एकढिक्का रहने सिद्धान्त बोकेको हिन्दुजा ग्रुप टुक्रिँदै, परिवारिक संघर्षले छिन्नभिन्न

बिजमाण्डू
२०७९ कात्तिक ३० गते ०८:५४ | Nov 16, 2022
एकढिक्का रहने सिद्धान्त बोकेको हिन्दुजा ग्रुप टुक्रिँदै, परिवारिक संघर्षले छिन्नभिन्न

भारतको एकसय वर्ष पुरानो व्यापारिक घराना हिन्दुजा ब्रदर्स ग्रुप बाहिरी संसारका लागि सधैं एक ढिक्का भएर प्रस्तुत हुन्छन् र एकताको सन्देश दिइरहेका हुन्छन्। नेपालका ठूला व्यापारिक घरानाहरुले पनि आदर्श मान्ने गरेको यो परिवारको संयुक्त व्यापारिक साम्राज्यको जग भने धरमराएको छ।

Tata
GBIME
Nepal Life

'एकको नाममा भएको सम्पत्ति सबैको हुने' अर्थात 'जो एकको त्यो सबैको' भन्ने व्यापार सिद्धान्त पछ्याएको भनेर हिन्दुजा ग्रुपलाई धेरै व्यापारिक घरानाले आदर्श मान्ने गरेका थिए। वर्षौसम्म यस घरानामा दोस्रो पुस्ताका चार दाजुभाइले व्यापारमा सबै कुरा साझा भएको सन्देश समेत दिइरहे। तर विस्तारै बेलायत, जेनेभा र मुम्बईमा एक शताब्दीदेखि व्यापारिक विरासत बनाएको धनाढ्य परिवार भित्रभित्रै छिन्नभिन्न हुने अवस्थामा पुग्यो। लामो समय लण्डन उच्च अदालतमा पारिवारिक सम्पत्ति विवादलाई लिएर मुद्दा चलिरह्यो।

गत शुक्रबारमात्रै लण्डनस्थित उच्च अदालतमा हिन्दुजा ब्रदर्सको पारिवारिक विवाद हालका लागि बिराम गर्ने सहमतिमा पुगेको सार्वजनिक भएको छ। ग्रुपका प्रवक्ताले नै हाल अदालतमा विवाद समाधानका लागि गोप्य सहमति भएको जानकारी दिएका छन्। एक आदर्श मानिएको घरानाभित्रको वर्षौ चलेको सम्पत्तिको कलहको विषयमा अल्पकालीन समझदारी त बन्यो तर हिन्दुजा दाजुभाईबीचको 'सद्‍भाव' र 'संयुक्त सम्पत्तिको अवधारणा' कुन दिनसम्म टिक्ने हो भन्ने प्रश्न पनि उजागर भएको छ।

हिन्दुजा परिवारमा दोस्रो पुस्ताका सबैभन्दा जेठा दाजु तथा व्यापारिक मुली मानिएका श्रीचन्द हिन्दुजा यतिबेला डिमेन्सियाबाट ग्रस्त छन्। ८६ वर्षका श्रीचन्द डिमेन्सियाग्रस्त भएसँगै उत्पन्न परिस्थितिहरुका कारण हिन्दुजा परिवारको पारिवारिक एकता पनि भत्किएको छ। परिवारमा काकाहरु, भाइभतिजा, भतिजीहरु, नाति नातिना र निकट परिवारजनहरुबीचको सम्बन्ध तथा व्यापारिक सिद्धान्तपनि धर्मराएको छ।

