कृषि बीमाको ७४ करोड रुपैयाँ भुक्तानी हुँदै, निर्णय पास भएपछि वितरण हुने

बिजमाण्डू
२०८० जेठ २५ गते १३:५८ | Jun 8, 2023
कृषि बीमाको ७४ करोड रुपैयाँ भुक्तानी हुँदै, निर्णय पास भएपछि वितरण हुने

काठमाडौं। कृषि बीमाको अनुदान रकम भुक्तानी हुने भएको छ। सरकारले पहिलो चरणमा कुल ७४ करोड रुपैयाँ भुक्तानी गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

बुधबार कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा बसेको बैठकमा हालको लागि ७४ करोड रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएको मन्त्रालयकी सहप्रवक्ता शवनम शिवाकोटीले बताइन्। कृषि विभाग र पशु विभागबाट रुजु भएर आएका बीमालेखहरुको भुक्तानी हुन लागेको हो। जसमा आर्थिक वर्ष २०७८ को चैतसम्मको अनुदान रकम रहेको उनले भनिन्।

दोस्रो चरणका लागि १० दिनभित्र बैठक बसेर आर्थिक वर्ष २०७८/७९ असारसम्मको अनुदान रकम वितरण गर्न छलफल भएको उनको भनाइ छ। बीमा कम्पनीहरुलाई ठुलो रकम भुक्तानी गर्नुपर्ने भएकोले गत वर्षदेखिको चरणबद्ध रुपमा वितरण गर्दै जाने निर्णय भएको मन्त्रालयले जनाएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार कृषि बीमाको ७४ करोड रुपैयाँमध्ये पशुपक्षी बीमाको ६९ करोड रुपैयाँ भुक्तानी हुनेछ।कृषि बीमाको लागि ५ करोड रुपैयाँ छुट्याइएको छ। उक्त रकम निर्णय सही भएर आएपछि वितरण हुने प्राधिकरणले जनाएको छ। कृषि बीमाको अनुदान रकम गत वर्षसम्मको वितरण भइरहेको छ। पशुपक्षी बीमाको अनुदान रकम मात्र गत वर्षदेखिको बाँकी छ।

यसमा पनि चालु आर्थिक वर्षको असोजदेखि मात्र बीमितहरुले प्रतिशत बीमा शुल्कमा ८० प्रतिशत अनुदान रकम पाउने छन्।यसअघिसम्म ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरिएको थियो।

बीमा कम्पनीहरुबाट प्राप्त बीमाको तथ्यांकअनुसार बालीभन्दा पशुपक्षी बीमाको अनुदान रकम धेरै भुक्तानी हुन बाँकी रहेको छ। जसमा करिब ३ अर्ब रुपैयाँ सरकारले अनुदान रकम तिर्न बाँकी हो। यति बेला ७४ करोड रपैयाँ भुक्तानी गरेर बाँकी रकम चरणबद्ध रुपमा भुक्तानी गर्ने मन्त्रालयले जनाएको छ।

पछिल्लो समय पशुपक्षी बीमा बढ्दै गएको प्राधिकरणले जनाएको छ। अनुदान रकम भुक्तानी गर्ने निर्णय भएपनि कम्पनीहरुले बीमा सेवा संचालन गरेका छैनन्।