लक्जरी बाइकको मूल्य घट्दै गर्दा टीभीएस र यामाहाको इन्ट्री लेभलकै १६ हजारसम्म बढ्यो

शुक्र गिरी
२०८० जेठ २४ गते १२:२४ | Jun 7, 2023
लक्जरी बाइकको मूल्य घट्दै गर्दा टीभीएस र यामाहाको इन्ट्री लेभलकै १६ हजारसम्म बढ्यो

काठमाडौं। सरकारले परिवर्तन गरेको करको दरले गर्दा लक्जरी बाइकको मूल्य डेढ लाखसम्मले घटेको छ। तर, यस्तो बेला सस्तो हुनुपर्ने इन्ट्री लेभलका मोटरसाइकल र स्कुटर पनि सस्तो हुन सकेनन्।

Tata
GBIME
Nepal Life

टीभीएस र यामाहाले इन्ट्री लेभल बाइक र स्कुटर १६ हजार रुपैयाँसम्मले मूल्य बढाएका छन्।

टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले गत मंसिरपछि एउटै बाइकमा १५ हजार रुपैयाँ मूल्य बढाएको छ।  

मंसिरमा टीभीएस अपाचे आरटीआर २०० फोरभी एबीएस आरटीएफआई बीएस-६ को मूल्य ३ लाख ९८ हजार ९०० रुपैयाँ थियो। जेठ २३ गते सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार यसको मूल्य ४ लाख ११ हजार ९०० रुपैयाँ तोकेको छ।

कम्पनीले पछिल्लो ७ महिनामा यो बाइकको मूल्य १४ हजार रुपैयाँ मूल्य बढाएको छ। यस्तै यसको एबीएस भेरियन्टको मूल्य अहिले ३ लाख ७९ हजार रुपैयाँ तोकिएको छ। यसअघि मंसिरमा मूल्य ३ लाख ६९ रुपैयाँ थियो। यसमा १० हजार रुपैयाँ मूल्य बढेको छ।

अपाचे आरटीआर १६० एबिएस आरटीएफआई बीएस-६ को नयाँ मूल्य ३ लाख ८३ हजार ९०० रुपैयाँ तोकेको छ। यसको मूल्य ७ महिना अगाडि ३ लाख ७९ हजार ९०० रुपैयाँ थियो। यो मोडलमा ४ हजार रुपैयाँ मूल्य बढेको छ।

अपाचे आरटीआर १६० फोरभी आरडी एबीएसको नयाँ मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ कायम भएको छ। यसको मूल्य गत मंसिरमा ३ लाख ४४ हजार ९०० रुपैयाँ थियो। ७ महिनाको अवधिमा १५ हजार रुपैयाँ बढाएको छ।

अपाचे आरटीआर १६० फोरभी एफडी रिफ्रेस स्मार्ट कनेक्ट गत मंसिरमा ३ लाख ३ हजार ९०० रुपैयाँ थियो। तर अहिले सो मोडलको मूल्य ९ हजार रुपैयाँले बढेर अब यसको नयाँ मूल्य ३ लाख १२ हजार ९०० रुपैयाँ तोकिएको छ।

अपाचे आरटीआर १६० टुभी एफडी वाइडर टायर मोडलको मूल्य २ लाख ८३ हजार ९०० रुपैयाँ थियो। अब भने ८ हजार रुपैयाँले बढेर २ लाख ९१ हजार ९०० रुपैयाँ पुगेको छ। यस्तै, यसको इन्ट्री लेभलको बाइक र्‍याडरको मूल्य २ लाख ५६ हजार ९०० रुपैयाँ थियो। अहिले ८ हजारले बढेर २ लाख ६४ हजार ९०० रुपैयाँ पुगेको छ।

स्टाइकर रिफ्रेस मोडलको १२ हजार रुपैयाँले बढेर नयाँ मूल्य २ लाख ३३ हजार ९०० रुपैयाँ तोकिएको छ। गत मंसिरमा यसको मूल्य २ लाख २१ हजार ९०० रुपैयाँ थियो। यस्तै रेडनको मूल्य १ लाख ९८ हजार ९०० रुपैयाँ कायम भएको छ। यसको मूल्य यसअघि १ लाख ९३ हजार ९०० रुपैयाँ थियो। यसमा ५ हजार रुपैयाँ मूल्य बढेको छ।

यसैगरी, यसको स्कुटरको मूल्य पनि बढको छ। एनटर्क रेस एक्सपीको १ हजार रुपैयाँले बढेर नयाँ मूल्य ३ लाख १६ हजार ९०० रुपैयाँ तोकिएको छ। गत मंसिरमा यसको मूल्य ३ लाख १५ हजार ९०० रुपैयाँ थियो।

