दुई वर्षदेखि सहकार्य गरिरहेको आयोगले नै क्रिप्टो एक्सचेन्ज बिनान्सलाई प्रतिबन्ध लगाउन मुद्दा दायर गर्‍यो

बिजमाण्डू
२०७९ चैत्र १४ गते ०९:५८ | Mar 28, 2023
दुई वर्षदेखि सहकार्य गरिरहेको आयोगले नै क्रिप्टो एक्सचेन्ज बिनान्सलाई प्रतिबन्ध लगाउन मुद्दा दायर गर्‍यो

अमेरिकी नियामकहरूले विश्वको सबैभन्दा ठूलो क्रिप्टो व्यापार प्लेटफर्म बिनान्सलाई अवैध रूपमा सञ्चालन भइरहेको दाबी गर्दै प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। 

Tata
GBIME
Nepal Life

कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसन (टिएफटिसी) ले बिनान्स विरुद्ध मुद्दा दायर गर्दै कम्पनी पूर्णतया अधिकारीक रुपमा दर्ता नभएपनि अमेरिकामा भने व्यापार सञ्चालन गरिरहेको दाबी गरेको छ। टीएफटीसीले मनी लाउन्डरिङ (सम्पति शुद्धिकरण) सहित थुप्रै अमेरिकी वित्तीय कानूनहरू तोडेको आरोप लगाएको छ।

यद्यपी बिनान्सले भने आरोपको प्रतिकार गर्दै प्लेटफर्ममा अमेरिकी प्रयोगकर्ताहरू सक्रिय छैनन् भनी सुनिश्चित गर्न “महत्त्वपूर्ण लगानी” गरेको बताएको छ। 

प्लेटफर्ममा अमेरिकी नागरिक पहिचान भएका वा अमेरिकी मोबाइल नम्बर भएका प्रयोगकर्ताहरूलाई ब्लक गर्ने लगायत संयन्त्र जडान छ।

पछिल्लो दुई वर्षदेखि टीएफटीसीसँग सहकार्य गरिरहेता पनि आफू माथि मुद्दा दर्ता हुनु अप्रत्याशित र निराशाजनक रहेको बिनान्सको जिकिर छ।

सन् २०१७ मा स्थापित कम्पनी अहिले डिजिटल सम्पत्तिहरूको लागि विश्वको सबैभन्दा ठूलो एक्सचेन्ज हो। एक्सचेन्जमा १० करोडभन्दा बढी प्रयोजकर्ता आबद्ध छन्। जसको नेतृत्व चिनियाँ मूलका क्यानेडियन अर्बपति चाङपेङ झाओले गरेका छन्। उनको नाम पनि उजुरीमा परेको छ।

टीएफटीसीका अनुसार, बिनान्स सन् २०१९ देखि अमेरिकामा सक्रिय छ। तर निगरानीबाट बच्नको लागि कम्पनीले जानीजानी अपारदर्शी संरचना प्रयोग गरिरहेको थियो।

सञ्चालनमा आएको धेरै समयसम्म पनि बिनान्सले आफ्ना ग्राहकहरूलाई कारोबार गर्नुअघि कुनै पनि पहिचान प्रमाणीकरण गर्न शर्त राखेको थिएन। जसबारे टीएफटीसीले इलिनोइसको संघीय अदालतमा दायर गरेको सार्वजनिक मुद्दामा जिकिर गरेको छ।

बिनान्सले सन् २०२१ मा आफ्ना नियमहरू कडा गरिरहेको घोषणा गरेको पनि थियो। तर सोहि समय बिनान्सले अमेरिकी प्रयोगकर्ताहरूलाई भीपीएन जस्ता उपकरणको सहायता लिन सुझाएको थियो। कम्पनीले नाफा वृद्धि गर्न कसरी नियमहरुको उलङघन गर्ने बारे सल्लाह दिएको टीएफटीसीको आरोप छ।

टीएफटीसीले अमेरिकी अदालतमा क्षतिपूर्ति र जरिवानाका साथै स्थायी रुपमा व्यापार प्रतिबन्द र दर्ता खारेजीको माग राख्दै मुद्दा दर्ता गराएको हो।