गत वर्षसम्म सुविधासम्पन्न प्राइभेट अस्पतालमा उपचार गराइरहेका श्रीचन्दको उपचार अचानक सरकारी अस्पतालमा हुन लाग्यो। संयुक्त रुपमा १४ अर्ब डलरको पारिवारिक सम्पत्ति भएको हिन्दुजा ग्रुपका सबैभन्दा जेठा छोरा श्रीचन्दलाई प्राइभेट अस्पतालबाट सरकारी अस्पतालमा सारिनुबारे उनका वकिलहरुले समेत कुरा उठाए। तर श्रीचन्दका भाइ गोपीचन्दले भने यसलाई अस्वीकार गर्दै दाजुको उपचारका लागि ग्रुपका तर्फबाट ५९ लाख डलर उपलब्ध गराएको दाबी गरे।

गत शुक्रबार भएको अदालती प्रक्रियापछि परिवारभित्रको लामो समयदेखिको विवादमा अल्पकालीन सहमति भएको भनिए पनि लामो समयदेखि चलिरहेको विवादलाई फेरि एकपटक सतहमा ल्याएको हो। यसले ४० देशमा व्यापार फैलिएको र झण्डै २ लाख कर्मचारी रहेको एक विशाल ब्रिटिस इन्डियन एम्पायरको भविष्यलाई नै दाउमा राख्दै परिवारभित्र विवाद रहेको पुष्टि भएको छ।

हिन्दुजा कम्पनीको भारतमा मात्रै ६ वटा सूचीकृत कम्पनीहरु छन्। यसको बेलायत र स्विट्जरल्याण्डमा पनि ठूलो व्यापारिक कारोबार छ। यस ग्रुप अन्तर्गत अशोक लेल्याण्ड लिमिटेड पनि पर्छ, जुन विश्वकै तेस्रो ठूलो बस तथा ट्रक निर्माता कम्पनी पनि हो। ग्रुप अन्तर्गत भारतकै ठूलो मध्येमा पर्ने प्राइभेट बैंकसमेत छ।

वास्तवमा हिन्दुजा परिवारको लडाइबारे वर्षौसम्म गोप्यता कायम गरियो। लण्डन कोर्टमा चलिरहेको मुद्दा सतहमा आएपछि मात्र यो परिवारभित्रको कलह सार्वजनिक रुपमा बाहिर आउन सक्यो। यो मात्र नभई परिवारको जेठा दाजु श्रीचन्द बिरामी भएपछि उनीमाथि अन्य भाईहरु तथा उनका परिवारले असाध्यै किनारा लगाएर व्यवहार गरेको विषय पनि अदालतमा छताछुल्ल भयो।

८ वर्षअघि श्रीचन्दकी छोरीले बाबु बिरामी भएपछि परिवारमा दाजुभाईले गरेको सहमति अन्तर्गतको सबै सम्पत्ति सबैका लागि र एकल कसैको केही नहुने सम्झौता खारेज गर्न माग गर्दै मुद्दा दायर गरेकी थिइन्। उनले आफ्नो बुवा अस्वस्थ भएदेखि नै परिवारमा आफ्नो बुवा र आफूहरुलाई पाखा पारिएको दाबी गरेकी थिइन्।

यसपछि अदालतमा श्रीचन्दको पारिवारिक हाँगाबारे विविध किसिमका व्याख्या र विश्लेषणहरु भए। श्रीचन्दकी छोरी बिनुले यसलाई नेतृत्व गरिन् र अन्य भाईहरु विरुद्ध मुद्दा दायर गरिन्। बिनुले उनका काकाहरुले उनको बुवालगायत श्रीचन्दको हाँगातर्फका सन्तान र परिवारलाई कम्पनीको आय तथा व्यापारिक निर्णयहरुबाट बञ्चित राखेको दाबी गरिन्। उनले बुवाको सम्पत्तिमाथि आफ्नो परिवारको नियन्त्रण र हक स्थापित गर्न माग गर्दै मुद्दा दायर गरेकी थिइन्।

तर श्रीचन्दका भाईहरुले भने यो आरोपलाई शक्तिमाथिको हक अर्थात 'पावर ग्रयाब'का रूपमा चित्रित गर्दै यो दाजु श्रीचन्दको लामो समयदेखिको सिद्धान्त र इच्छाविपरीत भएको दाबी गरे। उनीहरुले यसलाई केवल दाजुका छोरीहरुको 'शक्ति हत्याउने हथकण्डा'का रुपमा अदालतमा प्रस्तुत भए।

