
कोभिड महामारी नियन्त्रणका लागि चीन सरकारले लगाएका विविध प्रतिबन्ध खुकुलो बनाएसँगै अर्थतन्त्रमा अनुमान गरेभन्दा बढी सुधार देखिएको छ।
सन् २०२३ को पहिलो तीन महिनामा कुल ग्राहस्थ उत्पादन ४.५ प्रतिशतले बृद्धि भएको हो। घरायसी खर्चको क्षमता तथा बढ्दो कारखाना गतिविधि बढेसँगै चीनको अर्थतन्त्र थप चलायमान भएको बताइन्छ।
बेइजिङले विश्वकै दोस्रो ठूलो अर्थतन्त्रलाई गतिशील बनाउनका लागि गत डिसेम्बरदेखि कोरोना महामारी नियन्त्रणका लागि लगाएको विभिन्न किसिमका प्रतिबन्धहरु खारेज गरेको थियो।
मार्च महिनामा खुद्रा बिक्री गत वर्षको समान अवधिको भन्दा १०.६ प्रतिशतले छलाङ मारेको छ। सोही समयमा फ्याक्ट्री उत्पादन ३.९ प्रतिशत भएको थियो।
यसैगरी चीनको हवाई उद्योगमा पनि बलियो ‘रिबाउन्ड’ देखिएको बताइएको छ। चीनको नागरिक उड्डयन प्रधिकरणको तथ्यांक अनुसार गत महिनामात्रै त्यहाँ ४ करोड ५० लाख यात्रुले यात्रा गरेकाा छन् जुन संख्या गत वर्षको समान अविधको भन्दा तीनगुनाले बढी हो।
प्रतिबन्धहरु हटाएसँगै लगानीकर्ताहरु पनि उत्साहित भएका छन्। हाल बेइजिङले टेक जायन्ट तथा प्रोपर्टी डेभलपरहरुलाई सहज वातावरण बनाउन प्रयास गरिरहेको बताइएको छ।
हाङ सेङ बैंककी प्रमुख अर्थशास्त्री डान वाङ भने अझै पनि बजारको बृद्धिको दर बलियो रहनेमा शंका व्यक्त गर्छिन्। ‘सुरुवातमा जति बलियो बृद्धि छ त्यो पछिसम्म नरहन सक्छ। उत्पादन क्षेत्रको मागमा केही कमी आउन सक्छ। विश्व अर्थतन्त्र बिस्तारै मन्दीतर्फ अग्रसर भैरहेकाले चीनको निर्यातमा देखिएको “बुम” मा पनि सुस्तता आउन सक्छ।’- उनले भनिन्।
चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले अर्थतन्त्रलाई बलियो बनाउन तथा बेरोजगारी दर घटाउनका लागि हाल गर्दै आएको सहायतालाई बढाउने प्रतिबद्धता समेत जनाएको छ। गत वर्ष मात्र चीनको जिडीपी बृद्धि आधा दशक यताकै न्यून विन्दूमा पुगेपछि बेइजिङ निकै चिन्तित देखिएको थियो। त्यसयता उसले अर्थतन्त्रलाई बृद्धितर्फ लैजान विभिन्न उपायहरु अपनाएको छ।