अष्ट्रेलियामा ८ वर्ष बिताएपछि युनिशले देखे स्वदेशमै भविष्य, कप माझ्न पनि पछि पर्दैनन्

बिजमाण्डू
२०८० जेठ २३ गते १५:२१ | Jun 6, 2023
अष्ट्रेलियामा ८ वर्ष बिताएपछि युनिशले देखे स्वदेशमै भविष्य, कप माझ्न पनि पछि पर्दैनन्


काठमाडौं। शुक्रबारको मध्य दिन। चर्को घाममा सानेपास्थित इन्टरनेशनल क्लबमा युनिश श्रेष्ठ भर्खरै आइपुगेका थिए। क्लबभित्र रहेको कफी आउटलेट हिमालयन जाभा छिरेका युनिशले टिस्यु पेपरले अनुहारको पसिना पुछे। अनि त्यो पेपर अरू टेबलमा देखिए जसरी फालेनन्। हातैमा च्यापिरहे। 

Tata
GBIME
Nepal Life

आफ्ना स्टाफ र गेस्टसँग अभिवादन र मुस्कान साटासाट गरेका उनले मौका पारेर कागजलाई डस्टबिनमा फाले। सरसफाइमा बढी नै ख्याल राख्‍ने युनिश आफ्ना दुई साथी कैलाशभक्त फैँजु र प्रनिश श्रेष्ठसँग मिलेर हिमालयन जाभाका दुई आउटलेट चलाउँछन्। 

हिमालयन जाभाका संचालक युनिश निकै नम्र छन्। उनी बिहान ९ देखि बेलुका ८ बजेसम्म झम्सिखेल र सानेपाका जाभा आउटलेट व्यवस्थापन हेरिरहेका हुन्छन्। सामान्यतया क्याफे तथा रेस्टुरेन्टका सञ्चालक आफैं दैनिक काममा खटिदैँनन्, बरु कर्मचारीलाई काम अह्राउँछन्। कति त काम विशेषले मात्रै क्याफेमा आउने पनि गर्छन्। तर युनिश दिनरात नभनी क्याफेको काममा खटिइरहेका भेटिन्छन्। उनलाई आफ्नो काममा यति लगाव छ कि उनी परेको बेला कप माझ्न पनि हिचकिचाउँदैनन्।

हाल उनले सञ्चालन गर्दै आएका जाभामा ४० हाराहारीमा कर्मचारी छन् भने दिनभरिमा दुइटा क्याफेमा करिब २०० जना ग्राहक आउने गर्छन्। उनको मिलनसार बानीले कर्मचारी र ग्राहकसँग निकै छिटो घुलमिल हुन सघाएको छ। यसैको प्रभावले पनि ग्राहकदेखि कर्मचारीसम्म हँसिला र मिलनसार देखिन्छन्। व्यवसायमा संलग्नता र व्यवहारमा नम्रताका लागि उनले आफ्नो सिकाइलाई श्रेय दिन्छन्। 

अष्ट्रेलियाको सेवा क्षेत्रमा करिब आठ वर्ष बिताएका युनिश सन् २०१७ मा नेपाल फर्केका हुन्। काठमाडौंको मध्यम वर्गीय परिवारमा हुर्केका उनी १२ कक्षापछि नै उच्च शिक्षाको लागि अष्ट्रेलिया लागेका थिए।  

‘नेपालमा हुँदा कलेज गयो घर आयो। न घरको कुनै काम गर्नुपर्ने, न कुनै चिन्ता, आनन्दको लाइफ थियो। जुन हामीले कहिल्यै भ्यालु नै गरेका थिएनौं,’ उनले पुराना दिनहरू सम्झिए, ‘तर अष्ट्रेलिया जानेबित्तिकै ओर्लिएको भोलिपल्टदेखि नै आफूलाई सस्टेन गर्नका लागि संघर्ष सुरू भयो। निकै गाह्रो भएको थियो।’