लामो समय आदर्श संयुक्त परिवारको नमुना बनेको हिन्दूजा दाजुभाईमा अर्बौ सम्पत्तिलाई लिएर बिवाद सुरु भएपछि एकजुट परिवार अचानक छिन्नभिन्न भयो। मुद्दाको प्राथमिकतामा स्विट्जरल्याण्डमा रहेको हिन्दुजा बैंकमा कसो स्वामित्व रहने भन्ने विवाद चरम रह्यो, किनभने हालसम्म यो परिवारमा औपचारिक अंशबण्डा भएको छैन।

जीओसीएल कर्प होस् वा अशोक लेल्याण्ड, परिवारका अन्य पुरुषहरु उच्च पदमा छन् भने श्रीचन्द हिन्दुजाका छोरीहरुले हिन्दुजा ग्रुपमा आफ्नो करियर अघि बढाइरहेका छन्।

शक्ति संघर्ष

हिन्दुजा ग्रुपको सुरुवात सन् १९१४ मा ब्रिटिस इन्डियाको सिन्ध इलाकामा पहिलो पुस्ताका श्रीचन्द परमानन्दले सुरु गरेका थिए। उनी हाल कम्पनीका मुलीका रुपमा देखिएका चार दाजुभाईका बुवा हुन्।

बाहिरबाट हेर्दा लाग्छ हिन्दुजा समूहमा धेरै हदसम्म नियन्त्रण दोस्रो पुस्ताको छ। चार दाजुभाई श्रीचन्द, गोपीचन्द, प्रकाश र अशोक यस समूहका मियो मानिन्छन्। तर हाल तेस्रो पुस्तामा स्वामित्व हस्तान्तरण नै यस विवादको मुल कारण भएको विश्लेषकहरु बताउँछन्।

परिवारको तीन प्रमुख कारोबार अशोक लेल्याण्ड, जीओसीएल कर्पोरेसन (जुन पहिले गल्फ आयलका रुपमा थियो) र हिन्दुजा बैंक स्विट्जरल्याण्डको कमान तेस्रो पुस्ताको हातमा आइपुगेको छ।

तेस्रो पुस्ता व्यापारको कमान सम्हाल्ने अवस्थामा पुगेसँगै पारिवारिक सम्पत्तिमाथि नियन्त्रणको विवाद पनि सुरु भएको हो।

खासमा सन् २०१४ जुलाईमा चारै दाजुभाईले एक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए, जसमा लेखिएको थियो –'कुनै एकको नाममा रहेको जति पनि सम्पत्ति छ त्यो चारैजना दाजुभाईको हुनेछ।' तर पारिवारिक सम्पत्ति संयुक्त रुपमा राख्न चाहेको परिवारमा तेस्रो पुस्ताले भने यसलाई स्वीकार्न सकेन।

पारिवारिक विवाद त्यो समयमात्र सतहमा आयो जब श्रीचन्दकी छोरी बिनु लण्डन उच्च अदालत पुगिन् र स्विट्जरलयाण्डको हिन्दुजा बैंकमाथि आफ्नो परिवारको नियन्त्रण हुनुपर्ने अपिल गरिन्। आफ्नो बुवाको लिटिगेसन फ्रेन्डका रुपमा उनी अदालत पुगेकी थिइन्।

यो बैंकमा उनका बुवा चेयरम्यान एमिरेट्स हुन भने उनकी दिदी सानु अध्यक्ष। सानुका छोरा करम बैंकका सीइओ रहेको बखत यो मुद्दा दायर भएको थियो। हिन्दुजा बैंक स्विट्जरल्याण्डको सानै बैंकका रुपमा चिनिन्छ तर यो बैंकको अशोक लेल्याण्डमा ५ प्रतिशत सेयर छ।

