सीडी रेसियोमा लचकता अपनाउन महासंघको माग, ‘मौद्रिक नीतिले समस्या समाधान गर्ने अपेक्षा’

बिजमाण्डू
२०७९ असार २१ गते १५:०२ | Jul 5, 2022

काठमाडौं। आगामी मौद्रिक नीतिमा आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि बैंकिङ सहजता बनाउने गरी मौद्रिक नीति ल्याउन निजी क्षेत्रले माग गरेका छन्।

Tata
GBIME

निजी क्षेत्रले पछिल्लो समय भोगिरहेको बैंकिङ तरलता, बैकिङ कर्जामा सहुलियत, कृषि, पर्यटन र उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ प्रणालीमा रहेको तरलता सहज बनाउने मौद्रिक नीति आउनुपर्ने बताए। राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा उनले बैंकिङ कर्जा अनउत्पादन क्षेत्रमा बढी गएको देखिएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए।

वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकिङ तरलता चरम अभाव भएकाले पास भएका कर्जा समेत दिन नसक्ने अवस्थामा रहेको बताए। उनले बैंकहरुलाई सिडि रेसियो असार मसान्तसम्म ९० प्रतिशत भन्दा तल ल्याउनुपर्ने दबाबलाई मौद्रिक नीतिमार्फत सहज बनाउनुपर्ने सुझाव दिए।

ढकालले कोभिड प्रभावित उद्योगहरुलाई दिएको सहुलियत यो वर्ष पनि निरन्तरता दिनुपर्ने बताए। उनले अनुत्पादन भन्दापनि उत्पादन र पर्यटन उद्योगको लागि जाने कर्जामा बढी प्राथमिकता दिने व्यवस्था गर्नुपर्ने बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आगामी मौद्रिक नीतिमा पछिल्लो समय उद्योगी व्यवसायीहरुले भोग्नुपरेको समस्या सहजिकरण हुने आशा लिएर बसेको बताए।

उनले उद्योगी व्यवसायीहरुले तरलता अभाव,लगानीको वातावरण असहज जस्ता समस्या भोगिरहेको बताए। अध्यक्ष अग्रवालले पछिल्लो ६ महिनाको बीचमा ६० अर्ब बराबरको लगानी बढेको दाबी गरे।

उनले अर्थतन्त्रमा देखिको समस्याको कारण १५ देखि ६० प्रतिशत उद्योगमा लगानीमा संकुचन आएकाले मौद्रिक नीतिले आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि उत्पादनमुुलक उद्योगमा लगानी गर्ने वातावरण सहज बनाउनुपर्ने माग गरे।

अध्यक्ष अग्रवालले पेट्रोलियम पदार्थ र बजारमा भएको अत्याधिक मूल्यवृद्धिलाई सहजिकरण गर्ने मौद्रिक नीति आवश्यक रहेको बताए।

'पछिल्लो ६ महिनामा ५० देखि ६० अर्बको लगानी बढेको छ। ६० अर्बको लगानी कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशत वा सम्पूर्ण लोनको १ प्रतिशत वा डेढ प्रतिशतको बीचमा रहेको छ। त्यही तरिकाले अन्य परिसूचकहरु ६ महिनामा सुधारतर्फ भएका छन् भन्ने लागेको छ,' उनले भने।

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आगामी मौद्रिक नीति निर्यातलाई प्रवद्र्धन गरी व्यवस्थित गर्ने किसिमको आउनुपर्ने बताए।

नेपाल घरेलु तथा साना उद्योग महासंघको अध्यक्षमा उमेशप्रसाद सिंहले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई कर्जामा प्राथमिकता दिनुपर्ने सुझाव दिए।