
काठमाडौं। विष्णुप्रसाद पौडेल अर्थमन्त्री बन्ने निश्चित भएपछि सेयर बजारले सोमबार फराकिलो छलाङ मारेको छ। माओवादी नेतृत्वको गठबन्धन दलको सरकारमा एमालेका तर्फबाट पौडेल तेस्रो पटक अर्थमन्त्री बन्न लागेका हुन्।
उनी आउने निश्चित भएपछि सोमबार परिसुचकले ५७ अंकको फड्को मारेको छ। करिब डेढ महिनापछि बजारले यस्तो वृद्धि अनुभव गरेको जनाकारहरु बताउँछन्। बजारको कन्फिडेन्स पुनरागमन हुँदा कारोबार २ अर्ब रुपैयाँ नाधेको हो।
पौडेल अर्थमन्त्रीमा हुँदा सेयर बजारले सकारात्मक लय समात्ने गरेको पुरानो रेकर्ड छ। नेकपा एमालेको नेतृत्वमा पौडेल अर्थमन्त्री भएकै बेला सेयर बजारले यसअघिको बुलिस हाई बनाएको थियो। त्यो बेला सूचक १८८० सम्म पुगेको हो।
त्यसपछि माओवादी र कांग्रेसको सरकार बन्दा पुँजीबजार निकै सेलाएको थियो। जुन नेकपा एमालेले पुन: बागडोर सम्हाले लगत्तै सुधारिएको थियो। ११ सय सम्म पुगेको बजारले एमाले कार्यकालमा ३ हजार विन्दु पार गरेको हो।
विशेषगरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र विष्णु प्रसाद पौडेल अर्थमन्त्री हुँदा सेयर बजारले उकालो लय समाउने गरेको रेकर्ड छ। ओली सरकारले हालका गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो।
एमालेले नै अर्थ सम्हाल्ने भएपछि गभर्नर अधिकारीको पनि सहयोगी भूमिकामा हुने जानकारहरु बताउँछन्। ब्याजदर र चालु पुँजी कर्जा सम्बोधन हुने उनीहरुको अपेक्षा हो।
तर गभर्नर अधिकारी कै अप्रिय नीति ४/१२ का कारण सेयर बजार उँधो लाग्न सुरु गरेको विश्लेषकहरु तर्क समेत गर्छन्। स्रोतका अनुसार अर्थमन्त्री पौडेल र गभर्नरबीच समन्वय भएर अहिलेेको समस्या समाधान हुने अपेक्षाले बजारले उकालो बाटो तय गरेको हो। अर्थमन्त्री पौडेल समन्वयकारी भूमिका निभाउन सक्ने राजनीतिज्ञको रुपमा चिनिन्छन्।
अहिलेको ब्याजदर र चालु पुँजी कर्जा सम्वन्धि निर्देशिका समेत गभर्नरलाई आश्वस्त पारेर समाधान गर्नसक्ने धेरै लगानीकर्ताको विश्वास छ। त्यही विश्वासका कारण बजार बुलिस ट्रेन्ड समात्ने अनुमान छ। 'अहिले बजारलाई कन्फिडेन्स चाहिएको हो। कन्फिडेन्ससँगै गभर्नरसँग समन्वय गर्न सक्ने अर्थमन्त्री आउने भएकाले बजार उकालो लागेको हो, एक लगानीकर्ताले भने।