
अनेक फूलबुट्टा भरेर वर्तमान सरकार सयदिनको उपलब्धी देखाउँदै छ। आम नागरिकलाई अनुभुत नै नहुने उपलब्धी सरकारी मुखपत्रमा छपाउनु वा भजनमण्डलीबाट भनाउनुले खास अर्थ राख्दैन।
वास्तविकता यस अघिको जस्तै यो सरकारको पहिलो सय दिन पनि आमसर्वसाधारणको हिसाबमा खेर गयो।देशभर वेमौसमी वर्षाले निम्त्याएको बाढी पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ। बाढी र पहिरोमा परेर करिव एक सय मानिसले जीवन नै गुमाए।
किसानको प्रमुख बाली धानमा निकै ठूलो क्षतिपुग्यो। यस्तो विषम परिस्थितिमा सरकार भने १० दिन पछि विशिष्ट सचिवहरु सम्मिलित अध्ययन समिति बनाएर जग हसाइरहेको छ। सिंहदरवार भित्रैका सचिवलाई राखेर अध्ययन समिति बनाउन १० दिन लाग्छ? यसले पनि के देखाउँछ भने सरकार वा मन्त्री/प्रधानमन्त्रीलाई जनताको दु:खले थोरै पनि छुँदैन। हेलिकोप्टरमा बाढीग्रस्त क्षेत्रमा भ्रमण गरेर जिम्मेवारी पुरा भएको ठानिरहेका छन् प्रधानमन्त्री र मन्त्रीहरु।
प्रधानमन्त्री शेरबहादुर देउवाका बारेमा धेरै आलोचना भइसकेका छन्। सत्ता सञ्चालनमा उनी परीक्षण भइसकेका मानिस हुन्। उनले आमनागरिकको जीवनस्तर उकास्न कुनै भूमिका निर्वाह गर्न सक्दैनन् र गर्दैनन् भन्ने जानकारी सबैलाई छ। उनले सर्वसाधारणका लागि केही नगरेरै पाँच पटक प्रधानमन्त्री बने। अहिले सरकारमा सहभागी अन्य मन्त्रीहरु पनि यही बाटोमा देखिदैछन्।
प्रधानमन्त्रीपछि उपलब्धि देखाउन प्रमुख भूमिका निभाउनु पर्ने अर्थमन्त्रीका सय दिन त्यति नै निराशाजनक रहे। क्रान्तिकारी पृष्ठभूमि बोकेका र माओवादीको कमाण्ड सम्हाल्ने दाउमा रहेका अर्थमन्त्री जनार्दन शर्माको यति निराश लाग्दो सय दिनले मुलुकलाई पछाडी धकेल्दैछ।
अर्थमन्त्री जी, तपाईले अर्थमन्त्रालयमा सय दिन विताइसक्नु भयो। प्रतिस्थापन विधेयक ल्याएर बार्षिक बजेटमा आफ्ना कार्यक्रम पनि राख्नु भयो। तपाईले गर्न सक्ने अधिकतम कार्यक्रम त यस्तै मात्र हुन। तपाईका यी कार्यक्रमले न त सर्वसाधारणको अपेक्षा पुरा हुन्छ न त मुलुकको आर्थिक विकासमा योगदान नै पुग्छ।
असोज महिना भित्रै गरिव घरपरिवारलाई दिन्छु भनेको जम्मा दस हजार रुपैयाँका लागि बल्ल कार्यविधि पास भयो।
यही दस हजारका लागि सरकारी निकायको झन्झट पार गर्दा अर्को एक महिना लाग्छ। तपाईको सर्वाधिक प्राथमिकता प्राप्त योजनाको हालत त यस्तो छ भने अरुको हालत के होला सहजै अनुमान गर्न सकिन्छ।
तपाईले पटक पटक सत्ताको सुखभोग गरिसक्नु भएको छ। सँगै तपाईलाई के पनि प्रष्ट थाहा छ भने पुर्वाधारमा ठूलो लगानी नहुँदासम्म र रोजगारी सिर्जना गर्न नसक्दासम्म आम नेपालीको आर्थिक अवस्थामा सुधार हुँदैन।
तर तपाईहरु बर्षमा दुई/चार हजार रुपैयाँ बाँडेर गरिवका लागि हामीले केही गर्यौ भन्ने जस लिने सतही योजनामा हुनुहुन्छ।
