विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष रेजरसँग अर्थमन्त्रीको भेट, स्रोत व्यवस्थापनबारे छलफल

बिजमाण्डू
२०८० जेठ २५ गते १५:२२ | Jun 8, 2023
विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष रेजरसँग अर्थमन्त्रीको भेट, स्रोत व्यवस्थापनबारे छलफल

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले भेट गरेका छन्। भेटका क्रममा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौती, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका बारेमा छलफल गरेका छन्।

Tata
GBIME
Nepal Life

आयोजनालाई पुन:प्राथमिकीकरण गर्ने, सहयोगलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउने, राहत दरमा कर्जा प्रवाह गर्नुपर्ने विषयमा पनि छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।

विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिका प्रति धन्यवाद दिँदै महतले पूर्वाधार विकासमा जोड दिन आग्रह गरेका छन्।

‘पूर्वाधार विकास र सामाजिक विकासका सूचकहरुबीच घनिष्ठ सम्बन्ध रहेको र पूर्वाधार विकासबाट गरिब तथा पिछडिएको वर्ग खासगरी ग्रामीण भेगमा बस्ने महिलाहरुको जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने, गाउँबाट साना बजारहरुमा उनीहरुको पहुँच विस्तार हुने र आफ्नो क्षमता विकास गरी अवसरहरुमा पहुँच विस्तार हुँदै जान्छ,’ महतले भने।

बसाइसराइले अवसरसँगै साना सहरी पूर्वाधारमा चाप परेकाले पूर्वाधार विकासमा थप स्रोत आवश्यक रहेको उल्लेख महतले जलविद्युत, सूचना प्रविधि, पर्यटन क्षेत्रको विकासमा सडक पूर्वाधार पूर्वसर्त रहेको धारणा राखे।

कोभिड-१९ को कारण जनजीवनमा प्रतिकूल प्रभाव पारेको भएपनि सूचना प्रविधिको विकासमा नयाँ अवसर सिर्जना भएको तथा कोभिडपछि पर्यटन क्षेत्रको पुनरुत्थान हुँदै गएको उनले बताए।

सामाजिक सुरक्षा, राष्ट्रिय गौरबका आयोजना र चालु खर्च विनियोजन गरेपछि अन्य आयोजनाका लागि आवश्यक रकम न्यून रहने तर्फ इंगित गर्दै अर्थमन्त्री महतले सावाँब्याज भुक्तानीमा हुने खर्च बढ्दै जाँदा ऋणको दिगो व्यवस्थापन तर्फ पनि सचेत रहनु पर्नेमा जोड दिए।

माथिल्लो अरुण आयोजनाको लागि विश्व बैंकले वित्तीय स्रोत जुटाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रति धन्यवाद दिँदै सो आयोजनाको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको उनले बताए।

‘यस्ता आयोजनाको लागि स्रोत जुटाउँदा अन्य आयोजनाहरुमा स्रोतको कमी हुन नदिने गरी व्यवस्थापन गर्न र नेपालमा क्रियाशील नरहेका नयाँ विकास साझेदारहरुलाई आकर्षण गर्न आग्रह गर्छु। हालै सार्वजनिक बजेटमा पुँजीगत खर्च बढाउने प्रतिबद्धता गरेको विश्व बैंक प्रतिनिधिलाई स्मरण गराउँछु। नेपालले पूर्वाधार क्षेत्रमा लगानी बढाउन आग्रह गर्छ,’ महतले भने।

विश्व बैंकका उपाध्यक्ष मार्टिनले स्रोतको समुचित परिचालनमा समस्या रहेको र त्यसलाई सम्बोधन गर्न संयुक्तरुपमा काम गर्न आग्रह गरेका छन्। खरिद तथा ठेक्का व्यवस्थापन विद्युतीय माध्यमबाट गर्ने र समयमै आयोजना कार्यान्वयनमा अन्तरनिकाय समन्वयमा जोड दिए।

सो अवसरमा विश्व वैंकका तर्फबाट पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वांग्जी चेन, उपक्षेत्रीय निर्देशक फारिस हद्दाद जर्भोस लगायत विश्व बैंक तथा अर्थ मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो।