सरकारको सेयर बजार मारा नीति: लाभकर मात्र होइन ‘बुल’ बेलादेखिको आयकर पनि तिर्नुपर्ने

उन्नत सापकोटा
२०८० जेठ १७ गते १८:५४ | May 31, 2023
सरकारको सेयर बजार मारा नीति: लाभकर मात्र होइन ‘बुल’ बेलादेखिको आयकर पनि तिर्नुपर्ने


काठमाडौं। सेयर बजार र घरजग्गामा लगानी गरेर निश्चित रकमभन्दा बढी नाफा गरेकाहरुले नाफामा थप आयकर तिर्नुपर्ने भएको छ। सरकारले बजेटमार्फत ‘स्किम’ का रुपमा ल्याएको कार्यक्रमले लगानीकर्ताको गोजीमा सिधैं प्रहार गरेको छ।

Tata
GBIME
Nepal Life

आर्थिक विधेयकको दफा २९ मा ‘धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुटसम्बन्धी विशेष व्यवस्था’ भनेर ५० प्रतिशत छुटको कुरा गरिएको छ। तर, यो छुटले अहिलेसम्म पुँजीका साथै घरजग्गा बजारमा अभ्यास र कारोबार नभएको हुँदा लगानीकर्तालाई अतिरिक्त दायित्व सृजना गरिदिएको छ।

नियमित व्यवसायका रुपमा सेयर, घरजग्गाको कारोबार गर्नेहरुले आयकर बुझाउनुपर्ने हुन्छ। अहिलेसम्म पुँजीगत लाभकर तिरेर बाहिरिने अवस्था थियो। कम्पनीमार्फत खरिदबिक्री हुँदा भने उसले नाफा देखाएर कर तिर्ने गर्थ्यो। नयाँ प्रावधानले आम लगानीकर्तालाई आयकरमा दपेटेको छ।

सेयर बजार र घरजग्गाको कमाइलाई आम्दानी मानेर निकै कम प्राकृतिक व्यक्तिले मात्र कर तिरेका छन्। अब बाँकीले आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्म गरेको कारोबारको आय विवरण घोषणा गरी कर तिर्नुपर्ने हुन्छ। विधेयकले कायम गरेको करमध्ये आधा रकम बुझाए त्यसअघिको कर, शुल्क र ब्याज मिनाहा हुने भएको छ।

यद्यपि कस्तो प्रकृतिको कारोबारलाई नियमित व्यवसायका रुपमा हेरिने भनेर कार्यविधिले व्याख्या गर्ने छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यविधि बनाउन निर्देशन दिइसकेको बताएका छन्।

उदाहरणका लागि, कसैले १ करोड रुपैयाँ लगानी गरेर १० लाख रुपैयाँ नाफा गर्‍यो। उसको हातमा परेको नाफा पुँजीगत लाभकर बुझाएको पछिको हो। नयाँ व्यवस्था अनुसार अब उसले १० लाख रुपैयाँको आयकर तिर्नुपर्ने हुन्छ। अहिले १० लाख रुपैयाँको आयमा २० प्रतिशत आयकर लाग्छ।

सरकारले दिएको स्किम अनुसार चैतसम्म यसको आधा १० प्रतिशत कर बुझाए हुन्छ। यसअघि नै ५ प्रतिशत पुँजीगत लाभकर बुझाएको हुँदा त्यसलाई टीडीएस (अग्रिम कर कट्टी) मानेर १० प्रतिशतमा घटाउन सकिन्छ। त्यसो हुँदा ५ प्रतिशत आयकर सरकारलाई बुझाउनुपर्ने हुन्छ।

यो त सरकारले २०७८/७९ सम्मका लागि दिएको छुट भयो। अब चालु वर्षको कर आगामी वर्ष शतप्रतिशत नै तिर्नुपर्ने हुन्छ। त्यसो हुँदा अर्को वर्ष ५ प्रतिशत पुँजीगत लाभकरलाई घटाएर १५ प्रतिशत आयकरका रुपमा तिर्नुपर्छ।

करको निर्धारण जागिरेको आयकरको दर बराबर हो। मानौं, कसैले अब जागिरबाट ३० लाख र सेयर बजारबाट अर्को ३० लाख रुपैयाँ कमायो भने कुल वार्षिक आय ६० लाख रुपैयाँ हुन जान्छ। सरकारले यसपालि अधिकतम ३६ प्रतिशत आयकर लाग्दै आएकोमा ५० लाखमाथि आम्दानी गर्नेलाई अर्को ३ प्रतिशत जोडेर ३९ प्रतिशत भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ। त्यसो हुँदा ५० लाखमाथि आय हुनेले आगामी वर्षदेखि ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने हुन्छ।

सेयर बजारको यही कुरा घरजग्गा कारोबारमा पनि लागु हुन्छ। गाउँको घर बेचेर सहरमा किनेका भारमा आयकर लाग्दैन तर यो क्रम दोहोरिरह्यो भने आयकर लाग्ने मैनालीले बताए। कस्तो किनबेच र कारोबारलाई व्यवसायिक भन्ने कुरा कार्यविधिले निर्धारण गर्ने उनले बताए।

‘सेयर बजारका लागि यो निकै ठूलो सजाय हो, अहिलेसम्म नभएको व्यवस्था र अभ्यासलाई ल्याएर कर लगाउँदा लगानीकर्ताको मनोबल कमजोर हुन्छ,’ एक लगानीकर्ताले भने, ‘यो व्यवहारिक पनि हुँदैन।’

यता कर लगाउने निकायका प्रमुखले भने बजार घटाएर चलखेल गर्नेहरुले सरकारले ल्याएको स्किमको गतल व्याख्या गरेको बताए। आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले यसअघि आयकर नबुझाउनेका लागि सरकारले छुटको सुविधा दिएको बताउँदै कसैले सुविधा नलिन चाहेमा लिन नसक्ने बताए।

सरकारको प्रहारपछि सेयर बजार निरन्तर घटिरहेको छ। बजेटपछिको पहिलो दिन सेयर बजार उकास्‍ने कार्यक्रम नआएर घटेको थियो भने दोस्रो दिन करमार्फत न्याकेको सुँइको पाएपछि ओर्लिएको छ। सरकारको यही करको व्यवस्थाका कारण सेयर बजार सूचक अझै तल आउने लगानीकर्ताहरु बताउँछन्।

‘कसैले अहिलेसम्म आय गणना गरेर कर बुझाएको रहेनछ भने उनीहरुलाई ५० प्रतिशत छुट दिन खोजिएको हो,’ मैनालीले बिजमाण्डूसँग भने, ‘कसैलाई पनि अतिरिक्त कर लगाइएको छैन। आयकरमा भएको विद्यमान दरमा परिवर्तन गरिएको छैन।’

उनका अनुसार जसले सेयरलाई पेसा व्यवसाय बनाएर कारोबार गरिरहेको छ उनीहरुले आयकर तिर्नुपर्ने हुन्छ। ‘कस्तोलाई पेसा व्यवसाय भन्ने कुरो चै कार्यविधिले निर्धारण गर्ने छ,’ उनले भने।

अर्थमन्त्री डा. महतले बुधबार एक कार्यक्रममा सेयर बजारबाट करोडौंको आम्दानी गर्नेहरुले यस्तो कर तिर्नुपर्ने बताएका छन्। सरकारले जुन वर्षलाई आधार मानेको छ त्यो वर्ष सेयर सूचक ऐतिहासिक उचाइमा थियो। त्यसबेलाको आम्दानीका आधारमा कर तय हुन्छ। त्यो तय भएको करमा ५० प्रतिशत बुझाउनुपर्छ।

ऐतिहासिक उचाइबाट करिब १४ सय अंक तल बजार आइसकेको छ। त्यसबेला नाफा गरेको मानेर अहिले कर बुझाउनुपर्ने हुँदा सेयर बजारप्रति नै लगानीकर्तलाई वितृष्णा पैदा हुने उनीहरु बताउँछन्।