नेपाल र विश्व बैंकबीच सहुलियत ऋण र अनुदानबारे भयो सम्झौता, शिक्षाका क्षेत्रमा खर्चिने

बिजमाण्डू
२०८० जेठ १७ गते १६:४५ | May 31, 2023
नेपाल र विश्व बैंकबीच सहुलियत ऋण र अनुदानबारे भयो सम्झौता, शिक्षाका क्षेत्रमा खर्चिने


काठमाडौं। नेपाल सरकार र विश्व बैंकबीच १२ करोड डलर सहुलियत कर्जा लिनेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। अर्थमन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेल र विश्व बैंकका नेपाल निर्देशक फरिस हडाड ज्रेभोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

Tata
GBIME
NLIC

सम्झौता अनुसार नेपालले इन्टरनेशनल डेभलपमेन्ट एशोसिएनमार्फत १२ करोड सहुलियत ऋण कर्जा पाउने छ। यस्तै, १ करोड ९७ लाख डलर अनुदान पनि नेपालले पाउने भएको छ। ग्लोबल पार्टनरसिप फर एजुकेशन फर दी स्कुल सेक्टर ट्रान्सफर्मेसन प्रोग्रामअन्तर्गत नेपालले शिक्षा क्षेत्रमा सुधारका लागि यो अनुदान पाउन लागेको हो।

प्रारम्भिक तहका कक्षाहरूमा राष्ट्रिय एकीकृत पाठ्यक्रम लागू गरेर आधारभूत सीपहरू सुधार गर्नमा यो रकमको प्रयोग हुने बताइएको छ।

कोभिड-१९ र अन्य प्रकोपका कारण विद्यालय बन्द हुँदा हुने सिकाइ नोक्सानलाई सम्बोधन गर्न, कक्षाकोठामा पठनपाठन र सिकाइलाई सुदृढ पार्न पनि यो कार्यक्रममार्फत सरकारलाई सहयोग हुनेछ।

यसबाट अपाङ्गता भएका तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रममार्फत सहयोग गर्न सकिने जनाइएको छ।