लगानीका लागि आवश्यक वातावरण तयार गर्ने भन्दा तत्काल वाहवाही कमाउन के गर्ने भनेर लाग्नु भएको छ।
यसको उदाहरण नेपाल राष्ट्रबैंकका गभर्नरलाई निर्देशन दियौै भनेर निकालेको विज्ञप्ति नै काफी छ। अहिलेको अर्थमन्त्रालयको नेतृत्व के चाहन्छ भन्ने त्यसैले पुष्टि गरिसकेको थियो।
अर्थमन्त्री र मन्त्रालयको उपल्लो नेतृत्वले कतिसम्म चाँही बुझ्नै पर्थ्यो भने अर्थतन्त्रका आधारभूत पक्षमा सुधार नहुँदासम्म न त पुँजीबजार या रियलस्टेट अथवा तरलताको समस्या कुनैमा पनि दीर्घकालिन समाधान निस्कदैन। अर्थमन्त्रीका यस्ता विज्ञप्तिले अर्थतन्त्रका आधारभूत पक्षमा सुधार आउँदैनन्।
मुलुकको अर्थतन्त्रमा गम्भिर आर्थिक संकटका सुचक देखिँदैछन्। तपाई र अर्थमन्त्रालयको टिम यस्ता सुचनामा वेखबर छैन, पर्याप्त जानकार हुनुहुन्छ। अहिले बजारले तरलता अभावको समस्या झेल्दैछ। तरलता अभावले बजारमा व्याजदर निकै माथि लैजानेछ। तत्कालका लागि राष्ट्र बैकले अल्पकालिन उपायबाट व्याजदर बृदिमा लगाम लगाउँछ तर दीर्घकालिन समाधान भनेको वित्तीय उपायहरु नै हुन्।
सरकारले लिने आथिक नीतिले बजारलाई गति दिने हो। आर्थिक नीतिले बजारमा पैसा सिर्जना गर्ने हो। चाहे त्यो पैसा स्वदेशी उद्यमीहरुले गरेको लगानी होस वा प्रत्यक्ष वाह्य लगानी होस। अहिले अर्थमन्त्री सहकारीले मुलुकको विकासमा ठूलो योगदान दिन सक्छन भन्ने विश्वासमा हुनुहुन्छ। तर यो विश्वास धेरै बलिया तथ्यमा आधारित छैन। सहकारीबाटै मुलुकले कायपलट गर्नसक्छ भन्ने भ्रमबाट चाँडै मुक्त हुनु आवश्यक छ।
वैदेशिक सहायता घटेको छ। वैदेशिक सहायता हामीले आयोजनामा गरेको खर्च दाताहरुले शोध भर्ना दिने हुन्। हामीले खर्च गर्न नसके पछि सहायता रकम स्वत: घट्छ। लगातार एक दशकदेखि दाताहरु हाम्रो खर्च गर्ने क्षमतामा प्रश्न उठाइरहेका छन्। उनीहरुले पटक पटक भनेका छन् नेपालको खर्च गर्ने क्षमता कमजोर भयो भनेर।
खर्च गर्न नसक्नुमा वर्तमान अर्थमन्त्री र उहाँको दल पनि जिम्मेवार छ। सहायता मात्रै होइन, प्रत्यक्ष वाह्य लगानीको अवस्था पनि उस्तै छ। वाह्य लगानीमा एक दुई अर्बका आयोजना बन्न लागे भने पनि वाहीवाही गर्नुपर्ने अवस्था छ। सत्तामा बसेको जोसुकैले पनि आफ्नो हिसाव किताव नमिल्दासम्म वाह्य लगानीलाई सजिलै आउन दिदैनन्। होङ्सी देखि शेराटनसम्म यसका प्रशस्त उदाहरण छन्।
विदेशी मुद्राको सञ्चिती निकै घट्यो। अहिले त यस्तो सञ्चितिले साढे सात महिनाको बस्तु तथा सेवा आयात धान्नसक्छ। अर्थमन्त्रीले सञ्चितिको घट्दो दर देखिराख्नु भएको होला। त्यस्तै शोधनान्तर स्थिति दुई महिनामै ८३ अर्व ४३ करोड घाटामा छ।बजारमा तरलताको अभाव छ। दुई चार अर्बका उद्योगमा बैंक तथा वित्तीय सस्थाले लगानी गर्नसक्ने अवस्था छैन।
