विद्युतीय गाडीको कर बढ्ने सूचना चुहिएपछि एक सातामा ७०० गाडी भन्सारबाट छुटे

शुक्र गिरी
२०८० जेठ १४ गते २२:०६ | May 28, 2023
विद्युतीय गाडीको कर बढ्ने सूचना चुहिएपछि एक सातामा ७०० गाडी भन्सारबाट छुटे

काठमाडौं। बजेट आउने १५ दिनअघि नै अर्थ मन्त्रालयबाटै विद्युतीय गाडीमा करको दर हेरफेर हुने सूचना चुहियो। सूचना चुहिएकै कारण विद्युतीय गाडीमा कर नबढाउन लविङ गर्ने उदेश्यले केही कार्यक्रम समेत भए।

Tata
GBIME
Nepal Life

त्यो कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत समेत सहभागी बने। १५ दिन अघिनै विद्युतीय गाडीको करको दर बढ्ने सूचना चुहिएपछि विभिन्न भन्सार कार्यालयमा आएका बसेका विद्युतीय गाडी धमाधम जाँचपास भएका छन्। विभिन्न भन्सार कार्यालयबाट बिजमाण्डूले लिएको तथ्यांकका आधारमा पछिल्लो एक सातामा ७०० भन्दा धेरै युनिट विद्युतीय गाडी जाँचपास भएका छन्।

यो अवधिमा सबै भन्दा धेरै चिनियाँ ब्रान्डको गाडी आयात भएका छन्। चीनबाट मात्र पछिल्लो सात दिनमा लगभग ५०० वटा इभीहरु भन्सार पास भएका छन्। सोमबार आउने बजेटमा विद्युतीय गाडीमा कर बढेमा अर्थमन्त्री महतसमेत विवादमा पर्नेछन्।

बजेट आउनु अघि कर बढ्ने सुचना चुहिएको आधारमा संसदको कठघरामा उभिनुपर्ने एक पूर्व अर्थसचिवले बताए। ‘सोमबार विद्युतीय गाडीमा करको दर बढेमा अर्थमन्त्रीमाथि गम्भीर आर्थिक विचलन गरेको प्रष्ट हुन्छ,’ उनले बिजमाण्डूसँग भने, ‘व्यवसायीले सुचना पाएपछि आफ्नाो नाफाघाटा हेर्नु स्वभाविक हो। अर्थमन्त्रीमाथि तर सुचना चुहाएर गम्भीर आर्थिक अपराध गरेको ठहरिनेछ।’ उनका अनुसार

सरकारले १०० किलोवाटको मोटर भएका इभीमा १० प्रतिशत कर बढाउने संकेत गरेपछि अटो व्यवसायीहरु आफ्ना गाडी भन्सार नाकाबाट गाडी छुटाएका हुन्। सय किलोवाटमा १० प्रतिशत भन्सार वा अन्त:शुल्क बढ्दा सरदरमा एउटा गाडीमा पाँच लाख रुपैयाँ महँगिन्छ।

बजेटको बेला भन्सार नाका आइतबार रातिबाट पूर्ण रुपमा बन्द हुन्छ।

भन्सार कार्यालय टिमुरेका अनुसार पछिल्लो एक हप्तामा यस नाका बाट ४५५ वटा विद्युतीय गाडीहरु व्यवसायीले छुटाएका छन्। यो भन्सार नाकाबाट बीवाइडी, एमजी र नेटा भी आयात हुने गरेको कार्यालयले जनाएको छ।

यसैगरी, भैरहवा भन्सार विभागका अनुसार पछिल्लो ७ दिनमा यो भन्सार नाकाबाट २२३ वटा विद्युतीय गाडीहरु छुटाइएका छन्। विभागले अहिले दैनिक ४० देखि ५० युनिट गाडीहरु छुट्न थालेको जनाएको छ। यो भन्सार नाकाबाट हाल टाटा, हुन्डाई, किया र चिनियाँ ब्रान्ड कोलकात्ता हुँदै पनि ल्याइने गरिएको कार्यालयले जनाएको छ।

यस्तै, तातोपानी भन्सार नाकाबाट पनि एक हप्तामा १९ युनिट विद्युतीय गाडी आयात गरिएको छ। यो नाकाबाट पनि चिनियाँ ब्रान्डका इभीहरु आयात हुने गरेका छन्।

यसरी सबै भन्सार नाकाबाट ७ दिनमा ७०० युनिट विद्युतीय गाडी नेपाल भित्रिएका छन्। यो संख्या एक महिनाभरीमा भित्रिने इभी भन्दा धेरै हो। हालसम्म मासिक ४०० देखि ५०० युनिट मात्र इभी आयात हुने गरेका छन्।

यो बजेटलाई आफ्नो पक्षमा पार्न गाडी बेच्ने अधिकृत बिक्रेताबीच तछाडमछाड चलिरहेको छ। यो पटकको नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनमा आबद्ध रहेका विद्युतीय गाडी र पेट्रोल इन्जिन गाडी बेच्नेबीच बजेट आफ्नो पक्षमा पार्न ठूलै प्रतिस्पर्धा भइरहेको छ।