
काठमाडौं। बजेट सार्वजनिक भएको तेस्रो दिन बल्ल बजारले हरियो संकेत दिएको छ। बजेट प्रस्तुत भएयता बजार निरन्तर फराकिलो अंकमा घटिरहेको थियो।
दुई दिनमै ९२ अंक गुमाएको सेयर बजार बिहीबार १६.५५ अंकले बढेको छ। प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमुलक भएपछि बजारको मनोबल बढेको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा नेपालमा उत्पादित बिजुली १० हजार मेगावाट किन्ने घोषणा गरेका छन्। यसबाहेक जलविद्युत आयोजनामा पनि भारतले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता गरेको छ।
यसलगत्तै जलविद्युत क्षेत्रमा लगानीकर्ताको आकर्षण ह्वात्तै बढेको छ। जोशी हाइड्रोपावरको सेयर सर्वाधिक बढेको छ। जलविद्युत क्षेत्र १.३९ प्रतिशत बढेको छ।
बजेटमा सरकारले सेयर बजारको कर हेरफेर गर्दा लगानीकर्ता आक्रोशित छन्। उनीहरुले बिभिन्न आन्दोलनका कार्यक्रम नै शुरु गरिसकेका छन्। सरकारले सेयर बजारमा भएको नाफामा पनि आयकर लगाउने भएपछि लगानीकर्ता विरोधमा उत्रिएका हुन्।
बजार बढेपनि कारोबार भने अपेक्षा अनुसार हुन सकेको छैन। बिहीबार एक अर्ब ६५ करोड रुपैयाँको किनबेच मात्रै भयो। जबकि पछिल्लो तीन दिन लगातार बजार घट्दा औसत २.४३ अर्बको कारोबार भइरहेको थियो।