हिरोले प्रिमियम इलेक्ट्रिक सेग्मेन्ट उत्पादन गर्ने, जेरो मोटरसाइकलसँग साझेदारी सम्झौता

बिजमाण्डू
२०७९ फागुन २३ गते १३:२९ | Mar 7, 2023
हिरोले प्रिमियम इलेक्ट्रिक सेग्मेन्ट उत्पादन गर्ने, जेरो मोटरसाइकलसँग साझेदारी सम्झौता

काठमाडौं। हिरो मोटोकर्पले प्रिमियम इलेक्ट्रिक बाइक उत्पादन गर्ने भएको छ। यसका लागि कम्पनीले अमेरिकी कम्पनी जेरो मोटरसाइकलसँग साझेदारी सम्झौता गरेको छ।

Tata
GBIME
Nepal Life

दुई पाङ्ग्रे सवारी उत्पादनमा हिरो मोटोकर्प संसारकै अग्रणी कम्पनी हो। प्रिमियम इलेक्ट्रिक मोटरसाइकल उत्पादनको क्षेत्रमा काम गर्न भने हिरोले क्यालिफोर्नियामा रहेको जेरो मोटरसाइकलसँग सहकार्य गर्ने घोषणा गरेको हो। दुवै कम्पनी प्रिमियम सेग्मेन्टमा विद्युतीय मोटरसाइकल उत्पादन गर्न एकै ठाउँमा उभिएका छन्।

हिरो मोटकर्पले उक्त बाइकको उत्पादन, सोर्सिङ र मार्केटिङमा काम गर्ने छ भने जेरो मोटरसाइकलले विद्युतीय सेग्मेन्टमा शक्तिशाली बनाउन आफ्नो विशेषज्ञता प्रयोग गर्नेछ।

हिरोले यो बाइकको उत्पादनसँगै आफ्नो इलेक्ट्रिक भेहिकलको सेगमेन्टलाई पुरै नयाँ स्तरमा पुर्‍याउने जनाको छ।

ब्रान्डले सेप्टेम्बर २०२२ मा जेरो मोटरसाइकलमा हिरो मोटोकर्पको बोर्डबाट ६० मिलियन अमेरिकी डलरसम्मको इक्विटी लगानी स्वीकृत गरेको घोषणा गरेको छ। जेरो मोटरसाइकल इलेक्ट्रिक बाइक उत्पादनमा विश्‍वव्यापी रूपमा परिचित छ।

‘जेरो मोटरसाइकलसँगको हाम्रो साझेदारी गतिशीलता स्पेसमा दिगो स्वच्छ प्रविधिको युगमा प्रवेश गर्ने हाम्रो यात्रामा एउटा महत्त्वपूर्ण कोसे ढुंगा हो,’ हिरो मोटोकर्पका अध्यक्ष र सीईओ पवन मुंजालले भने, ‘जेरोलाई हाम्रो साझेदारको रूपमा हामी भारत र हाम्रो विश्वव्यापी बजारहरूमा विद्युतीय गतिशीलताको संक्रमणलाई तीव्रता दिन तत्पर छौं।’

कम्पनीले यसअघि नै डेडिकेटेड इभी ब्रान्ड भिडा र भिडा भी-१ इलेक्ट्रिक स्कुटर ल्याएको छ। यसले बेंगलुरु, दिल्ली र जयपुरमा सार्वजनिक चार्जिङ पूर्वाधारको सञ्चालन पनि सुरु गरेको छ। यसले सार्वजनिक प्रयोगको लागि तीन सहरहरूमा लगभग ३०० चार्जिङ पोइन्टहरू लगाएको छ।

‘विश्वको सबैभन्दा ठूलो मोटरसाइकल निर्माता हिरो मोटोकर्पलाई हाम्रो साझेदारको रूपमा पाउँदा हामी खुसी छौं। हाम्रा कम्पनीहरू दुवै सवारी अनुभवलाई परिवर्तन गर्न र विश्वमा उल्लेखनीय, नवीन उत्पादनहरू ल्याउन प्रतिबद्ध छन्,’ जेरो मोटरसाइकलका सीईओ साम पाशेलले भने।

यसरी हिरो र जेरोको सहकार्यमा निर्माण हुने इलेक्ट्रिक बाइकले एक पटकको फुल चार्जमा २२९ किलोमिटरसम्मको माइलेज दिने बनाइने जनाइएको छ।