हिन्दुजा दाजुभाईले सुरुवातमै अलग अलग कारोबारको जिम्मा लिएर व्यवसाय अघि बढाएका थिए। जेठा श्रीचन्द हिन्दुजा बैंकबाहेक सम्पूर्ण ग्रुपकै अध्यक्ष हुन् भने उनी हिन्दुजा फाउन्डेसनको सीएसआर शाखाका पनि अध्यक्ष हुन्। उनले केही गैरआवासीय भारतीयसँग मिलेर मुम्बईमा इन्डसइन्ड बैंकको स्थापना पनि गरेका थिए।

यसैगरी गोपीचन्द हिन्दुजा समूहका सहअध्यक्ष हुन् भने हिन्दुजा अटोमोटिभ लिमिटेड यूकेका अध्यक्ष पनि हुन्। जेठा श्रीचन्द र गोपीचन्द यी दुवै दाजुभाई लण्डनमा बस्दैनन्। गोपीचन्दले असीको दशकमा भारत तथा खाडी देशहरुमा कारोबार गर्ने गल्फ आयल र अशोक लेल्याण्डलाई किनेर ग्रुपलाई अर्बौ डलरको बहुराष्ट्रिय समूहमा बदल्न प्रमुख भूमिका निर्वाह गरेका थिए।

प्रकाश हिन्दुजा यूरोपमा हिन्दुजा ग्रुपका अध्यक्ष हुन्। उनी पारिवरिक व्यवसायमा जोडिनुअघि तेहरानमा थिए। पछि उनले स्विट्जरल्याण्ड पुगेर ग्रुपको युरोपियन कारोबारलाई सम्हाले।

सबैभन्दा कान्छा अशोक भारतमा हिन्दुजा ग्रुपका अध्यक्ष हुन्। उनी मुम्बईमा बस्छन्। उनले हाल समूहमा अन्य दाजुहरुको तुलनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। उनी कम उमेरमै भारतस्थित समूहको कारोबारमा जोडिएका थिए। उनी आईआईएचएलका अध्यक्ष पनि हुन् जो इन्डसइन्ड बैंकको प्रमोटर कम्पनी हो। उनी समूहको मिडिया तथा इन्टरटेनमेन्ट कम्पनी नेक्स्ट डिजिटल लिमिटेड र हिन्दूजा नेशनल पावर कर्पोरेसनका अध्यक्ष पनि हुन्। उनी बीपीओ कम्पनी हिन्दुजा ग्लोबल सोल्युसनका चेयरम्यान एमिरेट्स पनि हुन्।

श्रीचन्दका दुई छोरी छन् बिनु र शानु। शानु हिन्दुजा फाउन्डेसन यूएसकी अध्यक्ष हुन्। उनी हिन्दुजा ग्लोबल सोल्युस्नस इंककी सह अध्यक्ष पनि हुन्। बिनु हिन्दुजा भेन्चर्स लिमिटेडकी निर्देशक तथा हिन्दुजा ग्रुप इन्डिया तथा जिओसिएल कर्पोरेसनकी निर्देशक हुन्।

यसैगरी गोपीचन्दका दुई छोरा संजय र धिरज तथा एक छोरी रिता छन्।

संजय जीओसीएलका चेयरम्यान एमिरेट्स हुन भने धिरज अशोक लेल्याण्डका अध्यक्ष हुन्।

प्रकाशका दुई छोरा अजय र रामकृष्ण अनि छोरी रेणुका छन्।

अजय जीओसीएल कर्पोरेसनका अध्यक्ष तथा रामकृष्ण उपाध्यक्ष छन्।

अशोकका दुई छोरी अम्बिका र सत्या अनि एक छोरा छन् सोम।

सोमले २०१४ मा हिन्दुजा ग्रुप ज्वाइन गरेका हुन्। हाल उनी हिन्दुजा ग्रुपको अल्टरनेटिभ इनर्जी एण्ड सस्टेनेबल इनिसियटिभका अध्यक्ष हुन्।

