आर्थिक सूचक अत्याउने आएपछि गभर्नरको पत्रकारसँग संबाद: तरलता अभाव उच्च आयातले, अरु के भने?

बिजमाण्डू
२०७८ पुष ७ गते १७:१९ | Dec 22, 2021

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उच्च आयातका कारण बैंकिङ प्रणालीमा तरलता अभाव भएको दोहोर्‍याएका छन्।

Tata
GBIME
Nepal Life

उनले आयातमा भएको अलिक ठूलो बृद्धिले बैंकसँग ऋणको माग बढाएको र त्यो मागलाई धान्ने स्रोत (निक्षेप) कम नभएका कारण तरलता अभाव भएको बताए।

गभर्नरले आर्थिक पत्रकारहरुका लागि राखेको अन्तर्कृया कार्यक्रममा मौद्रिक नीतिमार्फत कर्जा-पुँजी-निक्षेप अनुपात (सीडी रेसियो) खारेज गरेर सीडी रेसियो (कर्जा-निक्षेप अनुपात) कायम गरेका कारण तरलता अभाव नभएको बताए।

'अहिले सीडी रेसियो औषतमा ९२ प्रतिशत छ। तर सीसीडी रेसियो पनि ९१ प्रतिशत पुगेको छ' उनले भने, 'यस कारण सीसीडी हटाएर सीडी लागु गरेका कारण तरलता अभाव भएको होइन। सीडी रेसियोलाई तरलताका लागि बुझ्न आवश्यक छैन।'

उनले राष्ट्र बैंकले चाल्ने प्रत्येक कदमका कारणहरु हुने भन्दै ती त्यसमा समस्या देखिएमा राष्ट्र बैंकले त्यसलाई थप 'फाइन ट्युन' गर्ने बताए।

चार महिनाको तथ्यांक भयाव आएर नीतिगत रुपमै अर्थमन्त्री, गभर्नरलगायतमाथि प्रश्न उठिरहेका बेला अधिकारीले गभर्नर नियुक्त भएको २१ महिनापछि पत्रकारहरुसँग प्रत्यक्ष संबाद गरेका हुन्।

उनले आयात उच्च भएका कारण तरलता अभाव हुँदै अहिले शोधनान्तर घाटा बढेको देखि बिदेशी मुद्रा सञ्चितिसम्म घटेको सुनाए। त्यसैले अहिले केही बस्तुको आयात निरुत्साहित गर्ने नीति लिएको उनको दाबि छ।

'राष्ट्र बैंकले आयात रोक्न सक्दैन त्यो राष्ट्र बैंकको अधिकारी पनि होइन' गभर्नरले भने, 'हामीले अन्य ऋणमा जस्तै आयातका लागि दिइने ऋणमा पनि ऋणीले इक्विटी हालोस् भन्ने चाहेको हो।' अहिले ब्यवसायिक कार्य गर्न ऋणीले आफ्नो २० प्रतिशत स्वपुँजी हाल्नु पर्छ भने बाँकी ८० प्रतिशत बैंकले ऋण दिन्छन्।

राष्ट्र बैंकले गाडीमा ५० प्रतिशतका साथै सुनचाँदी, चकलेट, जुत्ता, सिमेन्टलगायतका बस्तुमा सत् प्रतिशत इक्विटी हाल्नु पर्ने ब्यवस्था गरेको छ। यसैलाई उनले ब्याख्या गर्न खोजेका हुन्। 

उनले केही अनिच्छित बस्तुको आयात निरुत्साहित गर्दा बजारमा बिस्कुन कम लाग्ने समेत बताए। 'सामान नभएर मूल्य बृद्धि हुन्छ भन्ने मलाई लाग्दैन' गभर्नरले भने, 'बर अनावश्यक सामानको बिस्कुल लाग्दैन। जुनबेला चाहिन्छ त्यही बेला आउँछ।'

गभर्नरले अहिले रेमिटेन्स घटेको भन्दा पनि बढेको आयातलाई त्यसले भरथेग गर्न छाडेको बताए। कोभिड अगाडि औषतमा मासिक ८० अर्ब रेमिटेन्स आउने गरेको भन्दै अहिले ७८ अर्ब आइरहेको उनले सुनाए। उनले बिदेशी मुद्राको सञ्चिति पनि कोभिड अगाडिको तुलनामा नघटेको बताए।