परम्परागत सेवामा आधारित बैंकका ग्राहकहरु भने अझै पनि भौतिक र बाध्यकारी व्यवस्थासँग संघर्ष गरिरहेका छन्।

ग्राहक बनाउन एउटा बैंकले एप्पल जस्ता संस्थाहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था निर्माण भएको हो। तर विभिन्न प्रकारका माइक्रो सर्भिसेसहरू नै एकीकृत रूपमा प्रदान गर्न परम्परागत बैंकिङले दिँदैन।

एप्पलको बचत खाताको यो नयाँ स्किम नाफाउन्मुख नभएर एप्पल र गोल्डम्यानको वित्तीय इकोसिस्टममा प्रवेश गराउने उपाय हो। विश्वभरका दुई अर्ब मानिसहरूसँग एप्पल उपकरणहरू छन् भने। तर तीमध्ये १० प्रतिशतभन्दा कमले एप्पल कार्ड प्रयोग गर्छन्।