एनटर्क रेस एडिसन आरटीएफआई बीएस-६ को ६ हजारले बढेर नयाँ मूल्य ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि यसको मूल्य २ लाख ९५ हजार ९०० रुपैयाँ थियो।

यस्तै, एनटर्क डिस्कको नयाँ मूल्य २ लाख ६९ हजार ९०० रुपैयाँ भएको छ। यसको मूल्य ९ हजार रुपैयाँले बढेको छ। यसको मूल्य गत मंसिरमा २ लाख ६० हजार ९०० रुपैयाँ थियो। यसैको ड्रम ब्रेक मोडलको २ लाख ३२ हजार ९०० रुपैयाँ भएको छ। यसमा १ हजार रुपैयाँ मूल्य बढेको छ।

यस्तै, नेपालमा सबैभन्दा धेरै बाइक बिक्री गर्ने बजाजले पनि बाइकहरुको मूल्य बढाएको छ। बजाज बाइकको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले अहिले नेपालमा नै बाइकहरु एसेम्बल गरिरहेको छ। कम्पनीले अहिले तत्काल मूल्य नबढाउने जनाएको छ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाका अनुसार अहिले तत्काल बाइकको मूल्य बढ्दैन। कम्पनीले वैशाखमा ५ हजार रुपैयाँ मूल्य बढाएको थियो।

‘हामीले घटेको करमा डोमिनार ४०० को मूल्य ६० हजार रुपैयाँ घटाएका छौं,’ उनले भने, ‘अब अन्य बाइकहरुको भने अहिले मूल्य बढ्दैन।’ उनले केटीएम बाइकको मूल्य घटाउन छलफल भइरहेको बताए।

यसैगरी, यामाहा बाइकको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले पनि आफ्नो बाइक तथा स्कुटरको मूल्य १६ हजार रुपैयाँले बढाएको छ। कम्पनीले यसको नयाँ बाइक एमटी १५ मोडलको मूल्य १६ हजार रुपैयाँले बढाएको छ। यसको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि यसको मूल्य ४ लाख ८३ हजार ९०० रुपैयाँ थियो।

कम्पनीले आर-१५ मा १० हजार रुपैयाँ बढाएको छ। बढेको मूल्य कम्पनीको वेबसाइटमै उल्लेख छ। नयाँ सूची अनुसार मूल्य ६ लाख ९ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि ५ लाख ९९ हजार ९०० रुपैयाँ थियो। कम्पनीले यामाहा स्कुटरको मूल्य ३ हजारदेखि ५ हजार रुपैयाँले बढाएको छ।

कम्पनीका सीइओ राजु क्षेत्रीका अनुसार भारतबाटै बढेर आएकाले मूल्य समायोजन गरिएको हो। यसमा सरकारले बढाएको कर वा केही अन्य कुराहरुले मूल्य नबढाइएको उनको भनाइ छ।

‘उत्पादक कम्पनीले मूल्य बढाएको थियो। त्यही अनुसार हामीले पनि मूल्य बढाउन परेको हो। यो मूल्य अलि अगाडि बढाइएको थियो,’ उनले भने, ‘यो नेपालमा मात्र मूल्य बढाइएको होइन। अन्तर्राष्ट्रिय बजारमा उत्पादक कम्पनीले खरिद गर्ने कच्चा पदार्थको मूल्य बढेपछि उनीहरुले तयारी बाइक तथा स्कुटरको मूल्यमा पनि त्यही अनुसार समायोजन गर्ने गर्छन्।’

यसैगरी, सुजुकीको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सका अनुसार अहिले मूल्य बढाइएको छैन्। कम्पनीका महाप्रबन्धक धीरज भट्टराईले सुजुकीका बाइकहरु पुरानै स्टकमा भएका कारण अहिले मूल्य बढ्ने वा घटाउने भन्ने कुराको योजना छैन।

‘अहिले नेपालमा दुई पाङ्ग्रेको व्यापारमा ७० प्रतिशतले गिरावट आइरहेको छ। स्टकमा भएका बाइकहरु सल्टाउन उल्टै अफरहरुको योजनाहरु बनाइएको छ,’ उनले भने, ‘यस्तोमा मूल्य बढाए झन व्यापार चौपट हुने डर छ। नयाँ बाइकहरु आयात गर्न सकियो भने भारतमा बढेको मूल्य लागु गर्न सकिन्छ।’

तर यही एसेम्बल गर्नेहरुले भने भारतमा बढेको मूल्य तत्काल लागु गर्न सक्ने उनले बताए।