तमोर-ढुंगेसाँघु २२० केभी प्रसारणलाइनको डीपीआर तयार, तीन अर्ब रुपैयाँ लाग्ने

बिजमाण्डू
२०७९ चैत्र २३ गते ०७:१९ | Apr 6, 2023
तमोर-ढुंगेसाँघु २२० केभी प्रसारणलाइनको डीपीआर तयार, तीन अर्ब रुपैयाँ लाग्ने

काठमाडौं। तमोर-ढुंगेसाँघु २२० केभी डबल सर्किट प्रसारणलाइनको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले यो प्रसारणलाइनको डीपीआर तयार पारेको हो। कम्पनीका कर्मचारी आफैंले डीपीआर तयार पारेका हुन्। वातावरणीय प्रभाव मूल्यांकन अध्ययनको काम चलिरहेको छ।

वैशाखसम्म वातावरणीय अध्ययनको काम सक्ने र चालु वर्षभित्र प्रतिवेदन स्वीकृत गराइसक्ने लक्ष्य रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) नेत्र ज्ञवालीले बताए। उनका अनुसार स्रोत सुनिश्चितता भएमा आगामी असोज अगावै ठेक्का निकाल्ने तयारी छ। कम्पनीले ठेक्काका लागि बिडिङ डकुमेन्ट समेत तयारी पारिसकेको ज्ञवालीको भनाइ छ।

प्रस्तावित यो प्रसारणलाइन ताप्लेजुङको लेलेप (मार्गेन)देखि ढुंगेसाँघुसम्म निर्माण हुनेछ। तापेथोकमा तमोर सबस्टेसन निर्माण हुनेछ। यो सबस्टेसन २२०/१३२ केभी क्षमताको हुनेछ।

ढुंगेसाँघुमा नेपाल विद्युत प्राधिकरणको सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ। त्यहाँबाट इनरुवासम्म प्रसारणलाइन निर्माण भएको छ। यी बेसिनका विदयुत भविष्यमा भारतमा समेत निर्यात गर्न सक्ने सम्भावना छ। इनरुवा-पुर्निया ४०० केभी प्रसारणलाइन निर्माण गर्न लागिएको छ।

अहिले ढल्केबर-मुजफ्फरपुर ४०० केभी लाइनमार्फत मात्रै विद्युत भारत निर्यात हुन्छ। १३२ केभी लाइनबाट आयात हुने गरेपनि निर्यात गर्ने सहमति छैन।साना लाइनबाट निर्यात गर्ने प्रयास गरेपनि भारतले त्यसमा सहमति जनाएको छैन।

यो प्रसारणलाइनको सुरुवाती विन्दु तमोर सबस्टेसन हो भने अन्तिम विन्दु ढुंगेसाँघु सबस्टेसन हो। यो प्रसारणलाइन करिब ३० किमी हुनेछ।

अहिले नयाँ आयोजनाका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चितता रोकेको छ। सोही कारण ऋण लिने लगायतको विकल्प खोज्न लागिएको ज्ञवालीले बताए। उनका अनुसार स्रोत सुनिश्चित हुने बित्तिकै खरिद प्रक्रिया अघि बढ्नेछ।

यो प्रसारणलाइनले करिब ७०० मेगावाट विद्युत वहन गर्न सक्छ। घुन्सा खोला, सिम्बुवा खोला, तमोर बेसिनमा बन्ने आयोजनाका विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्छ। ‘ती बेसिनहरुमा करिब ७०० मेगावाट आयोजना बन्न लागेका छन्। तिनीहरुको विद्युत प्रणालीमा ल्याउन प्रसारणलाइन निर्माण गर्न लागेका हौं, ‘ ज्ञवालीले भने।

७७.५ मेगावाटको घुन्सा खोला र ७०.३४ मेगावाटको सिम्बुवाखोला जलविद्युत आयोजना  हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल), विद्युत उत्पादन कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरणले साझेदारीमा निर्माण गर्न लागेका छन्। यो आयोजनाहरु आगामी वर्षबाट निर्माण लैजाने तयारी छ। १६६ मेगावाटको सुपर तमोर  निर्माणको तयारी छ। प्रस्तावित आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ र ७ भएर बग्ने तमोर नदीमा निर्माण हुनेछ। क्रिष्टल पावर डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो।

यो प्रसारण आयोजना निर्माणका लागि करिब ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। तमोर नदीको बेसिनहुँदै  दोभान ढुंगेसाँघु प्रसारणलाइनको एलाइन्टमेन्ट रहेको छ। ताप्लेजुङभित्र नै पुरै प्रसारणलाइन निर्माण हुनेछ।

आयोजनाका कुल १८०० रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ। आयोजनाका  लागि चाहिने कुल जग्गामध्ये ६० प्रतिशत सामुदायिक वन र संरक्षित क्षेत्रको पर्दछ भने ४० प्रतिशत निजी जग्गा अधिग्रहण गर्नुपर्छ।

सबस्टेसनका लागि आवश्यक पर्ने ६० रोपनी जग्गा अधिग्रहण भइसकेको छ।  बाँकी जग्गा एकिन भइसकेको छ। कुल जग्गा अधिग्रहणका लागि २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

टावर र सबस्टेसनमा पर्ने जग्गाधनीले पुरै मूल्य पाउँछन् भने प्रसारणलाइन तल पर्नेले २० प्रतिशत मात्रै मुआब्जा पाउँछन्। आयोजनामा १०५ वटा टावर निर्माण हुनेछ। आयोजना कंचनजंघा संरक्षण क्षेत्रलाई समेत छुन्छ।  

 ठुलो संख्यामा रुख कटान गर्नुपर्छ।  करिब ५०० रोपनी क्षेत्रमा रुखहरु पर्छन्। रुख कटान र व्यवस्थापनका लागि ८ देखि १० करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ।