बजेटबाट २०० सीसीभन्दा माथिको बाइक भयो सस्तो, एउटै बाइकको मूल्य डेढ लाखसम्म घट्ने

शुक्र गिरी
२०८० जेठ १९ गते ०६:२३ | Jun 2, 2023
बजेटबाट २०० सीसीभन्दा माथिको बाइक भयो सस्तो,  एउटै बाइकको मूल्य डेढ लाखसम्म घट्ने

काठमाडौं। बजेटमा भएको करको दर हेरफेरले शक्तिशाली इन्जिन भएका बाइकको मूल्य घटेको छ। बिहीबारदेखि लागु हुने गरी बजाज बाइकको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले डोमिनार-४०० मोडलको मूल्य ६० हजार रुपैयाँले घटाएको छ।

Tata
GBIME
Nepal Life

बजेट अघि यो बाइकको मूल्य ६ लाख ५९ हजार ९०० रुपैयाँ थियो। बिहीबार ५ लाख ९९ हजार ९०० भएको कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले बताए।

उनले यो बाइक नेपालमा एसेम्बली हुने भएकाले पनि धेरै घटेको जिकिर गरे।

बजेटबाट सडक निर्माण दस्तुर र अन्तःशुल्क छुट दिएसँगै बजाजले डोमिनार ४०० को मूल्य घटाएको हो। सरकारले २५० सीसी भन्दामाथि ४०० सीसीसम्मको सडक कर मात्र ३० हजार रुपैयाँ घटाएको छ। यसअघि यो सीसीका बाइकको सडक कर ५० हजार रुपैयाँ लाग्ने गरेको थियो।

यसैगरी, पहिला ४०० सीसीभन्दा माथिका बाइकमा १ लाख रुपैयाँ सडक कर लाग्थ्यो। तर अब सो दर परिवर्तन गरी बाइकको खरिद मूल्यमा १० प्रतिशत मात्र सडक निर्माण कर हुने भएको छ।

यस्तै २०० देखि २५० सीसीमा २० प्रतिशत अन्त:शुल्क पनि घटाएको छ। यो सेग्मेन्टमा यसअघि ८० प्रतिशत अन्त:शुल्क लाग्दै आएको थियो। अब भने ६० प्रतिशत मात्र अन्त:शुल्क लाग्ने छ। यस्तै २५० सीसीदेखि ४०० सीसीसम्मको बाइक ९० प्रतिशत अन्त:शुल्क लाग्थो। तर अहिले यसमा ३० प्रतिशत अन्त:शुल्क घटाएर ६० प्रतिशतको व्यवस्था गरेको छ।

एसेम्बलको हकमा २५० सीसीदेखि ४०० सीसीसम्मको बाइक सामान ल्याउँदा ६० अन्त:शुल्क लाग्छ। त्यही बाइक तयारी अवस्थामा बिक्री गर्दा ८० प्रतिशत अन्त:शुल्क लाग्छ।

अहिले बजारमा यो सेग्मेन्टका बाइकहरुमा बजाज पल्सर २२० एफ, केटीएम ड्यूक २५०, केटीएम २५० एड्भेन्चर, सुजुकी जिक्सर २५०, डोमिनार २५०, बेनेली लियोन्सीनो २५०, क्रसफायर जस्ता मोडल रहेका छन्। यी मोडलहरु सबैको मूल्य २० प्रतिशतले घट्ने छ।

जस्तै बजाज पल्सर २२० एफ एबीएसको मूल्य ३ लाख ९६ हजार ९०० रुपैयाँ रहेको छ। तर अब सरकारले घटाएको २० प्रतिशत अन्त:शुल्कले मूल्य पनि २० प्रतिशतले घट्ने अनुमान गरिएको छ।

यस्तै २५० देखि ५०० सीसीको नन एसेम्बल बाइकमा ३० प्रतिशत र  तयारी बाइक आयात गर्दा ६० प्रतिशत मात्र अन्त:शुल्क लाग्ने व्यवस्था भएको छ। बिक्रेताहरुले बाइक आयात गर्दा खरिद मूल्यमा भन्सार लाग्छ त्यसपछि अन्त:शुल्क र त्यसमा सडक कर लागेपछि भ्याट जोडिन्छ।

