हिन्दूजा ग्रुपका अध्यक्ष एसपीको निधन, पारिवारिक विवादले छिन्नभिन्न ग्रुपभित्र सहमति सम्झौता ‘जोखिममा’

बिजमाण्डू
२०८० जेठ ४ गते ०९:३३ | May 18, 2023
हिन्दूजा ग्रुपका अध्यक्ष एसपीको निधन, पारिवारिक विवादले छिन्नभिन्न ग्रुपभित्र सहमति सम्झौता ‘जोखिममा’

भारतमा जन्मिएर बेलायतमा अर्बौंको व्यापार साम्राज्य विस्तार गरेका श्रीचन्द हिन्दूजाको ८७ वर्षका उमेरमा निधन भएको छ। एसपीका नामले परिचित श्रीचन्द हिन्दूजा लामो समयदेखि डिमेन्सियाबाट पीडित थिए।

Tata
GBIME
Nepal Life

बेलायतको धनाढ्य तथा फोर्ब्सको अर्बपति सूचीमा रहेका हिन्दूजा ग्रुपका अध्यक्ष एसपीको भारतलगायत धेरै देशहरुमा बैंकिङ, केमिकल, सफ्टवेयर तथा कमर्सियल भेहिकलको व्यापार फैलिएको छ।

एपपी र उनका कान्छा भाई गोपीचन्द सन्डे टाइम्स रिच लिस्ट २०२२ को एक नम्बरमा थिए। सेन्ट्रल लण्डनमा लाखौं डलरको सम्पत्ति रहेको उनीहरुको नेटवर्थ ३६ अर्ब डलर रहेको अनुमान छ।

एसपीका छोरीहरु सानु र बिनुले विज्ञप्ति जारी गर्दै एसपीको निधनको जानकारी दिएका हुन्।

‘उनी उद्योग र व्यापारका क्षेत्रमा भिजनरी थिए। मानवीय र परोपकारी स्वभावका उनले बेहिसाब मानिसको जीवनलाई सकारात्मक प्रभाव पार्ने काम गरेका थिए। आफ्नो काम र परोपकारी कार्यमार्फत भारत र भारतीय संस्कृतिलाई विश्व मञ्चमा पुर्‍याउने व्यक्तिका रुपमा उनको योगदानलाई सधैं स्मरण गरिन्छ,’ उक्त विज्ञप्तिमा भनिएको छ।

हिन्दूजा ग्रुप अन्तर्गत ३० देशहरु कारोबार फैलिएको छ जसअन्तर्गत २ लाख मानिसले रोजगारी पाएका छन्।

हिन्दूजा समूह सन् १९१४ मा परमानन्द दिपचन्द हिन्दूजाले स्थापना गरेका हुन् जसले इरानबाट कार्पेट र ड्राइ फ्रुट भारत आयात गरी व्यापार गर्ने गर्थे। उनका छोराहरु श्रीचन्द र गोपीचन्दले उक्त व्यापारलाई सन् १९७० को दशकमा बेलायतमा सिफ्ट गरेका थिए।

एसपी डिमेन्सियाबाट ग्रसित भएपछि एसपीका छोरीहरु र उनका भाइ गोपीचन्दबीच कम्पनीको शक्ति हात लिने विषयमा ठूलो विवाद रहिआएको छ। एसपीका छोरीहरुले काकाविरुद्ध अदालतमा मुद्दा नै दायर गरेपछि हिन्दूजा समूहभित्रको पारिवारिक झगडा सार्वजनिक भएको थियो।  

यो पनि पढ्नुहोस्- एकढिक्का रहने सिद्धान्त बोकेको हिन्दुजा ग्रुप टुक्रिँदै, परिवारिक संघर्षले छिन्नभिन्न

गत वर्षसम्म सुविधा सम्पन्न प्राइभेट अस्पतालमा उपचार गराइरहेका श्रीचन्दको उपचार पछि सरकारी अस्पतालमा भइरहेको थियो। अदालतमा एसपीको उपचारका लागि समेत कम्पनीले रकम उपलब्ध नगराएको एसपीका वकिलको दाबी थियो। तर, भाइ गोपीचन्दले भने यस दाबीलाई खण्डन गरेका थिए।

गोपीचन्द र श्रीचन्दका छोरीहरुबीच विवाद समाधानका लागि सम्झौता भएपनि एक महिना अघि एसपीका वकिलहरुले भने उनीहरुबीचको सम्झौता पनि जोखिममा रहेको लण्डन अदालत समक्ष बताएका थिए।