अशोककी छोरी अम्बिका फिल्म निर्माता हुन् भने सत्या डीजे तथा म्युजिक प्रोड्युसर हुन्।

परिवारकै सबैभन्दा पाका ८६ वर्षका श्रीचन्द यतिबेला बिर्सने रोड डिमेन्सियाबाट ग्रसित छन्। यसबाहेक उनको परिवारका बाँकी सदस्य १४ अर्ब डलरको ब्रिटिस इन्डियन कर्पोरेट समूहको सम्पत्ति तथा शक्तिमाथि नियन्त्रणको लडाइ लडिरहेका छन्।

विवादको सुरुवात

सन् २०१४ मा चारै दाजुभाईले एक सम्झौता गरेका थिए परिवारभित्र जसको नाममा रहेपनि सम्पत्ति सबैको साझा हुने। तर जेठा श्रीचन्दकी छोरी बिनुले बुवाको तर्फबाट प्रतिनिधित्व गर्दै जेनेभास्थित हिन्दुजा बैंकको एकमात्र स्वामित्वको दाबी गरिन्।

उनले लण्डनको अदालतमा बुवा र काकाहरुबीच भएको पुरानो समझदारीपत्रको कानुनी प्रभाव नहोस् भन्ने माग पनि गरिन्।

खासमा स्विस बैंकको परिवारको कुल सम्पत्तिको सानो अंश मात्र हो। यो मुद्दासँगै परिवारभित्रको सम्पत्तिको ब्यापक स्वामित्वमाथि पनि प्रश्न उठ्न पुग्यो।

श्रीचन्द बाहेकका तीनजना दाजुभाईले भने यसलाई दाजुका छोरीहरुले पारिवारिक बिरासत हत्याउने गरेको षडयन्त्रका रुपमा लिए। बाबुको कमजोर स्वास्थ्य अवस्थाको दुई दिदीबहिनीले फाइदा उठाएको उनीहरुको दाबी रह्यो।

लण्डन अदालतमा दुवै पक्षले आफ्नो भनाई राखे। श्रीचन्दका तर्फबाट बिनुले अन्यका विरुद्ध आरोप लगाइन्। उनले काकाहरुले बुवाको अस्वस्थताको फाइदा उठाउँदै आफूहरुलाई पैसा र कम्पनीको डिसिजन मेकिङ लेभलमा जान नदिएको र कुनै पनि निर्णय लिने अधिकारबाट पर राखेकाले नै बुवाको सम्पत्तिमाथि आफूहरुको नियन्त्रणमा हुनुपर्ने माग उठाएको बताइन्।

गोपीचन्दले अदालतमा चारैजना दाजुभाई 'एकै ज्यान' भएको बताएका थिए। उनले दाजु श्रीचन्दले सेन्ट्रल लण्डनको ग्रीनपार्कमा सँगै डुलिरहेका बेला 'म चाँडै मरे भने मेरा दुवै छोरीहरुलाई आफ्नै छोरीसरह व्यवहार गर्नू' भनेर छोरीहरुको जिम्मेवारी आफूलाई सुम्पिएको दलिल समेत अदालतमा पेस गरे।

तर छोरी बिनुले भने हालको अवस्थामा बुवाको कमजोर स्वास्थ्यको कारण उनका भाईहरुले ठ्याक्कै उल्टो व्यवहार गरिरहेको दाबी गरिन्।

बिनुले उनीहरुको परिवारलाई अन्य भाईहरुले मिलेर सन् २०१४ देखि नै कम्पनीको आयस्रोतबाट बञ्चित गरिएको र सन् २०१८ देखि त्यो पूर्णरुपमा बन्द नै भएको दाबी गरिन्।

