बोर्डले खुलायो अर्को स्टक एक्सचेञ्जको लाइसेन्स, ४५ दिनभित्र आवेदन, दुई कमोडिटी एक्सचेञ्ज पनि

बिजमाण्डू
२०७९ असोज २ गते ०८:५३ | Sep 18, 2022
बोर्डले खुलायो अर्को स्टक एक्सचेञ्जको लाइसेन्स, ४५ दिनभित्र आवेदन, दुई कमोडिटी एक्सचेञ्ज पनि

काठमाडौं। नेपाल धितोपत्र बोर्डले एकैपटक स्टक एक्सचेञ्ज, कमोडिटी एक्सचेञ्ज र धितोपत्र दलाल लाइसेन्स खुलाएको छ।

Tata
GBIME
Nepal Life

सरकारले विनियमावली पारित गरेलगत्तै बोर्डले आइतबार तीन वटा लाइसेन्स खुलाएको हो। अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालनमा छ। अब अर्को एउटा थपिने छ।

बोर्डले नयाँ स्टकका लागि ४५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। बोर्डले एउटा मात्र स्टक एक्सचेञ्ज थप्न दिने निर्णय अनुसार सूचना जारी गरेको छ।

अहिले चार वटा कम्पनीले लाइसेन्सका लागि आवेदन दिएका छन्। यी आवेदन १० वर्षअघि दिइएका हुन्। अब नयाँले पनि आवेदन दिन सक्छन्।

बोर्डले नेपालमा पहिलो पटक कमोडिटी एक्सचेञ्ज पनि खोल्ने तयारी गरेको छ। वस्तु विनियम बजार सञ्चालनका लागि बोर्डले आइतबार नै इच्छुकसँग आवेदन माग गरेको छ।

बोर्डले अहिलेलाई दुई वटा कम्पनी खोल्न दिने छ। यसका लागि इच्छुकले ४५ दिनभित्र आवेदन दिइसक्नु पर्छ। कमोडिटी एक्सचेञ्जका लागि पनि बोर्डमा आधा दर्जन कम्पनीले आवेदन दिएका छन्। यी पुराना आवेदन हुन्।

बोर्डले सेयर ब्रोकर थप्ने भएको छ। बोर्डले ३० दिनभित्र आवेदन दिन भनेको छ। अहिले नेप्से अन्तर्गत ५० वटा ब्रोकर कम्पनी छन्।

सरकारले निर्वाचनको मुखमा लाइसेन्स खुला गर्ने गरी विनियमावली संशोधन गरेको थियो। यसैलाई आधार बनाएर बोर्डले तीनवटा फरक-फरक लाइसेन्स खुलाउन लागेको हो।