तारे होटलका कामदार धमाधम विदेशिन थाले, ‘यता पाएको पनि घट्यो, उता कमाई चार गुणा’

बसन्तराज उप्रेती
२०८० जेठ २५ गते १५:५८ | Jun 8, 2023
तारे होटलका कामदार धमाधम विदेशिन थाले, ‘यता पाएको पनि घट्यो, उता कमाई चार गुणा’

काठमाडौं। नेपालमा संचालित अधिकांश ठूला होटलमा कार्यरत जनशक्ति धमाधम विदेशिन थालेका छन्। होटल व्यवसायीहरुका अनुसार ठूला होटलका ३० प्रतिशत जनशक्ति विदेश पलायन भइसकेका छन्।

Tata
GBIME
Nepal Life

कुनै समय आर्थिक क्षमता विस्तारका लागि मुलुकभित्रकै होटलमा स्थान्तरण गर्दै आएकाहरु आर्थिक मन्दी र सरकारले सेवा शुल्क हटाउँदा आय घटेपछि विदेश पलायन हुन थालेको व्यवसायीको भनाई छ।

चार वर्ष अगाडि व्यवसायिक योजना अनुसार स्वेच्छिक अवकास ‘भिआरएस’ अन्तर्गतको स्किम लागु गरेर कर्मचारी संख्या घटाउँदै आएका सोल्टी, र्याडिसन, हायात, याक एण्ड यतीसँगै अधिकांश होटल कर्मचारीको यो पलायनको ट्रेन्डलाई लिएर अन्योलमा छन्।

पुरानासँगै मुलुकमा संचलित अन्तर्राष्ट्रिय चेन होटलले यतिखेर जनशक्ति व्यवस्थापन गर्नै गाह्रो हुन थालेको बताएका छन्। अन्तर्राष्ट्रिय चेन होटल काठमाडौं मेरियटले जनशक्ति व्यवस्थापन चुनौतीपुर्ण रहेको जनाएको छ। होटलका संचालक शशिकान्त अग्रवालले हाल दर्जनभन्दा बढी जनशक्ति विदेश पलायन र करिब एक दर्जन जनशक्ति मुलुकभित्रकै होटलमा स्थान्तरण हुन थालेको बताए।

आर्थिक हिसाबले वैदेशिक रोजगारमा जाँदा यहाँको तुलनामा चार गुणा पारिश्रमिक र सुविधा पाउने भएकाले दक्ष जनशक्ति पलायन हुन सुरु भएको उनको भनाई छ।

‘कोभिडपछि यो सेवाबाट बाहिरिएका अधिकांश जनशक्ति पुनः सेवामा रिब्याक भएनन्। बाँकी भएका जनशक्ति यतिखेर धमाधम विदेशिन थालिसकेका छन्,’ संचालक अग्रवालले बिजमाण्डूसँग भने,’ यो होटल संचालनका लागि चुनौतीपूर्ण विषय हो।अब सरकारले होटल व्यवस्थापन संकायका विद्यार्थी उत्पादनमा जोड दिन आवश्यक छ।’

आर्थिक मन्दी र सेवा शुल्क खारेजीका कारण पछिल्लो समय करिब १५ प्रतिशत जनशक्ति विदेश पलायन भएको ठमेलस्थित अलफ्ट काठामाडौंले जनाएको छ। अन्तर्राष्ट्रिय चेन होटल भएका कारण होटलले जेनतेन कर्मचारी व्यवस्थापन गर्दै आएको एक कर्मचारीले बताए।

‘फ्रन्ट अफिसर, किचन, म्यानेजर लगायत अधिकतम ३५ हजार रुपैयाँ मासिक तलब बुझ्दै आएका जनशक्ति पलायन हुँदै आएका छन्,’ उनले भने, ‘आन्तरिक रुपमा स्थान्तरण हुने क्रम त यथावतै छ।’

सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईँले यतिखेर होटल उद्योगमा जनशक्ति व्यवस्थाथपन गर्नै धौधौ हुने अवस्था सिर्जना भएको बताए। ‘सोल्टी होटलमा जनशक्ति पलायनै हुने गरी बाहिरिएका छैनन्। तर, अहिले समग्र उद्योग हेर्दा अबको दिनमा जनशक्ति व्यवस्थापन गर्नै गाह्रो हुने देखिएको छ,’ उपाध्यक्ष चापागाईंले भने, ‘कतिपय जनशक्ति आफ्नो पेसा नै बदलिएर विदेश गएको पाइएको छ। कोभिडपछि यो ट्रेन्ड वृद्धि भएको हो।’

