तेलको मूल्य बढ्दा व्यवसायीले लेखेको त्यो स्टाटस, जुन प्रधानमन्त्री देउवाको कानमा ठोक्कियो

बिजमाण्डू
२०७८ भदौ ११ गते ११:२१ | Aug 27, 2021
तेलको मूल्य बढ्दा व्यवसायीले लेखेको त्यो स्टाटस, जुन प्रधानमन्त्री देउवाको कानमा ठोक्कियो

काठमाडौं। नेपाल आयल निगमले केही दिन अघि सबै पेट्रोलियम पदार्थको मूल्य बढायो। पेट्रोलियम पदार्थको मूल्य बढ्ने वित्तिकै विद्यार्थी संगठनले विरोध जनाउने गर्छन्। यो पटक सतारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विरोध जनायो।

Tata
GBIME
Nepal Life

 राजनीतिक दल र विद्यार्थी संगठनले विरोध जनाउनु नौलो कुरा भएन। तर व्यवसायी संस्थाकै जिम्मेवार पदाधिकारीले यो पटकको मूल्य वृद्धिको विरोध सामाजिक संजालमार्फत जनाए।

 त्यो पनि आयल निगमसँग व्यापार गरिरहेको नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका महासचिव विश्व अर्यालले मूल्य बढाएर निगमले गलत गरेको सामाजिक संजालमा लेखे।

 उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिरहेका बेला जनताप्रति क्रुरता भएको समेत उल्लेख गरे। अर्यालको यो स्टाटसले मूल्यवृद्धिबाट टार्गेटमा परेको आयल निगम व्यवस्थापन दबाबमा पर्‍यो।

 कारण थियो, अर्याल नेपाली कांग्रेसमा आवद्ध छन्। उनी गत चुनाबमा धादिङबाट पराजित भएका हुन्। उनको यो आलोचना प्रधानमन्त्री शेरबहादुर देउवासम्म ठोक्कियो।

 तर प्रधानमन्त्री देउवाको अनुमतिमा निगमले मूल्य बढाएको थियो। त्यसकारण त्यो आलोचना तरल राजनीतिमा आगोमा घिउ थप्ने मात्रै रहेको भन्दै देउवा उल्टै रुष्ट बने। निगम व्यवस्थापनलाई तह लगाउन स्टाटस लेखेका अर्याललाई उल्टै ब्याक फायर भयो।

 विहीबार प्रधानमन्त्री देउवाले पेट्रोलियम व्यवसायीको हड्ताल र मूल्यवृद्धिका बारेमा बुझ्न वाणिज्य सचिव दिनेश भट्टराई र निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई बालुवाटार बोलाए।

प्रधानमन्त्री देउवाले संस्थाको व्यवसायिकता कायम राख्ने र जनतालाई कम भार पर्ने गरि मूल्य निर्धारण गर्न निर्देशन दिए। उनले मूल्य वृद्धिका बारेमा निगम व्यवस्थापनको आलोचना गरेनन्। बरु व्यवसायीले नचाहिँदो रुपमा उचालेकोमा रुष्ट भने भए।