भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले किन एकै पटक २० सहसचिवको जिम्मेवारी हेरफेर गरे ?

शुक्र गिरी
२०७९ फागुन ४ गते ०७:५१ | Feb 16, 2023
भौतिकमन्त्री नारायणकाजी श्रेष्ठले किन एकै पटक २० सहसचिवको जिम्मेवारी हेरफेर गरे ?

काठमाडौं। मंगलबार उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एकै पटक २० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरे।

Tata
GBIME
Nepal Life

भौतिक पूर्वाधार मन्त्रालयले यति ठुलो संख्यामा सहसचिवहरुको सरुवा गरेको सम्भवत: यो पहिलो पटक हो। नयाँ मन्त्री आएसँगै उनले कर्मचारीको सेट नै परिवर्तन गरेका छन्। आफ्नो स्पीड अनुसार काम हुन नसकेको भन्दै उप्रधानमन्त्री श्रेष्ठले कर्मचारीको सेट परिवर्तन गरेका हुन्।

यो मन्त्रालय सबैभन्दा ठूलो बजेट भएको विकासे मन्त्रालय हो। विकासको पूर्वाधारमा काम गरिरहेको सबैभन्दा ठुलो सरकारी निकाय सडक विभाग हो। विभागमा महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका अर्जुनजंग थापालाई मन्त्रालय पठाइएको छ।

उनको ठाउँमा सुशीलबाबु ढकाललाई ल्याइएको छ। ढकाल आयोजना कार्यान्वयन निर्देशनालय (एडीबी) प्रमुखको जिम्मेवारी सम्हालिरहेका थिए। मन्त्रालयका एक अधिकारीका अनुसार ढकालको घर गोरखा हो। मन्त्री श्रेष्ठ पनि गोरखाका हुन्। उनले आफू निकटका व्यक्तिलाई महानिर्देशकको जिम्मेवारी दिएका छन्।

नयाँ मन्त्री आएपिचच्छे आफु अनुकुलको कर्मचारी ल्याउने चलन छ। यो मन्त्रालय ‘मालदार’ भन्ने गरिन्छ। आफु निकटका व्यक्ति ल्याउँदा मन्त्रीहरुलाई पैसा उठाउन समेत सजिलो हुन्छ।

उनले केही दिन पहिले मात्रै यातायात व्यवस्था विभागका महानिर्देशक फेरेका थिए। विभागको जिम्मेवारी डा.टोकराज पाण्डेले पाएका थिए। तर पाण्डेले काम गर्न नसकेको रिपोर्टिङ मन्त्री श्रेष्ठलाई गरियो। ‘उनी कामभन्दा धेरै लोकसेवाको कुरा गर्ने रहेछन्। विभागमा दिनभरि लोकसेवा पढाइका विषयमा कुरा गरेर दिन बिताउने गरेको रिपोर्टिङ आयो,’ मन्त्रालयका एक अधिकारीले भने,’ विभागमै निर्देशक भएर काम गरेका व्यक्ति भनेर हेरिएको हो। नसकेपछि सरुवा गरिएको हो।’ उनको ठाउँमा तुलसीनाथ गौतमलाई जिम्मेवारी दिइएको छ।

यातायातभित्र विकृतिको चाङ छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत समयमा छापेर दिन नसकेको भन्दै आलोचना हुने गरेको छ।

केही समय अघि मन्त्रालयमा कार्यरत ७ जना उपसचिव सहसचिवमा बढुवा भएका थिए। उनीहरुलाई विभिन्न स्थानमा पदस्थापन गरिएको छ।

तीब्र गतिमा काम गर्ने गरी योजना बनाएर अघि बढ्न लागिएकाले जिम्मेवारी हेरफेर गरिएको एक सहसचिवले बताए। अपेक्षा अनुसार काम नभएको मन्त्री श्रेष्ठले महशुस गरेपछि सरुवा भएको ती सहसचिवको दाबी छ। ‘मन्त्रीज्युले काम गर्न सहज वातावरण नभएको बताउँदै सचिव तथा विभागका महानिर्देशकहरुसँग सुझाव माग्नुभएको थियो,’ ती सहसचिवले भने, ‘ कुन निकाय कसलाई सरुवा गर्दा काम गर्ने वातावरण बन्छ भनेर लिस्ट तयार पारेर सरुवा गरिएको हो।’

त्यही अनुसार सडक विभागको महानिर्देशक, पुल, योजना, ट्राफिक, विकास सहायता, गुणस्तरलगायत सबै निकायमा नयाँ आएका छन्। तर मन्त्रीले मन्त्रालय बोलाएका सहसचिवहरुको भने जिम्मेवारी तोकिसकेका छैनन्। थप छलफल र सल्लाहमा छिट्टै जिम्मेवारी तोकिने मन्त्रालयका एक अधिकारीले बताए।

