
काठमाडौं। विद्युत महसुलको बक्यौता धेरै राखेर नतिर्ने कम्पनी, व्यवसायिक फर्म र व्यक्तिको लाइन काट्दै नेपाल विद्युत् प्राधिकरणले कारबाही गरेको छ। कार्बाही गरेलगत्तै १६ करोड रुपैयाँ असुली भएको छ।
प्राधिकरणले दाङको बिजौरीस्थित सोना सिमेन्टको उत्पादक सोनापुर सिमेन्ट प्रालिको लाइन काटिदिएको छ। करिब ७५ करोड बक्यौता नतिरेपछि उक्त उद्योगको लाइन काटिएको प्राधिकरण प्रादेशिक कार्यालय प्रमुखका हरि पाण्डेले बताए।
उनका अनुसार अहिलेसम्म उक्त कम्पनीले प्राधिकरणलाई ७४ करोड ५९ लाख रुपैयाँ तिर्न बाँकी छ। ‘डेडिकेटेड लाइन हुँदाको ३२ करोड ९४ लाख र पछिको ४१ करोड ६६ लाख रुपैयाँ सोनापुर सिमेन्टले बुझाएको छैन,’ उनले भने, ‘पटक पटक भनिआएका हौं, नबुझाएपछि सूचना दिएरै लाइन काटेको हो।’
सोना सिमेन्टको मात्रै नभइ साना-ठुला उद्योग तथा व्यक्तिगत गरी १० हजार ग्राहकको लाइन काटिएको उनले बताए। लाइन काटिएपछि बक्यौताको १६ करोड रुपैयाँ उठेको जानकारी उनले दिए।

धेरै बिजुली खपत गर्ने सिमेन्ट उद्योग प्राधिकरणका ठुला ग्राहक हुन्। प्रमुख पाण्डेका अनुसार अन्य उद्योगका महसुल बक्यौता छन्। रोल्पा सिमेन्टको ८ करोड बाँकी छ। ‘सम्राट र घोराही सिमेन्टको पनि बक्यौता छ। उनीहरुले भोलिसम्म समय मागेकाले अहिले लाइन काटिहालेका छैनौं,’ उनले भने।
उनका अनुसार प्राधिकरण नेपालगञ्ज डिभिजन अन्तर्गत मात्र लगभग २ अर्ब जति बक्यौता संकलन हुन बाँकी छ। बाँके कार्यालयलाई प्राधिकरणको उच्च तहबाटै बक्यौता असुलीमा दबाब आएपछि लाइन काट्न सुरु गरेको हो।