हिन्टनले गुगलबाट दिए राजीनामा, भन्छन् ‘आर्टिफिसियल इन्टेलिजेन्स मानवताका लागि खतरा’  

बिजमाण्डू
२०८० बैशाख २० गते १२:४० | May 3, 2023
हिन्टनले गुगलबाट दिए राजीनामा, भन्छन् ‘आर्टिफिसियल इन्टेलिजेन्स मानवताका लागि खतरा’  


काठमाडौं। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का पिता मानिने डा. जेफ्री हिन्टनले एआईलाई विश्वका लागि खतरा भएको बताउँदै गुगलबाट राजीनामा दिएका छन् । मनोविज्ञानका ज्ञातासमेत रहेका उनले भनेका छन् ‘अहिले यो वरदान जस्तो लाग्न सक्छ, तर यो त्यस्तो छैन। यो मानवताका लागि खतरा हो।’ 

Tata
GBIME
Nepal Life

उनी लामो समयदेखि एआईको क्षेत्रमा क्रियाशील हुन्। एआइले मानवताका विरूद्ध सृजना गर्ने संकटहरूको बारेमा उनले बुझेका छन्। राजीनामा दिनुको कारण उमेर पनि भएको उल्लेख गर्दै उनले भने, ‘एआईका खतराहरूको बारेमा खुलेर बोल्नको लागि नै भनेर मैले आफ्नो जागिर छोडेँ।’ 

७५ वर्षीय हिन्टनले न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘यसले ठूलो संख्यामा रोजगारी हटाउनेछ। गलत सूचना समाजमा तीव्र गतिमा फैलिनेछ, जसलाई रोक्न सम्भव छैन।’ हिन्टन यसका लागि आफूलाई जिम्मेवार ठान्छन् र पछुताउँछन्। उनले भने, ‘मैले नगरेको भए अरू कसैले त गर्दथे, तर एआईको जन्म हुन्थ्यो नै। अब यसलाई सामना गर्न धेरै गाह्रो हुनेछ।’

सन् २०१२ मा  डा. हिन्टनले टोरन्टो विश्वविद्यालयका आफ्ना दुई विद्यार्थी इल्या सुत्स्केभर र एलेक्स क्रुसेभस्कीसँग मिलेर हजारौं तस्बिरहरूको विश्लेषण गर्न सक्ने नेटवर्क बनाए। यति मात्र होइन, यो नेटवर्कले आफूलाई फूल, कुकुर र कार जस्ता सामान्य वस्तुहरू चिन्न सिकाउन सक्थ्यो।

यो प्रविधि नै वर्तमान एआईको आधार हो। उनले सन् १९७२ देखि एआईमा लगातार काम गरिरहेका थिए। उनले एआईमा काम गर्न सुरू गर्दा एआईको बारेका कसैले पनि सुनेको पनि थिएनन्। अहिले उनी आफूले एआईमा गरेका सबै कामप्रति पछुताइरहेका छन्।

जेफ्री गुगल छोडेपछि हाल एआई अपनाउने होडमा रहेका टेक कम्पनीहरू यसको जोखिम कसरी सामना गर्ने कुनै योजना नभएको बताउँछन्। उनी भन्छन्, ‘उनीहरू चाँडोभन्दा चाँडो एआई आधारित उत्पादनहरू बनाउन चाहन्छन्। यो पनि ९० को दशकमा आएको प्रविधिजस्तै भविष्यको आधार त हो। तर यी कम्पनीहरूसँग यसले निम्त्याउने खतराको सामना कसरी गर्ने भन्ने कुनै उपाय छैन।’

एआईको सम्भावित खतराहरू बारे चेतावनी दिँदै जेफ्री हिन्टनले भने, ‘एआई खराब मानिसहरूलाई नराम्रो कामहरूको लागि प्रयोग गर्नबाट कसरी रोक्न सकिन्छ भनेर हेर्न गाह्रो छ।’ उनले च्याटबटलाई ‘धेरै डरलाग्दो’ भनेर पनि वर्णन गरेका छन्।

उनले भने, ‘अहिले, जहाँसम्म मैले भन्न सक्छु, एआइबटहरू हामी भन्दा धेरै बुद्धिमानी छैनन्। तर तिनीहरू छिट्टै नै हुन सक्छन्।’

डा. हिन्टनको न्यूरल नेटवर्क र डिप लर्निङमा गरेका सुरूवाती अनुसन्धानले नै अहिले विकास भएका  च्याटजीपीटीजस्ता वर्तमान एआई प्रणालीहरूको लागि बाटो बनाएको हो।

बेलायती-क्यानेडियन मनोवैज्ञानिक र कम्प्युटर वैज्ञानिक जेफ्रीले च्याटबटले छिट्टै मानव मस्तिष्कले राखेको जानकारीको स्तरलाई ओभरटेक गर्न सक्छ भन्ने चेतावनी दिएका छन्। (एजेन्सीको सहयोगमा)