आर-१५ वाइकको मूल्य ५ लाख ८४ हजार रुपैयाँ र डोमिनार ४०० को मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ छ। बजाजका २०० सीसीदेखि माथिका बाइकहरुमा अब २० हजारदेखि १ लाख ५० हजार रुपैयाँ मूल्य घट्ने भएको छ। बजाजको एभेन्जरमा मात्र १ लाख २१ हजार रुपैयाँ मूल्य घट्ने जनाइएको छ। 

केटीएमको भेरियन्ट ४० हजारसम्मले मूल्य घट्ने भएको छ। केटीएम ड्यूक २५०, केटीएम २५० एड्भेन्चरको मूल्य घट्छ। यो सेग्मेन्टमा सरकारले २० प्रतिशत अन्त:शुल्क घटाएको छ। केटीएम २५० एड्भेन्चरको मूल्य ७ लाख ४९ हजार रुपैयाँ रहेको छ। यसको मूल्यमा पनि ४० हजारसम्मले घट्ने अनुमान गरिएको छ।

यस्तै बेनेलीको पनि बाइकको मूल्य घट्ने भएको छ। नेपालमा यसको बाइक टीएनटी १५ को मूल्य २ लाख ६० हजारदेखि सबैभन्दा धेरै महँगो मोडल ७५२ एसको मूल्य २५ लाख १५ हजार रुपैयाँ रहेको छ। बेनेली टीआरके २५१, ३०२ एस, ६०० आई र ७५२ एस मोडलको मूल्यमा गिरावट आउने भएको हो।

यस्तै रोयल इन्फिल्डमा मोडल अनुसार ८० हजारदेखि १ लाख ५० हजार रुपैयाँ मूल्य घट्ने भएको छ। यो ब्रान्डको क्लासिक बाइक ३५० सीसीको रहेको छ। यो मोडेलको बाइकको मूल्य नेपाली बजारमा ६ लाख ४० हजार रुपैयाँदेखि ६ लाख ५० हजार रुपैयाँ रहेको छ। यस्तै मेटिएर ३५० मोडलको भेरियन्ट अनुसार मूल्य ८ लाख ३० हजारदेखि ८ लाख ७० हजार रुपैयाँ छ। यी सबै मोडलहरुको मूल्यमा धेरै गिरावट आउने भएको छ।

बीएमडब्लु जीएस १४ लाख ७५ हजार रुपैयाँ छ। यसको मूल्यमा पनि गिरावट आउने भएको छ। यस्तै जावा र यज्दीको बाइकहरुको पनि मूल्यमा गिरावट आउने भएको छ। यसमा जावाको फोर्टी टु मोडलको मूल्य ६ लाख ७३ हजार रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म रहेको छ। यसमा २९३ सीसी क्षमताको इन्जिन रहेको छ।

यस्तै यसको अर्को मोडल पेरकको ७ लाखदेखि ८ लाख २० हजारसम्म रहेको छ। यसमा ३३४ सीसी क्षमताको इन्जिन छ। यो सेग्मेन्टमा सडक कर र अन्त:शुल्क दुबै घटाइएकाले यसमा ६० हजारदेखि ९० हजार रुपैयाँसम्म मूल्य घट्नेछ।

यस्तै, यज्दीको पनि नेपालमा भर्खरै ३ वटा मोडलको बिक्री सुरु गरिएको थियो। कम्पनीका अनुसार रोडस्टार मोटरसाइकलको मूल्य ९ लाख १६ हजार रुपैयाँदेखि ९ लाख २५ हजार रुपैयाँसम्म छ। त्यस्तै, यज्दी स्क्र्याम्ब्लरको मूल्य ९ लाख ४८ हजारदेखि ९ लाख ५६ हजार रुपैयाँसम्म छ।

त्यसैगरी, यज्दी एड्भेन्चरको मूल्य ९ लाख ९६ हजारदेखि ९ लाख ९८ हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ। यज्दीका सबै मोटरसाइकल ३३४ सीसी इन्जिनयुक्त छ। यसमा पनि जावामा जस्तै ६० हजारदेखि ९० हजारसम्मले मूल्य घट्ने अनुमान गरिएको छ।