बीमा सर्भेयर र अभिकर्ता लाइसेन्स नवीकरण अब डिजिटल माध्यमबाट, ‘बीमा समिति धाउनु पर्दैन’

बिजमाण्डू
२०७८ चैत्र ८ गते १५:१० | Mar 22, 2022
बीमा सर्भेयर र अभिकर्ता लाइसेन्स नवीकरण अब डिजिटल माध्यमबाट, ‘बीमा समिति धाउनु पर्दैन’

काठमाडौं । बीमा सर्भेयर र अभिकर्ताले इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्न मिल्ने भएको छ। बीमा समितिले मंगलबारदेखि यस्तो व्यवस्था गरेको हो। यसअघि सर्भेयर र अभिकर्ताले अनुमतिपत्र नवीकरण गर्न समिति आफैं पुग्नु पर्थ्यो। 

Tata
GBIME

देशका विभिन्न जिल्लामा रहेका बीमा सर्भेयर र अभिकर्तालाई अनुमतिपत्र नवीकरण बर्सेनि झन्झटिलो थियो। 'अब सर्भेयर र अभिकर्ताले डिजिटल माध्यमबाट आफ्नो इजाजत पत्र नवीकरण गर्न पाउनुहुन्छ,' बीमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले भने। 

मुलुकका बिभिन्न जिल्लामा गरी बीमा अभिकर्ताको संख्या झण्डै तीन लाख छ। नयाँ व्यवस्थाले सर्भेयर र अभिकर्तालाई सुविधा हुनुका साथै आफू कार्यरत ठाउँमा सेवा सहज हुने विश्वास उनले व्यक्त गरे। 'बीमाको पहुँच विस्तारमा यसले पनि सघाउ हुन्छ,' उनले भने।

बीमा कम्पनीहरु बढेसँगै जिल्ला जिल्लामा सर्भेयर र अभिकर्ता पनि बढेका छन्। बीमाका सेवाहरु अनलाइनमा गए पनि अभिकर्ता र सर्भेयरले अनुमतिपत्र नवीकरणका लागि काठमाडौं धाउनैपर्ने बाध्यता थियो।

यसरी लिन सकिन्छ इजाजतपत्र नवीकरणमा डिजिटल सेवा 

नवीकरण दस्तुर नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपीएसमार्फत बीमा समितिको खातामा बुझाएर बीमा सर्भेयर र बीमा अभिकर्ताले सेवा लिन सक्ने जनाइएको छ। 

त्यसका लागि बीमा सर्भेयर र बीमा अभिकर्ताले कनेक्ट आइपीएसको साइटमा गएर सेमी गर्भर्नमेन्ट रहेको बीमा समितिको लोगोमा क्लिक गरेपछि अप्सन देखिन्छ। त्यसपछि बीमा सर्भेयर र  बीमा अभिकर्ता पेमेन्टमा गएर इजाजतपत्र नम्बर र जारी मिति टाइप गरेपछि नवीकरणका लागि लाग्ने शुल्कको जानकारी सिस्टमले नै क्यालकुलेटर गरेर दिन्छ। त्यसपछि अनलाइनबाटै नवीकरण शुल्क बुझाउन सकिन्छ। त्यसरी बुझाएको रसिदको पीडीएफ फर्म्याट प्रिन्ट गर्न सकिने छ। 

साथै, संस्थागत बीमा सर्भेयरले कनेक्ट  आइपीएसमार्फत बीमा समितिको खातामा इजाजतपत्रको नवीकरण शुल्क बुझाउनका साथै समितिको इमेल [email protected]  संस्था नवीकरण प्रमाणपत्र कर चुक्ता प्रमाणपत्र र नवीकरण अघिका कामको विवरण पठाएपछि बीमा सर्भेयर इजाजतपत्र नवीकरण हुने व्यवस्था छ।

हाल देशभरमा गरी नवीकरणयोग्य बीमा सर्भेयरको संख्या करिब १ हजार २ सय ५० छ।