चार महिनादेखि रंगशालाको काम ठप्प भएपछि धुर्मुसले भने: ‘१७ करोडमाथि ऋण छ, फोन आइरहन्छ’

बिजमाण्डू
२०७८ कात्तिक ३० गते १५:३२ | Nov 16, 2021
चार महिनादेखि रंगशालाको काम ठप्प भएपछि धुर्मुसले भने: ‘१७ करोडमाथि ऋण छ, फोन आइरहन्छ’

काठमाडौं। चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन लागि परेको धुर्मुस सुन्तली फाउण्डेशन पछिल्लो चार महिनायता काम रोकेर बसेको छ। आर्थिक अभाव र ऋण पनि बढ्दै गएको भन्दै फाउण्डेशनले काम रोकेको हो।

Tata
GBIME
Nepal Life

फाउण्डेशनका प्रमुख सीताराम कट्टेल धुर्मुसले आज एउटा भिडियो जारी गर्दै आफूहरु ऋणमा रहेको र सहयोगको आवश्यकता रहेको बताएका हुन्।

'विषम परिस्थितिमा बनाउनु पर्छ बन्नु पर्छ भनेर अघि बढेका थियौं। तर बिडम्बना भन्नु पर्छ विगत ४ महिना यता निर्माण रोकिएको छ,' धुर्मुसले भनेका छन्,'कोभिडको महामारी र लकडाउन चाडवाडमा पनि बिचलिन नभई काम गर्‍यौं। तोकिएको समयमा रंगशाला बनाउनु पर्छ भनेर लागि परि रह्यौं।'

उनले अगाडि भनेका छन्,'धेरैलाई जोड्ने कोसिस गर्‍यौं। सरकारलाई सुरुबाटै अभिभावकत्व लिन आग्रह गरिरह्यौं। संघीय सरकारदेखि स्थानीय सरकारसम्म पटकपटक पुग्यौं। सहकार्यका लागि भनेर हामी नपुगेका ठाउँ सायदै कम होला। १७ करोडमाथि ऋणको भारी बोकेर हिँडेका छौं। उहाँहरुले कति कुर्ने। फोन आइरहन्छ। सोध्नु हुन्‍छ, कहिले? जसको जवाफ मसँग छैन।' उनले भने।'

उनले पछिल्लो समय आफूहरुले धेरै आलोचना खेपेपनि त्यसलाई सुझावका रुपमा लिएको बताएका छन्। यद्यपि, फाउण्डेशनले कार्यविधि बनाएर काम गरिरहेको उनले दाबी गरे।

'कार्यविधि अन्तर्गत चलेका छौं। लेखापरीक्षण पनि असारसम्मको सकेका छौं। केही दिनमा विवरण सार्वजनिक गरेका छौं। हरेक टिकाटिप्पणीको पनि जवाफ दिने छौं,' उनले भने, 'हामीले बनाउन खोजेका हौं। कोरोनाको महामारी, राजनीतिक उथलपुथल हुनु लगायतले सिकार बन्यौं।'

उनले सरकारलाई परियोजना निर्माणका लागि अभिभावकत्व लिन पनि आग्रह गरेका छन्। उनले सरकारको उपस्थितिमै परियोजनाको घोषणा गरेकाले रंगशाला निर्माण हुनु राष्ट्रको धरोहर निर्माण हुनु बताए। यद्यपि, आफूहरु परियोजनाबाट टाढा हुन खोजेको भने नभएको उनले बताए।

'परियोजनाबाट हात झिकेको, परियोजनाबाट टाढा भागेको, जिम्मेवारीबाट टाढा भागेको होइन। हामीले सरकारलाई, स्थानीय तहलाई, प्रदेश सरकारलाई निकासका लागि आह्वान गरेको हो,' उनले भने, ' यहाँ देशको सम्पत्ति बनिरहेको छ। राष्ट्रको धरोहर बनिरहेको छ। हाम्रै प्रतिस्था उच्च हुने काम भइरहेको छ। ३ हजार दर्शकले हेर्न सक्ने प्यारापिट तयार भएको छ। मैदान तयार भएको छ। पिच तयार भए अन्तर्राष्ट्रिय प्रतियोगितासमेत आयोजना गर्न सकिन्छ।'

उनले परियोजना निर्माणका क्रममा पाएका आश्वासनहरु पूरा नभएको पनि बताए। भने, 'कति आश्वासनहरु आश्वासनमै सीमित रहे। हातहरु छूट्दै गए। साथ टुट्दै गए। जोड्न प्रयास गरिरहेका छौं।'

परियोजनाको काम हेर्न रंगशालमै आउन अनुरोध गर्दै उनले अब फेरि एकपटक जाग्ने हो भने ६ महिना देखि १ एक वर्षभित्रमा ३० हजार क्षमताको रंगशाला बन्ने दाबी गरे।

'एकपटक फेरि जुर्मुराउने हो भने अबको ६ महिना देखि १ वर्षभित्रमा नेपालमा पहिलो पटक ३० हजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्नेछ,' उनले भने, 'काम रंगशालामा आएर हेर्दिनुहोस।'

यसअघि २०७७ साल फागुनमा उनले कार्यक्रम गर्दै विवरण सार्वजनिक गरेका थिए।

'रंगशाला निर्माणको कुल लागत डीपीआर रिपोर्ट आइसकेपछि कुल ३ अर्ब ५५ करोड रहेको तर २०७७ सम्ममा परियोजनका लागि ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैयाँ ८० पैसा मात्र सङ्कलन भइ ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैयाँ २३ पैसा खर्च भएको र ११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ ४३ पैसा ऋणात्मक रहेकाले अपेक्षित रुपमा निर्माण कार्य अघि बढाउन नसकिएको अवस्था छ।'

फाउण्डेसनको उक्त विवरणमा भनिएको छ। उक्त विवरणमा फाउण्डेसनले परियोजना निर्णाणमा कुल लागत रकमको ९.१० प्रतिशतमात्र रकम संकलन भएको र क्रिकेट मैदानको काम भने ८५ प्रतिशत सम्पन्न भइसकेको दाबी गरेको थियो। त्यस्तै प्यारापिटतर्फ ३० प्रतिशत काम सम्पन्न भएको जनाइएको थियो।