सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आयो, परासी क्षेत्रको विद्युत आपूर्ति गुणस्तरमा सुधार 

बिजमाण्डू
२०७९ पुष ३ गते १२:०४ | Dec 18, 2022
सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आयो, परासी क्षेत्रको विद्युत आपूर्ति गुणस्तरमा सुधार 


काठमाडौं। नवलपरासीको सुनवल-७ मा निर्माण भएको सुनवल १३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ।

Tata
GBIME

परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग तथा स्थानीयहरुलाई भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल  सबस्टेसनको निर्माण गरी सञ्चालनमा ल्याइएको हो। हाल सञ्चालनमा रहेको पूर्व-पश्चिम १३२ केभी प्रसारणलाइन सुनवल सबस्टेसनमा भित्रिने (लुप इन) र बाहिरिने (लुप आउट) छ।

यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत आपूर्ति दिइएको छ। सबस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा सञ्चालित स्टील, सिमेन्ट लगायतका उद्योगहरु तथा स्थानीय उपभोक्ताहरुले गुणस्तरीय विद्युत आपूर्ति पाउने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी लाइनमार्फत आपूर्ति दिंदा सुनवल तथा परासी क्षेत्रका उपभोक्ताहरुबाट पर्याप्त विद्युत नपाएको, भोल्टेजको समस्या भएको, पटक–पटक ट्रिपिङ हुन जस्ता गुनासाहरु आउने गरेका थिए। बुटवल सबस्टेसन पनि माग धान्न नसक्ने अवस्थामा पुगी ओभरलोडेड थियो,’ उनले भने, ‘यसले बुटवल सबस्टेसनको चाप घटेको छ। सुनवल तथा परासी क्षेत्रको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय भएको छ।' प्राविधिक चुहावटसमेत घट्ने उनले बताए।

सबस्टेसनमा १३२/३३, ६३ एमभीएका दुई र १३२/११ केभी,२२.५ एमभीएको एउटा पावर ट्रान्सफर्मरहरु छन्। सबस्टेसनबाट स्थानीयस्तरमा विद्युत आपूर्तिका लागि निकालिने ३३ केभीका ७ वटा फिडरहरुमध्ये ३ वटा सञ्चालनमा ल्याइएको छ। ३३ केभीका तीन वटा फिडरहरुमध्ये एउटाबाट सर्वोत्तम सिमन्ट तथा परासी बजार क्षेत्र, अर्कोबाट पाल्पा सिमेन्ट तथा रुपन्देहीको शित्तलनगर सबस्टेसन र लक्ष्मी स्टीलमा विद्युत आपूर्ति दिइएको प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलका निर्देशक नवराज ओझाले बताए। 

अहिले सुनवल सबस्टेसनबाट त्यस क्षेत्रमा करिब २० मेगावाट विद्युत आपूर्ति भइरहेको छ। परासीतर्फ जाने बाँकी ३३ केभीका चारवटा र सबस्टेसनको वरिपरि विद्युत आपूर्तिका लागि ११ केभीका चारवटा फिडरहरु निर्माणाधीन छन्। औद्योगिक करिडोरमा विद्युत आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपलब्ध गराएको करिब ६९ करोड रुपैयाँमा सुनवल सबस्टेसन निर्माण गरिएको हो।

सबस्टेसन निर्माणका लागि इनर्जी प्याक तथा सिग्माकोनको उपक्रमसँग गरिएको ठेक्का सम्झौता २०७६  कात्तिक २४ गते कार्यान्वयनमा आएको थियो।  

प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युतको बढ्दो मागलाई सम्बोधन गर्दै प्रसारण क्षमता वृद्धि गर्न सुनवल (भुमही)–हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढाएको छ।

प्राधिकरणले भैरहवा क्षेत्रको विद्युत आपूर्तिलाई गुणस्तरीय बनाउन योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ।

मैनहिया सबस्टेसनबाट विद्युत दिन थालेपछि भैरहवा क्षेत्रको क्षेत्रको भोल्टेज सुधार भई आपूर्ति भरपर्दो र गुणस्तरीय भएको छ।