राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटवल जाँदै, राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्ने

बिजमाण्डू
२०७९ पुष ७ गते १०:५२ | Dec 22, 2022
राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटवल जाँदै, राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्ने


काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी आज बुटवल आउने भएकी छिन्। रूपन्देही उद्योग संघको आयोजनामा आजदेखि सुरु हुने १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटन गर्न राष्ट्रपति भण्डारी बुटवल जाने भएकी हुन्।

Tata
GBIME

भण्डारीले आज दिउँसो १ बजे बुटवल उपमहानगरपालिका-१० स्थित बुटवल मण्डपमा प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम रहेको रूपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिए।

राष्ट्रपति आउने भएपछि बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको छ। उद्घाटन कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालको पनि उपस्थिति रहने संघले जनाएको छ।

निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको प्रदर्शन स्थलमा पहिलोपटक प्रदर्शनी हुँदैछ।

‘संमृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीको सबै तयारी तयारी पूरा भएको संघले जनाएको छ। यस पटकको प्रदर्शनीमा ७ लाख दर्शकले अवलोलकन गर्ने र २५ करोडको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ।

प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फलोरीकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका ४५० वटा स्टल रहने छन्।

प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, गायकगायिका,  हाँस्य कलाकार र ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, टिकटक ट्यालेन्ट हन्ट, भजन प्रतियोगिता लगायतका प्रतियोगिताहरु हुनेछन्।