दूरसञ्चार प्राधिकरणलाई गम्भीर बन्न सञ्चार मन्त्री शर्माको आग्रह, ‘गुणस्तरमा गुनासो आएका छन्’

बिजमाण्डू
२०७९ फागुन २० गते १४:४३ | Mar 4, 2023
दूरसञ्चार प्राधिकरणलाई गम्भीर बन्न सञ्चार मन्त्री शर्माको आग्रह, ‘गुणस्तरमा गुनासो आएका छन्’

काठमाडौं। सेवाग्राहीबाट आइरहेका गुनासोलाई सम्बोधन गर्न सेवा प्रदायकका साथै नियामक नेपाल दूरसंचार प्राधिकरण पनि उत्तिकै गम्भीर बन्न संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आग्रह गरेकी छन्।

Tata
GBIME
Nepal Life

प्राधिकरणको २५‍‌औं वार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा आयोजित समारोहमा मन्त्री शर्माले सेवालाई गुणस्तरीय र यस क्षेत्रलाई आवश्यक विकास गर्न आवश्यक कानुन निर्माणमा मन्त्रालय जिम्मेवारी रहेको बताइन्।

प्राधिकरण स्थापनाकालकै कानुन परिवर्तित सन्दर्भमा मेल नखाइरहेको भन्दै त्यसलाई परिमार्जन गर्ने उद्‍घोष उनले गरिन्। स्थापनाकालकै कानुन अहिले पनि प्रयोगमा रहेको भन्दै उनले त्यसलाई समयसापेक्ष बनाउने बताएकी छन्।

सेवाको गुणस्तरदेखि तार व्यवस्थापन लगायतका काम गर्न मन्त्रालय सेवा प्रदायकहरुसँग छलफल गर्न तयार रहेको बताउँदै उनले समस्या समाधान गर्न आवश्यक कानुन निर्माणमा सघाउ पुग्ने बताइन्। सेवा प्रदायकहरुसँग छलफल गरेर काम अघि बढाउँदा प्रश्न उठ्ने जोखिम कम हुने बताउँदै उनले अहिलेबाटै ठूला सहरहरुबाट तार व्यवस्थापनको काम सुरु गर्नुपर्ने बताएकी हुन्।

यस्तै, नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सेवा प्रदायकहरुलाई सेवा सुधारमा गम्भीर बन्न सचेत गराएका छन्। बारम्बार प्राविधिक समस्या भन्दै पन्छिने गरेका सेवा प्रदायकमाथि अब कडाइका साथ अनुगमन गर्ने उनले बताए।

बढी भीड हुने स्थानहरुमा स्थलगतरुपमै पुगेर प्राधिकरणले सेवा प्रदायकहरुको गुणस्तर परीक्षण गरेर प्रतिवेदन सार्वनजनिक गर्ने खनालले घोषणा गरे। हालैका दिनहरुमा सेवा बारम्बार अवरुद्ध भइरहेको गुनासो व्यापक भएको बताउँदै खनालले प्राविधिक घटना भन्दै बलजफ्ती व्याख्या नगर्न चेतावनी दिएका छन्।