सबैभन्दा ठुलो विकासे मन्त्रालयको विकास खर्च वर्षेनि घट्दो छ। पछिल्लो ६ महिनामा मन्त्रालयको पुँजीगत खर्च ३१ प्रतिशतभन्दा कम छ। राष्ट्रिय गौरव आयोजनाका खर्च निराशाजनक छन्। ६ महिनामा सबै राष्ट्रिय गौरव आयोजनाका खर्च कुल १५ प्रतिशत मात्र भएको छ। यस्ता आयोजनामा पूँजीगततर्फ १४ अर्ब ५ करोड १६ लाख रुपैयाँ मात्र खर्च भएको मन्त्रालयको प्रगति विवरणले देखाउँछ।

पछिल्लो ३ वर्षको तथ्यांक हेर्दा सडक विभागले कुनै पनि वर्ष दुई तिहाईभन्दा बढी बजेट खर्च गर्न सकेको छैन।पुँजीगत खर्चको यस्तो कमजोर परिस्थितिलाई सामना गर्न मन्त्री श्रेष्ठले आफ्नो काम गर्ने निकायहरुमा कर्मचारीहरु परिवर्तन गरेका ती सहसचिव बताउँछन्। ‘मन्त्री श्रेष्ठले केही योजना बनाएर यस्तो गर्नुभएको हो,’ ती सह-सचिवले भने, ‘विकास खर्च बढाउनेदेखि अन्य कुरामा सुशासन ल्याउनेसम्मको काम गर्ने मन्त्रीज्युले योजना बनाउनुभएको छ।’ दुई महिनाको अवधिमा सोचे अनुसार काम नभएपछि मन्त्री कर्मचारी चलाउनुपर्ने निष्कर्षमा पुगेका हुन्।

मन्त्रालयका सचिव केशव कुमार शर्माले भने यो नियमति सरुवा भएको बताए। उनका अनुसार एक महिनादेखि ७ जना सहसचिवमा बढुवा भएर जिम्मेवारीविहीन अवस्था थिए। उनीहरुको पदस्थापना गरिएको हो। ‘भर्खरै बढुवा भएका जुनियर सहसचिवहरुलाई सिनियरभन्दा माथि राख्न मिलेन। त्यही भएर ७ जनाको पदस्थापना गर्दा धेरैको सरुवा भएको हो,’ उनले भने, ‘नचलाउँदा नबिग्रने ठाउँमा चलाएकै छैन।’

कसलाई कुन निकायको जिम्मेवारी ?

सडक विभागका उपमहानिर्देशक तथा योजनाको जिम्मेवारी सम्हालिरहेकाम भीमार्जुन अधिकारीलाई मन्त्रालय तानिएको छ। उनको स्थानमा रामहरि पोखरेललाई ल्याइएको छ। पोखरेल विभाग मातहतको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए।

मन्त्रालयमा रहेका अजयकुमार मुललाई सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको प्रमुखमा सरुवा गरिएको छ। यस्तै विनोदकुमार मौवारलाई आयोजना समन्वयकर्ताका रुपमा जलमार्ग आयोजनामा सरुवा गरिएको छ।

अर्जुनप्रसाद अर्याललाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंमा सरुवा गरिएको छ। ज्ञानेन्द्रकुमार झालाई सडक सुधार तथा विकास आयोजना निर्देशनालयको निर्देशकमा सरुवा गरिएको छ। उनलाई त्यहाँ काजमा खटाइएको मन्त्रालयले जनाएको छ।

राजेन्द्रप्रसाद दासलाई सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाको निर्देशकमा सरुवा गरिएको छ। उनलाई पनि मन्त्रालयले काजका रुपमा सरुवा गरेको छ।

यस्तै, मदन भण्डारी राजमार्ग आयोजनाको निर्देशकमा बेलबहादुर भुजेल, यान्त्रिक तालिम केन्द्रको प्रमुखमा अरुणकुमार कटुवाल, एडीबी आयोजना निर्देशनालको निर्देशकमा उमेश विन्दु श्रेष्ठ, विकास सहायता कार्यन्वयन महाशाखाको प्रमुखमा डा. विजय जैसीलाई सरुवा गरिएको छ। डा.जैसी संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंको जिम्मेवारी सम्हालिरहेका थिए।

मन्त्रालयका अनुसार प्रभातकुमार झालाई मर्मत तथा सम्भार महाशाखाको प्रमुख, पुल महाशाखा प्रमुखमा नरेशमान शाक्य, नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण आयोजना निर्देशकमा नविनमान श्रेष्ठ, सडक तथा ट्राफिक सुरक्षा आयोजना समन्वयकर्तामा पूर्वकुमार राई, हुलाकी राजमार्ग आयोजना निर्देशनालयको निर्देशकमा चुडाराज ढकाल सरुवा भएका छन्।

यसैगरी, धर्मेन्द्रकुमार झालाई यातायात मन्त्रालय र रवीन्द्रलाल दासलाई सडक विभाग पुल महाशाखामा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।