आइपीओ ल्याउँदै गरेको रिलायन्स स्पिनिङ मिल्सको कारोबार एकैवर्ष करिब सवा १० अर्ब

उन्नत सापकोटा/बिजमाण्डू
२०७९ पुष ३ गते १५:१९ | Dec 18, 2022
आइपीओ ल्याउँदै गरेको रिलायन्स स्पिनिङ मिल्सको कारोबार एकैवर्ष करिब सवा १० अर्ब

काठमाडौं। प्रिमियममा आइपीओ जारी गर्ने तयारीमा रहेको रिलायन्स स्पिनिङ मिल्सले एकैवर्ष १० अर्ब १० करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ। गोल्याण र एमएस समूहको संयुक्त लगानी यो कम्पनीमा छ।

Tata
GBIME

वार्षिक ४० हजार ६८० टन उत्पादन क्षमता रहेको यो उद्योगले २०२१/२२ मा १० अर्ब बढीको कारोबार गरेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ। यो अघिल्लो वर्षको तुलनामा २९.६५ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष २०२०/२१ मा कम्पनीले ७ अर्ब ७९ करोड २० लाख रुपैयाँ र २०१९/२० मा ६ अर्ब २६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो।
आफूले उत्पादन गर्ने प्रिमियम प्रडक्टको बिक्री बढ्दा कम्पनीको व्यापारमा उछाल देखिएको छ।

कम्पनीले आफ्नो उत्पादनको निर्यात पनि बढाउन सफल भएको छ। सरकारले निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने घोषणा गरेसँगै कम्पनीले २०२२ मा २१ करोड ४० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। २०२१ मा यो १६ करोड ८० लाख रुपैयाँ बराबरको थियो।

कम्पनीले भारत र टर्कीमा आफ्नो उत्पादन निर्यात गरिरहेको छ। कुल बिक्रीको ७०-७५ प्रतिशत हिस्सा सिन्थेटिक धागो निर्यातले ओगटेको रेटिङ विवरणमा उल्लेख छ। सुनसरीको खनार र दुहबीमा दुईवटा प्लान्ट रहेको कम्पनीले पोलिस्टर, भिस्कोस, एक्क्रिलिक/ब्लेन्डेड र पोलिस्टर टेक्सचर्ड यार्न्स उत्पादन गर्दै आएको छ।

उद्योगले ३ हजार भन्दा बढीलाई रोजगारी दिइरहेको छ। यसबाहेक रिलायन्स स्पिनिङ आफै‌ंमा मुलुकको सबैभन्दा ठुलो धागो उत्पादन उद्योग हो।

कम्पनीको अध्यक्ष पवनकुमार गोल्याण हुन् भने उपाध्यक्ष शशिकान्त अग्रवाल छन्। प्रबन्ध निर्देशक भने अक्षय गोल्याण हुन्।

कम्पनीले ८ अर्ब ९५ करोड रुपैयाँ बैकिङ कर्जाका लागि रेटिङ पुन:पुष्टि गराएको छ। ३ अर्ब ८७ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी ए माइनस र ५ अर्ब ८ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एटु प्लस रेटिङ पाएको छ। 
यस्तै, आइपीओ निष्कासन गर्न कम्पनीले एनपी ए माइनस रेटिङ पाएको छ। 

आइपीओ जारी गर्नुअघि बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले रिलायन्स स्पिनिङ मिल्सको प्रतिकित्ता सेयर मूल्य ७२९.९८ रुपैयाँ मूल्या‌ंकन गरेको छ।

धागो उत्पादन गर्ने कम्पनीको उपस्थिति नेपाली बजारमा निकै कम छ। अहिलेसम्म जय स्पिनिङ मील्स, जगदम्बा स्पिनिङ मिल्स, त्रिवेणी स्पिनिङ मिल्स र रिलायन्स गरी मात्र चारवटा धागोजन्य कम्पनी संचालनमा छन्।

यसले धागो उद्योगहरुबीच सीमित प्रतिस्पर्धीको अल्पाधिकार (ओलिगोपोली) बजार रहेको प्रष्ट देखिन्छ। यसैले धागो उत्पादनको क्षेत्रमा थोरै मात्र प्लेयर हुँदा व्यवसाय सीमित उद्योगमा बाँडिने अवस्था छ। परिणामस्वरूप यस्तो ओलिगोपोली बजारको फाइदा रिलायन्स स्पिनिङ मिल्सले आगामी समय थप उठाउन सक्ने देखिन्छ।

यस्तै, कम्पनीले कुल १९ लाख २६ हजार कित्ता आइपीओ जारी गर्दैछ। धितोपत्र बोर्डसमक्ष रिलायन्स स्पिनिङ मिल्सले ७ लाख ७० हजार कित्ता निष्काशनको अनुमतिसहित निवेदन दिएको थियो। यो संस्थागत लगानीकर्ताहरुलाई छुट्याइएको ४० प्रतिशत हिस्सा हो।

रिलायन्स स्पिनिङ मिल्सले योग्य संस्थागत लगानीकर्तालाई छुट्याइएको सम्पूर्ण कित्ता ६०८ रुपैयाँमा बिक्री हुने छ। यसमा थप २५ प्रतिशत जोड्दा कायम हुन आउने ७२० रुपैयाँ रिलायन्स स्पिनिङ मिल्सको आधार मूल्य हो।  सो आधार मूल्यमा थप २० प्रतिशत जोड्दा कम्पनीको माथिलो रेञ्ज ९१२ रुपैयाँ निर्धारण हुन्छ।     

बाँकी रहेको ६० प्रतिशत कित्ता सर्वसाधारणलाई जारी गरिनेछ। सर्वसाधारणका लागि निष्कासन गरिने सेयर संस्थागत लगानीकर्ताको बोलकबोल प्रक्रियामार्फत तय हुने 'कट अफ' मूल्यको १० प्रतिशत छुटमा जारी हुनेछ। 

यो पनि पढ्नुहोस्

नेपाली गार्मेन्ट उद्योगले अर्बौंको बजार फर्काउन के गर्नुपर्छ?, बंगलादेशबाट के सिक्ने?