प्राथमिक उपचार समेत नगरी अर्को अस्पताल रेफर गर्ने स्वास्थ्य संस्थाले दाबी भुक्तानी नपाउने

सरला सुवेदी/बिजमाण्डू
२०७८ माघ २५ गते १२:३३ | Feb 8, 2022

काठमाडौं। सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले बिरामीलाई प्राथमिक उपचार नगरी रेफर गर्दा भुक्तानी नपाउने भएका छन् ।

Tata
GBIME

स्वास्थ्य बीमा बोर्डले सातै प्रदेशमा सेवाग्राहीहरुको लागि अस्पतालहरु तथा प्राथमिक स्वास्थ सेवा केन्द्र तोकेको भएपनि सेवाप्रदायक संस्थाले बिरामीलाई बोर्डले तोकेको प्राथमिक सेवा नदिइ अर्को अस्पतालमा पठाउँदा उपचारमा समस्या देखिएको छ।

यही समस्यालाई ध्यानमा राखी स्वास्थ्य बीमा बोर्डले तोकेअनुसारको सेवा नदिएको खण्डमा दावी भुक्तानी नदिने निर्णय गरेको बोर्डका सूचना अधिकारी शोभित रिजालले जानकारी दिए।

'हाल कतिपय सेवाप्रदायक संस्थाहरुले बीमामा आबद्ध भएका सेवाग्राहीहरुलाई अर्को सेवाप्रदायक संस्थामा प्रेषण गर्दा बीमा बोर्डले तोकेअनुसारको कुनै पनि सेवा नदिएको पाइएको छ। यसकारण आगामी दिनमा बीमा बोर्डको ओ पि डि प्याकेजअन्तगर्त तोकिए अनुसारको परीक्षण नै नगरी औचित्य बिना रेफर गरेको पाइएमा त्यस्ता दाबीको भुक्तानी हुँदैन ।'- सूचना अधिकारी रिजालले भने।  

यसैगरी रेफर भइ आएका सेवा प्रदायक संस्थाहरुले पनि प्रेषण गरी पठाएका संस्थाले गरेको परीक्षणमा दोहोरो नपर्ने गरी मात्र दाबी गर्न पनि बोर्डले भनेको छ।

अस्पतालमा बिरामी आएपछि आवश्यक जाँच गरेपछि उक्त अस्पतालमा उपचार नहुने भएपछि मात्र अन्यत्र रेफर गरिएको हो भनेर कागजपत्रसहित बिरामीलाई पठाउनुपर्नेमा बिरामीहरु उपचार नै नगरी अर्को अस्पतालमा रेफर गरिएको भन्दै आउन थालेपछि समस्या देखिएको सूचना अधिकारी रिजालले बताए।

पद्दतिनै बिग्रन थालेकोले सुधारका लागि बोर्डले त्यस्ता दाबी भुक्तानी नहुने निर्णय गरेको उनको भनाई छ।

हाल कतिपय सरकारी अस्पतालहरुले सेवाग्राहीलाई जाँच नै नगरी निजी अस्पतालमा रेफर लेख्ने गरेको छ। 'यो काम पहिलेदेखि नै हुँदै आएको रहेछ। बोर्डले अहिले थाहा पाएपछि कडाइ गरिएको हो।'- रिजालले भने।

बीमा बोर्डले अस्पतालहरुलाई रेफर लेखेबापत २ सय रुपैयाँ दिने गरेको छ । उक्त रुपैयाँ विरामीको ब्लडप्रेसर, ज्वरोलगायतका सामान्य जाँचका लागि दिएको हो । अहिले अस्पतालहरुले पैसा लिने तर बिरामीको सामान्य जाँच समेत नगरी पठाएको पाइएकाले कडाई गर्ने निर्णय गरेको उनले बताए।

'उपचार नगरी पठाउन पाइदैन । अस्पतालले यस्तो गर्दा बीमामा आबद्ध सेवाग्राहीमा नकारात्मक असर पर्न जान्छ। बोर्डले यो प्रवृत्तिलाई रोक्न खोजेको हो'- उनले भने। स्वास्थ बीमा बोर्डले बीमामा आबद्ध सेवाग्राहीहरुका लागि सातै प्रदेशमा चार सय ३४ वटा अस्पताल तथा प्राथमिक स्वास्थ सेवा केन्द्र तोकेको छ ।