आफ्नो बुवालाई उपचारका क्रममा एकै छिनपनि साथ नछोडेकी बिनुले एकपटक पैसाको अभावको तनावमा आएर अस्पतालका कर्मचारीहरुलाई गाली समेत गरेको आरोप लागेको थियो। उनले श्रीचन्दको उपचारमै समस्या आएपछि आफूहरुले बाध्य भएर आफ्नो स्रोत खोज्न बाध्य बनाएको आरोप लगाइन्।

सन् २०२१ मा बिनु र शानुले लण्डन अदालतमा बुवाको पैसालाई अन्य काममा पनि प्रयोग गरेको स्वीकार गरेको आरोप भाईहरुको थियो। दुई बहिनीको 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट' शक्ति हत्याउन भइरहेको हथकण्डा लज्जास्पद भएको अन्यको भनाइ सार्वजनिक भएको थियो।

सन् २०१३ देखि सन् २०२१ सम्ममा श्रीचन्दको ब्यक्तिगत खाताबाट २ करोड ६० लाख डलर खर्च भएको देखिन्छ। यसबाट कानुनी उपचारका लागि मात्र नभई नातिहरुका लागि समेत खर्च भएको भाई गोपीचन्दका वकिलहरुले दाबी गरेका छन्।

गत वर्षमात्र श्रीचन्दका नाती अर्थात बिनुका छोरा करम हिन्दुजाले ट्‍वीट गरेका थिए – 'एसपी दाजुभाईको 'अल- फर-वान' र 'वान-फर-अल' सिद्धान्त अब 'अल-फर-अस' मा बदलिइसकेको छ।' उनले परिवारका अन्य सदस्यमाथि गरेको यो व्यङ्ग्य मिसिएको ट्‍वीट पछि डिलिटसमेत गरे। परिवारमा केही पनि 'संयुक्त नरहेको' उनको ट्‍वीटको आशय थियो।

गत शुक्रबार लण्डनस्थित उच्च अदालतमा लामो समयदेखि चलिरहेको पारिवारिक मुद्दामा केही सहमति भयो। तर यस विषयमा सबै निर्णयहरु गोप्य राख्ने सहमति भएको ग्रुपका प्रवक्ताले विज्ञप्ति जारी गर्दै जानकारी दिए।

सबै पक्षहरुबीच श्रीचन्दको स्वास्थ्य तथा हितका विषयमा सहमति भएको र त्यो सबै पारिवारिक विषयहरुलानई गोप्य रुपमा राखिने सर्त पनि रहेको बताइएको छ। हाल पारिवारिक विवादको यस लामो कानुनी युद्धलाई सहमतिको बिन्दुमा लैजान भएका सहमति के कस्ता छन् कौतुहलकै विषय हो।

अदालती प्रक्रियाका क्रममा हिन्दुजा परिवारले अदालत समक्ष गत जुनमै सबै किसिमका विवादहरु अन्त्य गर्ने गरी आपसी सहमति बनाएको भनाइलाई नै मुख्य आधार बनाएर गत शुक्रबारको अदालती कारवाहीमा हालको विवादलाई अन्त्य गर्ने वातावरण बनेको बताइएको छ। लण्डन उच्च अदालतमा सन् २०१९ देखि हिन्दुजा परिवारको सम्पत्तिमाथि मुद्दा चलेको थियो ।

हाललाई अदालतले लामो सयमदेखिको विवादमा विराम लागेको बताए पनि यो ब्रिटिस इन्डियन व्यापारिक साम्राज्य मानिने हिन्दुजा समूहभित्रको समस्या निवारणको अवस्था भने होइन।

गोपीचन्दका पक्षका वकिलले यस लडाइलाई लियो टोल्सटायको 'युद्ध र शान्ति' उपन्याससँग तुलना गरेका छन्। तर हिन्दुजा परिवारभित्र यो 'शान्ति' कहिलेसम्म कायम रहन्छ भन्नेमा विश्वभरकै ठूला ब्यापारिक घरानाले उत्सुकताका साथ हेरिरहेका छन्।