सन् २००९ ताका विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेको थियो। काम पाउन पनि हम्मे हम्मे भएको उनले सुनाए। मन्दीका कारण भएका कर्मचारी पनि कटौती भइरहेका थिए। त्यसैले उनले पनि करिब ६ महिना खाली हात बस्नु पर्‍यो। 

कति काम त पैसा धेरै नभए पनि व्यक्तिगत विवरण (सीभी)मा अनुभव भर्न मिल्छ भन्ने सोचेरै पनि गरेको बताउँछन्। ‘ट्रान्सपोर्ट खर्चमा नै सकिने काम पनि गरियो। कामका लागि जहाँ गए पनि एक्सपिरियन्स खोज्थ्यो। त्यसैको लागि काम गरेँ। ६ महिनापछि बल्ल हाउसकिपिङमा काम पाएँ,’अष्ट्रेलियामा गरेको दुःखलाई उनले यसरी सम्झिए।

युनिशसँगै कैलाश र अर्को एकजना साथी पनि एउटै फ्लाइटबाट अष्ट्रेलिया पुगेका थिए। ६ महिनाको सघंर्षले गर्दा तीनैजना गलिसकेका थिए। उनीहरु सबैले नेपाल फर्किने सोच बनाए।  

‘बुबाको खाद्यान्नको स्टोर थियो। साथीहरूको बुबाको पनि स्थापित व्यवसाय थियो। यहाँ गर्ने मिहिनेत आफ्नै ठाउँमा आफ्नो परिवारको व्यवसायमा गरेमा धेरै कन्ट्रिब्युट गर्न सकिने सोच पनि आयो,’ उनले सुनाए, ‘कैलाश यही सोचसहित नेपाल फर्कियो भने हामी दुईले आफूलाई थप दुई महिनाको समय दिएका थियौं। यसैबीच अवसरहरू आउँदै गए।’

क्वेस्ट सर्भिस्ड अपार्टमेन्ट होटलमा हाउस किपिङबाट सुरू गरेर उनले सुपरभाइजर, फ्रन्ट डेक्स सेक्सनमा अफिसरबाट म्यानेजर हुँदै व्यवस्थापनको माथिल्लो तहसम्म पनि पुग्न सके। तर एकाएक अष्ट्रेलियामा संघर्ष गरेर कमाएको पैसा र पोजिसन छोडेर युनिश सन् २०१७ मा नेपाल फर्किए। 

त्यहाँ काम गर्दा उनले हस्पिटालिटी क्षेत्रका विभिन्न अवार्ड पनि हात पारे। संघर्षले खारिएर सफल हुँदै गएपछि उनलाई त्यहाँको अखबारले समेत स्थान दियो। तर पनि हस्पिटालिटी उद्योगमा त्यति सिकिसकेका युनिशलाई नेपाल नै फर्किन मन भयो। यहीँ केही गरौं भनेर उनी फर्किए।

‘म एक्लो सन्तान हो। म एक न एक दिन फर्कनै पर्छ भन्ने मलाई थाहा थियो। तर कहिले भन्ने कुरा सोचेकै थिइन। म नेपाल फर्केपछि करिअर पुन: शून्यबाट सुरु गर्नुपर्छ भन्ने पनि मैले बुझेको थिए,’ उनले सुनाए, ‘केही कुरामा सफल हुनुलाई राम्रै समय लाग्छ भन्ने पनि मैले भोगिसकेको थिए। म त्यति बेला २७ वर्षको थिए। यो उमेरको ऊर्जा मैले नेपालमा गएर खर्च गरें भने ५/७ वर्षमा त केहि न केहि गरेरै देखाउँछु भन्ने सोचेर नेपाल फर्किए।’

त्यसको अर्को वर्ष अर्थात सन् २०१८ मा उनले पत्रिकामार्फत हिमालयन जाभाले विस्तारको लागि ठाउँ खोजिरहेको सूचना थाहा पाए। त्यसैको आधारमा उनले आफ्नो साथी कैलाश र प्रनिशसँग मिलेर कुरा बुझ्न गए। 

