यती एयरलाइन्स र महानगरीय ट्राफिकको सहकार्यमा टीआइए मुख्य प्रवेशद्वारमा ट्राफिक लाइट

बिजमाण्डू
२०७८ साउन ८ गते १२:३३ | Jul 23, 2021
यती एयरलाइन्स र महानगरीय ट्राफिकको सहकार्यमा टीआइए मुख्य प्रवेशद्वारमा ट्राफिक लाइट

Tata
GBIME
Nepal Life

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल प्रवेश द्वार (गोल्डेन गेट) मा ट्राफिक लाइट जडान गरिएको छ।  

निजी यती एयरलाइन्स र महानगरीय ट्राफिक कार्यालयको सहकार्यमा ट्राफिक बत्ती राखिएको हो। सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विमानस्थलको मुख्य प्रवेशद्धारमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको यती एयरलाइन्सले जनाएको छ। 

ट्राफिक लाइटको बिहीबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनोज रिमाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले संयुक्तरूपमा उद्घाटन गरे। कार्यक्रममा सीइओ रिमालले ट्राफिक लाइटको साँचो महानगरीय ट्राफिक महाशाखा प्रमुखलाई हस्तान्तरण गरेका थिए।  

'शहरलाई सभ्य र अनुशासित बनाउने उद्देश्यले विभिन्न संघसंस्थाको सहकार्यमा उपत्यकाका विभिन्न चोकहरुमा ट्राफिक बत्ती जडान कार्यलाई प्राथमिकता दिँदै आएका छौं। यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउँछ, चालकलाई अनुशासन सिकाउने अपेक्षा गरेका छौं,' महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले भने। 

विमानस्थलको मुख्य प्रवेशद्वार अगाडि ट्राफिक लाइट जडान भएसँगै यो क्षेत्रमा हुने दुर्घटना नियन्त्रणमा आउने कम्पनीका प्रशासन निर्देशक अन्जन बड्गामीले बताए। 

काठमाडौं महानगरपालिका–९ का वडा सदस्य टेकराज अधिकारीले विदेशी पर्यटक बाहिर निस्कने ठाउँमा यस्तो संकेत बत्ती राख्ने सराहनीय कार्य भएको र यसको संरक्षण र निरन्तरताका लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताए। 

बिगतमा यस क्षेत्रमा हुने लामो ट्राफिक जामका कारण हवाई यात्रुहरु समयमै विमानस्थल पुग्न कठिनाई हुने गरेको कारण महानगरीय ट्राफिक महाशाखासँगको सहकार्यमा यो ट्राफिक लाइट जडान गरेको यतीका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।  

ट्राफिक संकेत बत्तीले गर्दा यस क्षेत्रको ट्राफिक व्यवस्थापनमा सहज भर्ई यात्रुहरुलाई समयमै विमानस्थल आवतजावत गर्न सहज हुने भनाइ उनको थियो। 

कम्पनीले यस अघि ट्राफिक प्रहरीको सहजताका लागि गौशालामा ट्राफिक आयल्याण्ड निर्माण, सीसीटीभी जडान, ट्राफिक सूचना बोर्ड निर्माण लगायतका गरिसकेको जनाएको छ। 

कम्पनीले ट्राफिक प्रहरीलाई एक हजार थान फ्लोसेन्ट ज्याकेट समेत वितरण गरिएको बर्तौलाले जानकारी दिए।