
काठमाडौं। ५५ मेगावाटको लिखु-२ जलविद्युत आयोजना संचालनमा स्थानीयले अवरोध गरेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार इप्पानले विज्ञप्ती जारी गर्दै आयोजनाको विद्युत गृह क्षेत्रमा स्थानीय केही व्यक्तिहरुले हुलहुज्जत गर्ने, तालाबन्दी गर्ने र कर्मचारीहरुलाई तर्साउने काम गर्दै आयोजना सञ्चालनमा अवरोध खडा गरेको बताएको छ। यसले आयोजनाको काममा गम्भीर असर पुर्याएको भन्दै इप्पानले उक्त कार्यको निन्दा गरेको छ।
यो आयोजना ग्लोबल हाइड्रोपावर एसोसियट लिमिटेडले रामेछापको उमाकुण्ड गाउँपालिका- १ निर्माण गरेको छ।
आयोजना र त्यसका सरोकारवाला पक्षहरुबीचको कुनैपनि असमझदारी भएमा आपसी संवाद र छलफलबाटै समाधान गर्न सकिनेमा आयोजनालाई गम्भीर क्षति पुर्याउने काम भइरहेको इप्पानले उल्लेख गरेको छ।
इप्पानले विगत केही समयदेखि विभिन्न जलविद्युत आयोजनाहरुमा आफ्ना माग पूरा गराउने नाममा आयोजनाहरुमाथि गम्भीर क्षति पुयाउने काम भइरहेकोप्रति चिन्ता व्यक्त गरेको छ।
प्रबर्द्धक एवम कर्मचारीहरुलाई मानसिक र भौतिक रुपमा डर, त्रास पैदा गराउने नियोजित उद्देश्यले अराजक र उदण्ड गतिविधि हुने गरेको देखिन्छ। यस्ता प्रकारका गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा नकारात्मक सन्देश प्रवाह हुने इप्पानले जनाएको छ।
आयोजनाहरुको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरुलाई निरुत्साहित गर्न सरकारले तत्काल छुटै सुरक्षा संयन्त्र निर्माण गर्नुपर्ने माग इप्पानको छ।
राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाहरूमा सुरक्षाको प्रत्याभुति गराउनुका साथै घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही तथा सुरक्षाको प्रबन्ध गर्न पनि सरकारसँग इप्पानले माग गरेको छ।