नेपालमा १५ हजार रुपैयाँ पारिश्रमिक पाइरहेका जनशक्तिले ४० हजार रुपैयाँ पाउने भएपछि विदेशिएको उनको भनाई छ। होटल संख्या थपिँदै गर्दा भएका जनशक्ति पनि पलायन हुँदा नेपालको होटल उद्योगमै नकारात्मक प्रभाव परेको उनले बताए।

होटल मात्र होइन रोजगार र शिक्षामा पछिल्लो समय युवा पुस्ता विदेशिनै रुचाउने हुँदा यो ट्रेण्ड थप विस्तार भएको एस होटल ग्रुपका अध्यक्ष योगेन्द्र शाक्यले बताए।   

‘सरकारले सेवा शुल्क खारेज गरेको कारण जनशक्ति विदेश पलायन भएको कुरा म मान्दिन। यहाँको तुलनामा विदेशमा धेरै आम्दानी गर्न सक्ने भएका कारण जनशक्ति पलायन भएका हुन्। मलेसियाकै कुरा गर्दा नेपालको तुलनामा ७० हजार रुपैयाँ बढी आम्दानी हुँदै आएको छ।’ अध्यक्ष शाक्यले भने।

समूहअन्तर्गत संचालित एम्बेसडर होटलमा जनशक्ति यथावत रहेपनि नगरकोटस्थित क्लब हिमालयमा कार्यरत जनशक्ति पलायन हुन सुरु भइसकेको उनले जानकारी दिए। एक दशक अगाडिसम्म लामो समयसम्म एउटै ठाउँमा लामो समय काम गर्ने शैलीमै परिवर्तन आइसकेको उनको भनाई छ।

सेवा शुल्क खारेज भएकै कारण होटल उद्योगमा कार्यरत जनशक्ति पलायनमा थप वृद्धि भएको कुपण्डोलस्थित होटल हिमालयका संचालक दिनेश तुलाधरले बताए। ‘यस्तो मुभमेन्ट पहिला पनि हुँदै आएको थियो। अहिले अलिक वृद्धि हुने संकेत आइसकेको छ,’ संचालक तुलाधरले भने, ‘हाम्रो यहाँबाट भने अहिलेसम्म जनशक्ति बाहिरिएका छैनन्।’  

विश्वभर नै कामदार जुटाउन हम्मे

कोभिड-१९ संक्रमणपछि लयमा फर्किएको विश्वभरकै होटल उद्योगमा जनशक्तिको अभाव छ। कोभिडको समयमा विश्वभरका होटल उद्योगले आफ्ना कर्मचारीलाई बिदाइ गरेकै कारण हाल जनशक्तिको कमी भएको हो।

अमेरिकास्थित अमेरिका होटल एण्ड लजिङ एसोसिएसनले पछिल्लो समय दुई सयवटा होटलमा गरेको सर्वेक्षणका  अनुसार ८७ प्रतिशत होटलमा पर्याप्त जनशक्ति छैनन्। कोभिडको समयमा पलायन भएका ती अधिकांश जनशक्ति  खुद्रा व्यापार, इ-कमर्स, वेयरहाउसलगायत क्षेत्रमा स्थान्तरण भएको संघले जनाएको छ।

यतिखेर अमेरिका मात्र नभइ विश्वका अन्य देशहरुमा पनि होटललाई जनशक्ति क्षमता पुरानै लयमा फर्काउनका लागि मुस्किल परिरहेको छ। अमेरिका बाहिरका मुलुकहरुमा सन् २०२० देखि २०२२ सम्ममा होटल क्षेत्रबाट चार लाखले रोजगारी गुमाएको तथ्यांकले देखाउँछ।

विश्वभर पर्यटकको भ्रमण गतिविधि उल्लेख्य रुपमा वृद्धि भएपनि जनशक्ति जुटाउनु नै होटल उद्योगका लागि चुनौतीपूर्ण रहेको बताइएको छ।