विद्युतीय गाडी चार्ज गर्न सबैभन्दा सानो चार्जर ‘ईओ मिनी’ नेपालमा, के छ यसमा विशेषता?

बिजमाण्डू
२०७९ भदौ १३ गते १३:४३ | Aug 29, 2022
विद्युतीय गाडी चार्ज गर्न सबैभन्दा सानो चार्जर ‘ईओ मिनी’ नेपालमा, के छ यसमा विशेषता?

काठमाडौं। विद्युतीय गाडीहरु चार्ज गर्नका लागि सबैभन्दा सानो चार्जर 'ईओ मिनी' नेपालमा पनि प्रयोगमा आउने भएको छ। उक्त चार्जर एमजी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्टले ल्याएको भित्र्याएको हो।

Tata
GBIME
Nepal Life

पारामाउन्टले बेलायती ब्राण्ड ईओ मिनी गत शुक्रबार नेपाल ल्याएको हो। कम्पनीले हाल ५० वटा चार्जर नेपालमा ल्याएको छ। कम्पनीले उक्त चार्जर अनौपचारिक रुपमा बिक्री समेत सुरु गरेको छ।

कम्पनीका महाप्रबन्धक सचिन अर्यालका अनुसार यो चार्जर ६ देखि ३२ एम्पीयरसम्म क्षमताका बिजुलीका मिटर भएका घरमा जडान गरेर प्रयोग गर्न सकिन्छ। 'साढे ७ किलोवाट क्षमताको यो चार्जर घरमा रहेको पावर क्षमता अनुसार कम एम्पीयरमा नै एडजस्ट गर्न मिल्छ। त्यसमा पनि ६-३२ एम्पीयरको करेन्टअनुसार पावर मिलाउन मिल्छ,' उनले भने, 'हालसम्म विकसित चार्जरहरुमध्ये यो सबैभन्दा सानो छ। अफिस वा होटल तथा कुनै पनि ठाउँमा सजिलै राख्न मिल्छ।'

अर्यालका अनुसार यो एसी फाष्ट चार्जर हो। 'यसलाई सबैभन्दा धेरै ३२ एम्पीयरसम्म मात्र बनाउन मिल्छ। यसरी यस चार्जरले चार्ज गर्दा साढे ६ घन्टामा फुल चार्ज हुन्छ,' उनले भने, ' नेपालमा उपलब्ध सीसीएस २ चार्जिङ पोर्ट भएका सबै किसिमका गाडीलाई एसले चार्ज गर्न सक्नेछ।'

आफ्नो घरमा १६ एम्पीयरको मिटर छ र यदि ३२ एम्पीयरको चार्जर राख्नुपर्ने भयो भने पनि यो चार्जर राख्न सकिन्छ। ३२ एम्पीयरकै चार्जर राख्नुपर्ने बाध्यता अब नहुने उनले बताए। यसले १२ एम्पीयर बनाएर गाडी चार्जमा राख्न सकिने पनि उनको भनाइ छ।

अर्यालका अनुसार राजमार्गको साना-साना होटल तथा पुराना कम एम्पीयर मिटर भएका स्थानमा यो चार्जर जडान गर्न सकिन्छ। 'चार्जर नै राख्न भनेर मात्र नयाँ वायरिङ तथा घरमा भइरहेको पावर परिवर्तन गर्नु पर्दैन,' उनले भने।

यसको मूल्य ८५ हजार रुपैयाँ तोकिएको छ। यसको लागि वारेन्टी एक वर्षको दिइएको छ। अरु चार्जरहरु एकदेखि दुई लाखसम्म पर्छन्। यसभन्दा अघिमा चार्जरहरुमा ३२ एम्पीयरकै मिटर आवश्यक पर्ने गर्दथ्यो।

सन् २०१४ मा स्थापना भएको ईओ ब्राण्डका उत्पादन अहिले विश्वभर चर्चामा छन्। यो ब्राण्ड अहिलेसम्म विश्वका ३५ भन्दा धेरै देशमा बिक्री वितरण हुँदै आएको छ।

विश्वप्रसिद्ध कार निर्माता मर्सिडिज बेञ्चसँग सहकार्य गर्दै आएको इओले युके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा सन् २०२१ मा मात्रै ६० हजार स्थानमा चार्जर प्वाइन्ट स्थापना गरेको थियो।