
काठमाडौं। दुई वटा ट्रान्सफर्मर जलेर भरतपुर महानगर अध्याँरो भएको ३६ घण्टापछि बिहीबार विहान १ बजे बिजुली आएको छ। अँध्यारो हुने बित्तिकै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ काठमाडौंबाट चितवन पुगेका थिए।
उनी चितवन जानु अघि नै ट्रान्सफर्मरको जोहोसमेत गरेका थिए। उनी पुग्दा केही कामदार मात्रै ट्रान्सफर्मर फेर्ने काममा लागेको देखेपछि भरतपुरका विभागीय प्रमुखलाई समेत हप्काएका थिए।
'पाँच जना मान्छे लगाएर पनि काम हुन्छ ? यस्तो पनि तरीका हो ?,' कुलमानले झोक्किदै भनेका थिए। तरसँगै उनले ठेकेदार र कामदारलाई हौस्याउँदै भनेका थिए, 'तपाइँहरुलाई के चाहिन्छ सबै दिन तयार छु। खसी काट्ने भए पनि काट्नुस तर यो काम सक्नुहोला।'
विभागीय प्रमुखलाई हप्काएका कुलमानले कामदारलाई भने हौस्याएर काम निकाले। उनी बुधबार रातभरि बसेर बिहीबार विहान १ बजे बिजुली सुचारु गराउन सफल भए। बिहीबार विहान १ बजे बिजुली सुचारु गरेपछि कर्मचारी र कामदारसँग खुशी मनाएर कुलमान काठमाडौं फर्किएका छन्।
कुलमानले लक्ष्मीपूजाको दिन कतै पनि अँध्यारो नहोस् भनेर आफैं फिल्डमा खटिएका थिए। उनले कुनै ठूलो समस्या नआए लक्ष्मीपूजाको दिनमा विद्युत आपूर्तिमा कुनै प्रभाव नपर्ने बताए।
लक्ष्मीपूजाको दिन देशभरको विद्युत माग १५०० मेगावाट वरिपरि नै रहने पनि प्राधिकरणको प्रक्षेपण छ। अहिले १०० मेगावाट क्षमताका कुलेखानी आयोजना भने नचलाउँदा पनि प्रणालीमा १६०० मेगावाट विद्युत २४ सै घण्टा उपलब्ध छ।