रेमिटेन्सको बृद्धिदर रोकियो। यसले बजारमा तरलता विदेशी मुद्राको सञ्चितिमा तत्काल असर देखाउने छ। तरलता अभावले बजारका हरेक गतिविधिमा असर पार्छ। राजस्वको वृद्धिदर समेत खुम्चिन्छ। अर्थमन्त्री यसमा जानकार हुनुहुन्छ होला। बजारको माग अनुसार कर्जा विस्तार हुन सकेन भने आर्थिक वृद्धिदर खस्किन्छ। उता वेमौसमी बर्षाले धानबालीमा पुगेको क्षतिले पनि आर्थिक वृद्धिदरलाई धक्का लगाइ सक्यो। यति डरलाग्दो अवस्था छ अर्थतन्त्रका अगाडि तर अर्थमन्त्री कानमा तेल राखेर बसेजस्तै लाग्छ।
१५ वर्ष भयो अर्थमन्त्रीको दलले स्वाधिन अर्थतन्त्र भनेको। माओवादीबाटै डा बाबुराम भट्टराईदेखि जनार्दन शर्मासम्म चार जना त अर्थमन्त्री नै बनिसक्नु भयो। के हो त तपाईहरुले चाहेको अर्थतन्त्र? के हुन स्वाधीन अर्थतन्त्रका मानक? अर्थमन्त्रीका सय दिनले हामीले बुझेको समाजवादको त कुरै छाडौं अर्थतन्त्रमा सामान्य सुधारसम्मको कुनै छनक देखाउँदैन।
आर्थिक वर्षको तीन महिना सकिदा सम्म पुँजीगत खर्च जम्मा तीन प्रतिशत छ। भएकै आयोजना कार्वान्वयनमा तदारुकता छैन। आफैले घोषणा गरेका कार्यक्रम लागु कहिले हुने थाहा छैन। प्रष्ट छ, तपाईले ल्याएको पुरक बजेटको उद्देश्य यसरी पुरा हुँदैन। अमेरिकी सरकारको सहयोग अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)को विरुद्धमा तपाईहरुले नै जनतामा भ्रम छर्नुभयो। यो पैसा आवश्यक छ कि छैन, प्रष्ट पार्ने प्रमुख जिम्मेवारी अर्थमन्त्रीको हो। यो पैसा नलिले हो भने विद्युत प्रशारण लाइन र सडकका लागि आवश्यक स्रोत जुटाउने काम पनि अर्थमन्त्री कै हो।
अर्थमन्त्री जी, तपाईको हातमा मुलुकको स्रोत र साधनको साँचो छ। यो स्रोत साधन आजका लागि मात्र होईन। आज प्रयोग गरेको स्रोतले वर्षौ पछिसम्म प्रतिफल दिनुपर्छ। हामी नांगा आँखाले देख्छौ कि राज्यको स्रोत र साधनमा राजनीतिक दलहरुले अति नै दोहन गरेका छन्। आफू सत्तामा नहुँदा चर्को आलोचना गर्ने तर सत्तामा गएपछि आर्थिक विकास लागि माखो नमार्ने प्रवृत्ति तपाईमा पनि छ। अर्थतन्त्रका कुनै पनि सुचक सकारात्मक नहुँदा पनि तपाईले नागरिकलाई आश्वस्त पार्ने सामान्य दायित्व समेत पुरा गर्नुभएको छैन।
अहिले कुर्सीमा बसिदिने अर्थमन्त्री मात्रै आवश्यक छैन। त्यो कुर्सीमा त ज्ञानेन्द्र बहादुर कार्की, कृष्ण बहादुर महरा, वर्षमान पुन, विष्णु पौडेलसम्म पनि बसे। अहिले मुलुकको आर्थिक रुपान्तरणका लागि ठोस योजना बनाउन सक्ने र सुधारलाई गति दिन सक्ने अर्थमन्त्री चाहिएको हो। अर्थमन्त्री जी, अब आँखा खोल्नुस्, समय धेरै घर्किसकेको छ। विध्वंसमा तपाईको नाम पहिलो नम्बरमै छ, अब निर्माणमा पनि लाग्नोस।