
वीरगंज। वीरगंजका होटल व्यवसायीले विभिन्न कर छुटको माग गरेका छन्। कोभिडले व्यापार-व्यवसाय ठप्प भएकाले कर तिन् नसक्ने अवस्था रहेको भन्दै उनीहरुले स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले निषेधाज्ञा अवधि भरिका कर माफ गर्न माग गर्दै वीरगंजका मेयर विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाएका हो।
संघका अध्यक्ष हरि पन्तले आइतबार बुझाएको ज्ञापनपत्रमा सबै होटल तथा पार्टीप्यालेसले उपयोग गरिरहेका घर तथा भवनको बहाल कर र होटल व्यवसायको वार्षिक व्यवसायिक कर तथा सरसफाई शुल्क एक आर्थिक वर्षका लागि छुट दिनुपर्ने माग गरिएको छ।
त्यस्तै वीरगंजका होटल तथा पर्यटन व्यवसायका सञ्चालक तथा होटल तथा पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमणविरुद्धको खोप यथाशक्य चाडो उपलब्ध गराउन पनि माग गरिएको छ। मेयर सरावगीले व्यवसायीहरुको मागलाई सम्बोधन गर्ने आफ्नो प्रयास गर्ने आश्वासन दिए। व्यवसाय कर छुट दिन खासै समस्या नभए पनि सरसफाई कर र घर बहाल करहरुमा भने कानूनी जटिलता रहेकाले यस विषयमा कार्यपालिकामा प्रस्ताव पेश गर्ने तथा नगरसभाबाट समस्या समाधानको खोजी गरिने उनले बताए।
महानगरभित्र व्यवसाय गर्नेहरुलाई अप्ठ्यारो पार्ने मनसाय महानगरको नरहेको बताउदै उनले व्यवसाय संरक्षणका लागि स्थानीय तहको सरकारको हैसियतले गर्न सक्ने सहयोगको प्रयास रहने प्रष्ट पारे।
ज्ञापनपत्र बुझाउन गएको टोलीमा अध्यक्ष पन्तसहित महासचिव माधव बस्नेत, सदस्यहरु शेखर चौधरी, हिरा श्रेष्ठ, सुरेश साह लगायत थिए। वीरगंजमा ७० भन्दा बढी होटलहरु छन्।









