
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडिरहेको बुद्ध एयरको विमानमा भिडियो र फोटो खिचेपछि एकजना पाइलटलाई कारबाही गरेको छ। कम्पनीको जहाज उडानका क्रममा ती पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेसँगै ‘याक्टिभ ड्युटी’ बाट हटाइएको प्राधिकरणले जनाएको छ।
हवाई सुरक्षामा आँच आउने गतिविधि भएकाले प्राधिकरणले पाइलटलाई कारबाही गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।
‘केही दिन अघि ती पाइलटले जहाज उडानकै क्रममा फोटो/भिडियो लिएको जानकारी आएपछि कारबाही गरिएको हो। उहाँसँग स्पष्टीकरण लिइरहेका छौं। कारबाही अगाडि बढिसक्यो। स्पष्टीकरणपछि थप कारबाही अगाडि बढ्नेछ,’ निरौलाले भने, ‘सुरक्षासँग जोडिएको विषय हो। त्यसैकारण अहिले उहाँलाई केही समय याक्टिभ ड्युटीबाट हटाइएको छौं।’
प्राधिकरणले उडान सुरक्षालाई मध्यनजर गर्दै हेलिकोप्टर, हवाई जहाज उडानमा हुन गएको त्रुटीमा कडाइका साथ कारबाही गर्दै आएको छ।