कित्ताकाट खोल्ने तयारीमा सरकार, मन्त्रीले व्यवसायीलाई भनिन्- अबको क्याबिनेटबाट निर्णय हुन्छ

बिजमाण्डू
२०८३ कात्तिक १० गते १३:१८ | Oct 27, 2026
कित्ताकाट खोल्ने तयारीमा सरकार, मन्त्रीले व्यवसायीलाई भनिन्- अबको क्याबिनेटबाट निर्णय हुन्छ


काठमाडौं। सरकारले जग्गाको कित्ताकाट खुलाउने तयारी गरेको छ।

GBIME
Tata

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मंगलबार चितवनका जग्गा व्यवसायीलाई अब बस्ने मन्त्रिपरिषद्‍ बैठकबाट कित्ताकाट खुलाउने निर्णय हुने बताएकी छन्।

‘यसबारे तयारी भइसकेको छ। आउँदो क्याबिनेटबाटै यसको निर्णय हुन्छ,’ मन्त्री रावललाई उद्धृत गर्दै नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीले भने।

व्यवसायीको टोलीले मन्त्री रावललाई भेटेर कित्ताकाट बन्द हुँदा घरजग्गा कारोबार सुस्ताएको बताएका थिए। ‘भरतपुरमा जग्गा वर्गीकरण हुन सकेको छैन। यस्तो अवस्थामा तत्कालका लागि वर्ष दिन म्याद बढाएर कित्ताकाट खुलाउन हामीले माग राखेका छौं,’ अधिकारीले भने।

भेटमा अध्यक्ष अधिकारीले जग्गा कारोबारबाट सरकारलाई उल्लेख्य राजस्व प्राप्त हुने भएकाले यस क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन आवश्यक रहेको बताए। उनले भू-उपयोग लाभकर र राजस्वसम्बन्धी व्यवस्था व्यवसायीलाई सहज हुने गरी पुनरवलोकन गर्न पनि आग्रह गरेको जानकारी दिए।

यसअघि व्यवसायीको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत भेटेर कित्ताकाट खुलाउन माग गरेको थियो।

वर्गीकरण नसकिएका जग्गाको सरकारले कित्ताकाट रोक्दा किनबेच प्रभावित भएको छ। हालसम्म ४२१ स्थानीय तहले मात्र जग्गा वर्गीकरण गरेका छन्।