वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकले निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना गर्दै

बिजमाण्डू
२०७९ पुष २१ गते १०:३३ | Jan 5, 2023
वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकले निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना गर्दै

काठमाडौं। ग्लोबल आइएमई बैंकले १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तिकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ संचालन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

बैंकले हरेक प्रदेशमा शुक्रबारदेखि साताव्यापी एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्ने जनाएको छ। शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु जस्तै महिलाहरुको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआइए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराउने बैंकले जनाएको छ।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका ५ जना गम्भीर बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्था भएका १ जना गम्भीर बिरामी पहिचान गर्नेछ र जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बताइएको छ।

नेपाल परिवार नियोजन संघसँगको प्राविधिक सहयोग तथा सम्बन्धित गाउँपालिका/नगरपालिकाको समन्वयमा सम्पन्न हुने यस कार्यक्रमअन्तर्गत प्रदेश १ को इलाम नगरपालिका वडा नं. १, साँखेजुंग स्थित वडा कार्यालयको प्राग्रणमा पौष २२ गते, मधेस प्रदेशको रौतहटको फतुवा विजयपुर नगरपालिक वडा नं. ७ स्थित रौतहट प्राथमिक उपचार केन्द्रमा पुस २२ गते स्वास्थ्य शिविर आयोजना हुँदैछ।

यस्तै, वाग्मती प्रदेशको दोलखाको कालिन्चोक गाउँपालिका वडा नं. ६, लापिलांगस्थित पारच्याङ स्वास्थ चौकीमा पुस २२ गते, गण्डकी प्रदेशको बागलुङको निसिखोला गाउँपालिका–३, झिवाखोलास्थित बोहोरा गाउँ स्वास्थ चौकीमा पुस १६ गते र लुम्बिनी प्रदेशको रोल्पाको रुन्टीगढी नगरपालिका, होलेरीस्थित होलेरी प्राथमिक स्वास्थ केन्द्रामा पुस २२ गते स्वास्थ्य शिविर आयोजना गरिने बैंकले जनाएको छ।

कर्णाली प्रदेशको सुर्खेतको लेकबेसी नगरपालिका वडा नं ६, कल्याणस्थित कल्याण स्वास्थ चौकीमा पुस २५ गते र सुदूरपश्चिम प्रदेशका डोटीको जोरायाल नगरपालिका वडा नं. ५ खहडास्थित गडशेरा स्वास्थ चौकीमा पुस २३ गते निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने बैंकले जनाएको छ।

स्वास्थ्य शिविरले ग्रामीण तथा अर्द्धसहरी क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ।