तोयम राया अर्थमा, वाणिज्य सचिवमा मधु मरासिनीलाई स्वागत गरिँदै

बिजमाण्डू
२०७९ पुष २२ गते १२:२२ | Jan 6, 2023
तोयम राया अर्थमा, वाणिज्य सचिवमा मधु मरासिनीलाई स्वागत गरिँदै

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य सचिव तोयम रायालाई बिदाइ गरेको छ। राया बिहीबार अर्थसचिवमा नियुक्त भएपछि मन्त्रालयबाट बिदाइ भएका हुन्।

Tata
GBIME
Nepal Life

बिहीबारको मन्त्रिपरिषद् बैठकले वाणिज्य सचिवको जिम्मेवारीमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासिनीलाई जिम्मेवारी दिएको छ। मरासिनी पूर्व अर्थमन्त्री जनार्दन शर्माको समयमा शिशिर ढुंगानालाई प्रतिस्थापन गर्दै अर्थ सचिव बनेका थिए। बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णयबाट आफूलाई वाणिज्य सचिवको जिम्मेवारी दिएको सचिव मरासिनीले जानकारी दिए।

चालु वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति अर्थ मन्त्रालय प्रवेशको विषयमा मन्त्रीलाई असहयोग गरेको भन्दै उनलाई सरुवा गरिएको थियो। सरकार परिवर्तन हुने बित्तिकै मरासिनीलाई वाणिज्य सचिवको जिम्मेवारी दिइएको हो।  

मरासिनी राजस्वका क्याडर हुन्। विशेषगरी अर्थ मन्त्रालयमा काम गरेका कर्मचारीहरु अर्थपछि वाणिज्य मन्त्रालयमा काम गर्न रुचाउँछन्। यसकारण पनि मरासिनीले वाणिज्य मन्त्रालय रोजेका हुन्। यसो त उनी अर्थ सचिवमा नै दोहोरिन निकै जोडबल गरेका थिए। तर उनी त्यसमा सफल भने हुन सकेनन्।  

हुलाकबाट निजामती सेवामा प्रवेश गरेका मरासिनी केही समयभित्रै राजस्व सेवामा प्रवेश गरेका हुन्। उनले २५ वर्षदेखि अर्थ मन्त्रालयअन्तर्गत सेवा गरेका थिए। अर्थ मन्त्रालयको बजेट महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा उनले नेतृत्व गरिसकेका छन्।

मरासिनीले अष्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयू) बाट अन्तर्राष्ट्रिय विकास अर्थशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्। कानुनमा स्नातक र अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट एक्जुकेटिभ एजुकेसनमा स्नातकोत्तर गरेका छन्। उनी न्युयोर्कका महावाणिज्यदूतसमेत भइसकेका छन्।