
काठमाडौं। कोरियन एयरको नेपाल उडान क्रममा चुरोट र लाइटर निकालेको भन्दै एक नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कारवाही गरेको छ। झापा घर भएका ती युवकले तलतल लागेर उडिरहेको जहाजको शौचालय पुगेको रिपोर्ट आएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।
‘ती यात्रुलाई एकदम तलतल लागेकर शौचालय पुगेका रहेछन्। पछि त्यहाँ ‘नो स्मोकीङ’को संकेत देखे लगत्तै आफूसँग भएको चुरोट र लाइटर चालकदललाई बुझाएको जानकारी आएको छ।’ प्रवक्ता सिटौलाले भने,’कोरियन एयरको नियम अनुसार उहाँलाई कारवाही अघि बढाइएको छ। विमानस्थल प्रहरीले कारवाही गरिरहेको छ।’
यात्रुलाई कारवाही लगत्तै घर पठाउने तयारी रहेको प्रवक्ता सिटौलाले बताए।
‘ती यात्रु कोरियास्थित इपीएसमा काम गर्दै आएको जानकारी आएको छ। उनले आफैंले जानेर चुरोट र लाइटर चालकदललाई दिएको बताएका छन्।’
सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच श्रमका लागि नेपाली कामदार लाने विषयमा सहमति भएको थियो। त्यही सहमति अनुसार सरकारले न्यूनतम शुल्क लिएर कामदार कोरिया पठाउने गरेको छ।