तेलको मूल्य अनुसार भाडा नबढेपछि पेट्रोलियम ढुवानी व्यवसायी हड्तालमा, भारत तेल लिन जान छाडे

बिजमाण्डू
२०७९ भदौ २८ गते १९:०१ | Sep 13, 2022

काठमाडौं। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले तेल लिन भारत जान छाडेका छन्। महासंघले स्वचालित मूल्य अनुसार ढुवानी भाडा नबढेपछि हड्तालको घोषणा गर्दै तेल लिन जान बन्द गरेका हुन्।

Tata
GBIME

महासंघको अगुवाईमा सोमबारदेखि प्रोडक्ट डेलिभरी अर्डर(पीडीओ) समेत उठाउन बन्द गरेका छन्। उनीहरुले १९ गतेदेखिनै हवाई इन्धनको ढुवानी बन्द गरेका छन्।

उनीहरुले बुधबारदेखि अमलेखगंजसम्म पाइप लाइनमा आएको इन्धन समेत ढुवानी नगर्ने बताएका छन्। साथै उनीहरुले असोज एक गतेदेखि नेपालभरीको ढुवानी बन्द गर्ने चेतावनी समेत दिएका छन्।

यता निगमले भने हड्ताल फिर्ता लिएर ढुवानी सुचारु गर्न व्यवसायीलाई आग्रह गरेको छ। निगमका निर्देशक वीरेन्द्र गोइतले तत्कालै हड्तालका कार्यक्रम फिर्ता लिएर आपूर्ति सुचारु गर्न आग्रह गरेका छन्। उनले अत्यावश्यक सेवामा बन्द, हड्ताल गर्न नपाउने भन्दै पेट्रोलियम पदार्थ आपूर्ति नरोक्न आग्रह गरेका हुन्।