जाभा फ्रेञ्चाइज मोडलमा जान खोजिरहेको बुझेपछि तीनैजनाले यस व्यवसायमा मिलेर हात हाले। उनले अष्ट्रेलियामा काम गरेको क्वेस्ट सर्भिस्ड अपार्टमेन्ट फ्रेञ्चाइज व्यवसाय हो। त्यहाँ आठ वर्ष बिताएका युनिशलाई हस्पिटालिटी साथै फ्रेञ्चाइज व्यवसाय कसरी चल्छ भन्ने पनि राम्रो अनुभव थियो।

त्यही वर्ष उनीहरूले मंगलबजारमा हिमालयन जाभा सुरू गरे। क्याफे राम्रै चल्यो। लगत्तै, अर्को वर्ष झम्सिखेलमा पनि हिमालयन जाभा सुरू गरे। 

युनिशले भने, ‘लकडाउनले दुई वर्ष जस्तो होल्ड गर्‍यो। त्यसैले हामीले मंगलबजारको जाभा बन्द पनि गर्नु पर्‍यो। तर हामीले हार मानेनौं।’

भर्खरै मात्रै उनीहरूले सानेपामा अर्को हिमालयन जाभा सुरू गरेका छन्। आउटलेटमा कफी मात्र नभई बियर र वाइन पनि पाइन्छ। उनीहरुले एक साताभित्रै ब्रिटिस कलेज अगाडि टेक अवे मोडलमा हिमालयन जावाको थप आउटलेट पनि सञ्चालनमा ल्याउँदै छन्। 

एउटै एरिया धेरै जाभा

ललितपुरको सानेपा र झम्सिखेलमा थुप्रै क्याफे, जाभा र रेस्टुरेन्टहरु छन्। युनिशको समूह आउटलेट विस्तारको योजनामा छ। एउटै एरियामा एकै प्रकारका व्यवसाय धेरै हुँदा कसरी चल्छन् भन्ने जटिल छ।

‘हामीले सुरू गर्दा यो एरियामा जाभा स्तरको क्याफे नै थिएन। अहिले यहाँ हाम्रो पीआर पनि राम्रो छ। क्याफेमा आउने सबै साथी जस्तै भइसके। ब्राण्ड वेट र वेभरेज क्वालिटीबाहेक पनि हाम्रो क्याफे नेबरहुड क्याफे जस्तो भइसक्यो,’ युनिश आफ्नो योजनामा ढुक्क सुनिन्छन्।

क्याफे बिजनेसमा जमेका युनिश आफ्नो यात्रा निकै प्रोडक्टिभ साथै चुनौतीले भरिपूर्ण रहेको बुझ्छन्। उनले भने, ‘यहाँ व्यवसाय गर्न अनावश्यक चुनौतीहरू बढी छ। व्यवसाय दर्तादेखि कर्मचारी राख्‍न सबैतिर समस्या छ। प्रोफेसनल नै छैनन्। अझ यो क्षेत्रमा त कर्मचारी तान्दिने पनि त्यतिकै हुन्छ। यी यावत कुराहरू एकै पटक परिवर्तन पनि हुँदैनन्। समय लाग्छ। हाल जसरी छ त्यसरी नै चल्ने हो।’

तमाम चुनौतीको बाबजुद नेपालमा अवसर नै अवसर रहेको पनि उनी देख्छन्। तर विदेश जानेलाई पनि उनी निरुत्साहित गर्दैनन्। 

उनी युवालाई सुझाउँछन्, ‘विदेश जाँदा एउटा प्लान बोकेर जाने हो भने राम्रो हुन्छ। क्यापिटल फर्मेसन र अन्तर्राष्ट्रिय एक्सपोजरको लागि विदेशमा केही समय बिताएर नेपाल आउँदा धेरै कुरा गर्न सकिन्छ। यहाँ केही पनि भएको छैन। त्यसैले पनि यहाँ गर्न सक्ने ठाउँ धेरै छ। जे गर्दा पनि नयाँ हुन्छ यहाँ।’