भाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य बढ्यो, भाइमसला प्याकेटमै सय रुपैयाँसम्म महँगियो

बिजमाण्डू
२०७९ कात्तिक २ गते १३:३६ | Oct 19, 2022
भाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य बढ्यो, भाइमसला प्याकेटमै सय रुपैयाँसम्म महँगियो

काठमाडौं। भाइमसला, झिलिमिली बत्तीदेखि फूलको मूल्य बढेपछि यो वर्षको तिहार महँगो पर्ने भएको छ। तिहारमा सर्वाधिक बिक्री हुने भाइमसला, बत्ती र फूलको मूल्य आकासिएको छ।  

Tata
GBIME

तिहारमा अत्यधिक बिक्री हुने भाइमसलाको मूल्य प्याकेटमै ५० देखि १०० रुपैयाँ महँगिएको व्यवसायीहरू बताउँछन्। झिलिमिली बत्तीको मूल्यमा पनि गत वर्षको भन्दा आठ देखि १० प्रतिशतले बढेको छ। 

भाइमसलामा पिस्ता, काजु, ओखर, मिस्री, नरिवल, छोकडा, सुपारी, मखना हुन्छन्। यीमध्ये गत वर्षको तुलनामा काजु, पिस्ता, ओखरलगायतको मूल्य बढेको मखन गल्लीका ड्राईफ्रुट्स तथा मसला व्यापारीले जानकारी दिए। नरिवल, खुर्पानीलगायतका ड्राईफ्रुट्सको मूल्य भने यो वर्ष नबढेको उनीहरु बताउँछन्। 

सुशीला ट्रेडर्सका एक व्यवसायीका अनुसार गुणस्तर हेरेर काजु प्रति किलो १५ सयदेखि १८ सय रुपैयाँ पर्छ। गत वर्ष काजु प्रति किलो १५ सयदेखि १६ सयसम्म बिक्री हुन्थ्यो। त्यस्तै, गत वर्ष १८ सयसम्म किनबेच भएको पिस्ता अहिले किलोको दुई हजारदेखि २१ सय रुपैयाँ पर्छ। 

सुकुमेलको मूल्य गत सालको भन्दा केही घटेको छ। गत वर्ष प्रतिकेजी ४२ सय रुपैयाँमा  बिक्री भइरहेको सुकुमेल यो वर्ष ३ हजार रुपैयाँमा झरेको व्यवसायी बताउँछन्। 

अधिकांश ड्राईफ्रुट्स नेपालमा उत्पादन हुँदैन। आयात नै गरेर स्थानीय बजारको माग पूरा गर्नुपर्छ। ढुवानी खर्च तथा आयात करमा भएको वृद्धिका कारण केही ड्राईफ्रुट्सहरूको मूल्य बढेको व्यवसायी बताउँछन्। त्यसैगरी, झिलिमिली बत्तीको मूल्य पनि १० प्रतिशतसम्म बढेको बत्ती कारोबारमा सक्रिय  व्यवसायीहरू बताउँछन्।  

किराना व्यवसायी तथा खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यको अनुसार केही ड्राईफ्रुट्स मूल्य बढेको जानकारी दिए। केहीको मूल्य पोहोर सरह र केहीको मूल्यमा भने सामान्य गिरावट आएको बताए।

'गुणस्तर हेरेर कम्पनी अनुसार रेट फरक पर्न आउँछ। प्याकेजिङले पनि केही हदसम्म मूल्यमा भूमिका खेल्छ। काजु मात्रै बजारमा १५ सयदेखि दुई हजार रुपैयाँसम्म पर्छ ड्राईफ्रुट्स सामान्यत: आयात हुने हुँदा डलरको भाउ बढेसँगै १० -१५ प्रतिशत महँगो पर्न गएको छ।' 

महाबौद्धमा रहेको सिको शपका सञ्चालक साधुराम फुयालका अनुसार गत वर्ष १५० देखि १८० रुपैयाँमा बेचिरहेको बत्ती यो वर्ष २२५ रुपैयाँमा बिक्री भइरहेको छ।  

‘अमेरिकी डलर तथा चिनियाँ मुद्रामा भएको वृद्धिले झिलिमिली बत्तीको मूल्य बढाएको छ। पेट्रोलियम पदार्थमा भएको भारी वृद्धिले ढुवानी खर्च पनि बढाएको छ। त्यस माथि सरकारले भन्सार पनि वृद्धि गरिदिएको छ। यसैले गर्दा झिलिमिली बत्तीको मूल्य बढेको हो,’ फुँयालले भने। 

अरु विद्युतीय व्यवसायीहरुले भने आयात नै घटेकाले नेपाली बजारमा बत्तीको भाउ बढेको बताए। अहिले बजारमा २२५ रुपैयाँदेखि ४५ सयसम्मका झिलिमिली बत्तीहरू पाइन्छ। झिलिमिली बत्तीको बिक्रीमा पनि गत वर्षको भन्दा व्यापार ५० प्रतिशतले बढेको व्यवसायी बताउँछन्। 
अधिकांश सामग्रीको भाउ बढेपनि बजारमा किनमेल गर्नेहरुको भीड देखिन्छ। 

नेपाल विद्युतीय व्यवसायी महासंघका सुदर्शन पौडेल अनुसार यो वर्ष झिलिमिली बत्तीको आयातमा केही कमी आएको छ। 

'अघिल्लो वर्षहरूमा ३५-४० करोडको आयात हुने बत्ती यस वर्ष २५ करोडसम्म आयात भएको हामीले बुझेको छौं। मूल्यको हकमा १०० प्रतिशत लागतमा प्रतितपत्र (एलसी) खोल्नु पर्ने हुँदा बढेको छ। सँगै डलरको भाउ पनि उच्च रहेकाले २०-२५ प्रतिशतसम्म बढेको छ।'