
काठमाडौं। बीमा सम्बन्धी जनचेतना अभिवृद्धिले फड्को मारेको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन्। नेपाल बीमा प्राधिकरणको ५५ औं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित प्रभातफेरी कार्यक्रममा उनले बीमाको सेवा सहज र दिगो हुनुपर्ने बताए।
‘बीमा कम्पनीहरूको एउटै उद्देश्य भनेको आम जनतालाई बीमाको महत्त्वका बारेमा जानकारी गराइ सेवा पुर्याउनु भएकाले सबै हातेमालो गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘जुनरूपमा बीमा सचेतनाले व्यापकता पाएको छ, त्यहीरूपमा बीमा कम्पनीहरू आम जनतासम्म पुग्नुपर्छ।’
बीमा कम्पनीहरुलाई प्राधिकरणले पुँजीको मापदण्ड तोकेपछि मर्जरमा जाने बढेका छन्। यसले कम्पनीहरुको पुँजी र कार्य क्षेत्र विस्तार भएको छ। तर, धेरै कम्पनी सुगम क्षेत्रमा मात्र केन्द्रित छन्।
बीमाको सेवा सहज र दिगो बनाउन अध्यक्ष सिलवालले कम्पनीहरुलाई निर्देशन दिए। ‘कम्पनीहरूले बीमालेखलाई समयानुकूल परिमार्जन र बीमितलाई थप सुविधाको व्यवस्था हुनुपर्छ,’ उनले भने।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशीलदेव सुवेदी, निर्देशक पुजन ढुंगेल अधिकारी, निर्देशक दिनेशकुमार लाल र कर्मचारीहरू, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, जीवन बीमक संघ, नेपाल बीमक संघ, बीमा सर्भेयर संघ र पेसागत बीमा अभिकर्ता संघका पदाधिकारीहरूको उपस्थिति थियो।