काठमाडौं। तरलता अभावसँगै सुरु भएको आर्थिक मन्दीले नगद कारोबार ह्वात्तै घटेको छ। दसैंतिहारमा बाँडिएको नोट प्रणालीमा फिर्ता मात्रै आएको छैन, नोटको कारोबार असारतिरकै स्तरमा पुगेको छ।
राष्ट्र बैंकले मंसिरसम्मको तथ्यांक सार्वजनिक गर्दै चलनचल्तीमा रहेको नोट घटेको जनाएको छ। मंसिरमा आउँदा कुल चलनचल्तीमा ६ खर्ब १६ अर्ब ५४ करोड ९७ लाख रुपैयाँको नोट छन्।
दसैंमा जनताका हात-हातमा ६ खर्ब ४९ अर्ब ४२ करोड २७ लाख रुपैयाँ पुगेको थियो। कात्तिक लागेपछि बिस्तारै ती नोट फर्किरहेको थियो। कात्तिकमा १८ अर्ब ३५ करोड ४६ लाख रुपैयाँ फर्कियो भने मंसिरमा थप १४ अर्ब ५१ करोड ८४ लाख रुपैयाँ फर्किएको छ।
विगतमा पनि दसैंतिहारमा गएको नोट बिस्तारै प्रणालीमा फर्किन्थ्यो, तर अहिलेको स्तरमा भने फर्किँदैनथ्यो।
आम सर्वसाधारण, सहकारी संस्था, अन्य फर्म तथा कम्पनीसँग रहेको पैसालाई चलनचल्तीमा रहेको नोटका रुपमा गणना गरिन्छ। बैंकमा जम्मा गरेको पैसा भने चलनचल्तीको पैसामा गणना हुँदैन।
'मन्दीले नगद कारोबार नै घटेको छ भन्ने तथ्यांकले पुष्टि गर्छ,' राष्ट्र बैंकबाट अवकाश एक कार्यकारी निर्देशकले भने, 'दसैंपछि बिस्तारै पैसा फिर्ता त हुन्थ्यो तर यो स्तरमा हुँदैनथ्यो। अहिले भने मान्छेको क्रयशक्ति घटेर पनि हातमा पैसा नटिकेको हो।' महँगीका कारण थोरै सामान किन्न पनि धेरै बुझाउनुपर्ने अवस्था आएकाले मान्छेको हातमा पैसा टिक्न छाडेको उनले बताए।
मिति | रकम (रु. लाखमा) |
२०७९ मंसिर | 6165497 |
२०७९ कात्तिक | 6310681 |
२०७९ असोज | 6494227 |
२०७९ भदौ | 5943015 |
२०७९ साउन | 5999775 |
२०७९ असार | 6163510 |
अहिले चलनचल्तीमा रहेको पैसा गत असारकै हाराहारी हो। असारमा ६ खर्ब १६ अर्ब ३५ करोड १० लाख रुपैयाँ चलनचल्तीमा थियो। साउन र भदौमा थप घटेको थियो। असोजमा दसैं परेका कारण मान्छेका हातमा अलि बढी पैसा गएको थियो।
भदौको तुलनामा ५५ अर्ब १२ करोड १२ लाख रुपैयाँभन्दा बढी गएको थियो। यो बेला निजीदेखि सरकारीसम्मले कर्मचारीलाई दसैं बोनस भन्दै दोब्बर तलब दिन्छन्। विदेशमा काम गर्ने नेपालीहरुले पनि अलि बढी रेमिटेन्स पठाउँछन्। असोजमा ९४ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।
मन्दीको असर नगद कारोबारमा मात्रै होइन विद्युतीय भुक्तानीमा समेत परेको छ। आरटीजीएसदेखि अन्य कारोबारमा पनि शिथिलता आएको छ।
'अहिले मन्दीकै अवस्था हो। यसलाई राष्ट्र बैंकले बोलीमा स्वीकार गर्न मात्र नसकेको हो,' ती पूर्व कार्यकारी निर्देशकले भने, 'तथ्यांकले भने मन्दी हो भनेर पुष्टि गरिसकेको छ।' उनका अनुसार, उधारोको चक्र ३० देखि ४५ दिनबाट बढेर ९ महिना पुग्नु, उत्पादन घट्नु, ऋणको माग नहुनु, नयाँ लगानी नआउनु, एकोहोरो मूल्यवृद्धि उकालो लाग्नु र आर्थिक वृद्धिदर खस्किनु नै मन्दी हो।
आर्थिक मन्दीले उत्पादनसँगै माग पनि घट्न थालेको र ऋण तिर्ने क्षमतामा गिरावट आएपछि नव गठित सरकारको पहिलो निर्णय नै अर्थतन्त्र गतिशील बनाउने भन्ने छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले 'वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने' निर्णय गरेको छ। यसमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सही गरेका छन्।