ट्रेडमार्क ‘होल्ड’ गर्नेमाथि उद्योग विभागको लगामः दर्ता गरेर एक वर्षसम्म प्रयोग नगरे खारेज हुने

बिजमाण्डू
२०७९ पुष ३ गते ११:३४ | Dec 18, 2022
ट्रेडमार्क ‘होल्ड’ गर्नेमाथि उद्योग विभागको लगामः दर्ता गरेर एक वर्षसम्म प्रयोग नगरे खारेज हुने


काठमाडौं। ट्रेडमार्क दर्ता गरेर प्रयोग नगरी बसेकाप्रति लचिलो हुँदै आएको उद्योग विभागले अब भने कडाइ गर्ने भएको छ। एक वर्षसम्म प्रयोग नगर्ने कम्पनीको ट्रेडमार्क खारेज गर्ने भएको हो।

Tata
GBIME

उद्योग विभागले यसबारे सूचना जारी गर्दै एक वर्षसम्म प्रयोग भएको नपाएमा ऐनअनुसार खारेज हुने आइतबार जनाएको छ।

ट्रेडमार्क ऐन २०२२ को दफा १८ (ग) बमोजिम दर्ता भएर प्रयोगमा नआएको ट्रेडमार्क चिन्ह खारेज हुने भएको हो।

कुनै उत्पादन वा सेवामा प्रयोग गर्ने उद्देश्यले कुनै ट्रेडमार्कको आवेदन दर्ता भएर पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा १८ (ग) बमोजिम दर्ता प्रमाणपत्र जारी गर्ने गरिन्छ।

यसरी प्रमाणपत्र जारी भएको मितिले १ वर्षसम्ममा दर्ता भएको ट्रेडमार्क प्रयोगमा नल्याएमा विभागले आवश्यक जाँचबुझ गरी त्यस्तो ट्रेडमार्क दर्ता खारेज गर्न सक्ने सोही ऐनमा व्यवस्था छ।  

विभागमा दर्ता भएर प्रमाणपत्र लिएका सबै ट्रेडमार्क धनी उद्योगी-व्यवसायीहरूले आफूले लिएको ट्रेडमार्क प्रयोग भए नभएको स्पष्ट प्रमाणसहित तोकिएको म्यादभित्र निवेदन दिन विभागले भनेको छ।  

ऐनले तोकिएको अवधिभित्रमा प्रयोग भएको जानकारी विभागमा नगराएमा कानून बमोजिम कारवाहीको प्रक्रियामा जाने विभागले चेतावनी दिएको छ।